७ श्रावण २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या १६ लाख बढि



अ+ अ-

काठमाडौँ । देशभर फोरजी सेवा विस्तार सुरु गरेको करिब पौने दुई वर्षपछि नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या १६ लाख नाघेको छ । टेलिकमले दुई महिनामा आफ्नो फोरजी ग्राहक संख्यालाई करिब दोब्बर बनाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौसम्मको तथ्यांकअनुसार टेलिकमका फोरजी ग्राहक १६ लाख ४ हजार छन् । असारसम्म टेलिकमका यस्ता ग्राहक ८ लाख ४३ हजार मात्रै थिए । हालसम्म नेपालमा फोरजी सेवाका ग्राहक ५५ लाख १६ हजारभन्दा बढी छन् । जसमध्ये सबैभन्दा बढी ग्राहक एनसेलका भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार एनसेलका फोरजी ग्राहक ३७ लाख २९ हजार छन् । स्मार्ट टेलिकमका फोरजी ग्राहक संख्या १ लाख ८२ हजार छ । फोरजी सेवाअन्तर्गत एनसेल अग्रस्थानमा रहे पनि थ्रीजी सेवातर्फ भने नेपाल टेलिकमको बजार सबैभन्दा ठूलो छ । प्राधिकरणको तथ्यांकअनुसार टेलिकमका थ्रीजी ग्राहक ८४ लाख २२ हजारभन्दा बढी छन् । एनसेलका थ्रीजी ग्राहक भने २७ लाख ७९ हजार रहेको प्राधिकरणको तथ्यांक छ । पछिल्ला वर्षमा एनसेलले फोरजी सेवाको विस्तारमा उल्लेख्य सफलता हात पारेको छ ।

देशभर एक वर्षभित्र फोरजी सेवा विस्तार गर्ने भन्दै टेलिकमले २०७५ माघमा काम सुरु गरेको थियो । तर हालसम्म काम सकिएको छैन । टेलिकमले देशभर फोरजी सेवा विस्तारका लागि करिब १९ अर्ब रुपैयाँ खर्च गर्न लागेको हो । यसका लागि सीसीएसआईले रेडियो एक्सेस नेटवर्क र अर्को चिनियाँ कम्पनी जेडटीईले कोर नेटवर्क विस्तारको जिम्मा पाएका छन् । नेपालका कुल इन्टरनेट प्रयोगकर्तामध्ये ७४ प्रतिशतले मोबाइल डेटा प्रयोग गर्ने प्राधिकरणको तथ्यांक छ । इन्टरनेट प्रयोगकर्तामध्ये २५ प्रतिशतले फिक्स लाइनबाट इन्टरनेट सेवा लिने गरेका छन् । एक प्रतिशलते भने वायरलेस इन्टरनेट उपभोग गर्ने गरेको प्राधिकरणको तथ्यांक छ । साउनसम्ममा भने कुल इन्टरनेट प्रयोगकर्तामध्ये ७५ प्रतिशतले मोबाइल इन्टरनेट प्रयोग गर्ने गरेको प्राधिकरणको तथ्यांक छ । पछिल्लो एक महिना एनसेल र नेपाल टेलिकम दुवैले थ्रीजीतर्फका ग्राहक गुमाएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणका अनुसार साउनसम्म नेपाल टेलिकमको थ्रीजी सेवा उपभोग गर्ने ग्राहक ८६ लाख ६६ हजार थिए । भदौमा यो घटेर ८४ लाख २२ हजारमा सीमित भएको छ । यस्तै साउनसम्म एनसेलका थ्रीजी ग्राहक २८ लाख ८४ हजार रहेकामा भदौमा घटेर २७ लाख ७९ हजारमा सीमित भएका छन् । थ्रीजीतर्फका ग्राहक गुमाएको तुलनामा फोरजीतर्फका ग्राहक बढेको भने देखिन्न ।

टेलिकम सेवा प्रदायकहरूले थ्रीजीतर्फका ग्राहक गुमाएर फोरजी सेवाको विस्तार गरिरहँदा फिक्स इन्टरनेटको बजार हिस्सा भने एक महिनामा १ प्रतिशत बढेको छ । साउनसम्म कुल इन्टरनेट प्रयोगकर्तामध्ये २४ प्रतिशतले फिक्स्ड लाइनबाट इन्टरनेट प्रयोग गर्ने गरेकामा भदौमा यसको बजार हिस्सा २५ प्रतिशत पुगेको प्राधिकरणको तथ्यांक छ । देशभर २ करोड २८ लाख जनसंख्यामा इन्टरनेट पहुँच पुगेको प्राधिकरणको तथ्यांक छ । यो कुल जनसंख्याको ७६ प्रतिशत हो । कान्तिपुर दैनिक