२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाध्यतालाई चिर्दै निस्कन थालका रहरहरु



अ+ अ-

पोखरा । दशैंतिहार लक्षित प्याराग्लाइडिङ मोहले पोखरा ढपक्कै ढाकेको छ । कोरोना भाइरसले टाट परेको पर्यटन क्षेत्रमा मलहम लगाउन पोखराका व्यवसायीले प्याराग्लाइडिङमा आधै छुट गरे । आधै छुट पाएपछि आन्तरिक पर्यटकले पोखरा भरिएको छ । व्यवसायीका लागि त यो सुखद पक्ष नै हो तर बढी भीडभाड हुँदा विश्वलाई तहसनहस पारेको कोरोनाको जोखिम भने बढेकै छ ।

यति बेला पोखराको आकाशमा प्याराग्लाइड संख्या निकै धेरै देखिन्छ । साहसिक खेलअन्तर्गत रहेको प्याराग्लाइडिङ अन्य समयमा ५ हजारदेखि शुल्क शुरु हुन्थ्यो । तर अहिले त्यसको आधाआधी वा ३ हजारमै गर्न पाउने भएपछि पोखरा र आसपासका क्षेत्रबाट उडान भर्न आउनेको संख्या ह्वात्तै बढेको हो ।

हाल दैनिक ८ सय हाराहारिमा प्याराग्लाइडिङले उडान भरिरहेका छन् । पाइलटलाई भ्याई नभ्याइको स्थिति छ । यो छुट अहिलेसम्मकै बढी हो । तर थोरै रकममा आकाशमा उड्ने लोभले कोरोना जोखिमलाई समेत निमन्त्रणा गरिरहेकै छ । अन्य पर्यटकीय गतिविधि सञ्चालनमा नआएको र प्याराग्लाइडिङमा भारी छुट दिइएको कारण आन्तरिक पर्यटकको चहलपहल बढिरहेको छ ।

यसले गर्दा पोखरामा दिनहुँ कोरोना संक्रमितसमेत बढिरहेकै छ । यसले थप चुनौती थपेको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका महाशाखा प्रमुख हेमन्त पौडेलले बढ्दो संक्रमणका बीच व्यवसाय सञ्चालन गर्नु निकै जोखिमपूर्ण रहेको बताए । उनले भने– ‘यो व्यवसाय एक अर्कासँग छोएर सञ्चालन हुने व्यवसाय हो तर कर तिर्ने हुँदा रोक लगाउन सकिएको छैन । स्वास्थ्यको हिसाबले यो निकै जोखिमपूर्ण छ ।’ उनले कोरोना संक्रमण बढ्ने उद्योगका रुपमा समेत देखिने सम्भावना रहेको बताए ।

यस्तै प्याराग्लाइडिङ उडान भरिने स्थान सराङकोट–२० का वडा अध्यक्ष रणबहादुर थापाले कर तिरेको कारणले केही गर्न नसकेको बताए । उक्त विषयमा पोखरा लेकसाइडको माउन्ट कैलाश रिसोर्टमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी, महानगरका मेयर, नेपाल हवाई खेलकुद संस्था (ना) का प्रतिनिधिसमेत बैठक बसी सुरक्षा अपनाएरै सञ्चालन गर्न दिने सहमति भएको उनले जानकारी दिए । उनले वडाले आफ्नो क्षेत्रबाट उडान भरे पनि रोक्ने अधिकार भने नभएको बताए ।

यस्तै नेपाल खेलकुद हवाई संस्थानका अध्यक्ष कृृष्ण भण्डारीले स्वास्थ्य मापदण्ड अपनाएरै सुरक्षित हुँदै व्यवसाय सञ्चालनमा ल्याएको बताए । जोखिम बढ्ने विषयवस्तु सत्य भए पनि रोगले भन्दा भोकले मर्ने स्थिति सिर्जना भएको कारण आफूहरुले व्यवसाय सञ्चालन गरेको उनको भनाइ थियो ।

‘जोखिम छैन भन्ने होइन, जोखिम छ प्याराग्लाइडिङ गर्नेको भीड बढ्न थालेपछि हामीले समयतालिका बनाएका छौं, सोहीअनुरुप नै सञ्चालन हुनेछ।’ –उनले भने । सरकारले कोरोना नदेखिँदा अनावश्यक बन्द गरेको र अहिले घरघरमा समेत देखिँदा पनि खुला छाडेकाले कोरोना बढ्ने उनको भनाइ छ । कोरोनाले अन्य गतिविधि नहुनु र प्याराग्लाइडिङ चार्ज सस्तो हुँदा भीड भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनको भनाइ छ । प्याराग्लाइडिङ गर्नेहरु गत वर्षहरुमा भन्दा दोब्बर हुँदा तालिका नै मिलाउन गाह्रो भएको प्याराग्लाइडिङ पाइलट गणेश मल्लले बताए ।

‘लकडाउनअघि सिजनमा ३ सय, ४ सय उडिन्थ्यो । अहिले त त्यसको ठ्याक्कै दोब्बर छ।’ –उनले भने । अर्का पाइलट दावा शेर्पाले प्याराग्लाइडिङमा नयाँ प्याकेजले पर्यटकको चाप बढाएको बताए । नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष इन्द्रप्रसाद भण्डारीले गएका वर्षमा दशैं–तिहारको समयमा ४ सय हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले प्याराग्लाइडिङ गर्ने गरे पनि यसपालि दोब्बर बढेको बताए। ‘सुरक्षाका उपायमा त अलिकति कम्प्रमाइज गर्नैपर्छ ।

किनभने, काखमै राखेर उडाउने हो।’ –उनले भने । अघिल्ला वर्षहरुमा ७५ प्रतिशत विदेशी पर्यटक र २५ प्रतिशत मात्र आन्तरिक पर्यटकले प्याराग्लाइडिङ गर्ने गरे पनि यो वर्ष आन्तरिक पर्यटकहरुले मात्रै पोखराको आकाश ढाकिएको उनले बताए । अहिले पोखरामा प्याराग्लाइडिङ गराउने ६० कम्पनी छन् । ३ सय बढीको हाराहारीमा रहेका प्याराग्लाइडिङ पाइलटले उडान भरिरहेका छन् । नेपाल समाचारपत्र दैनिक