काठमाडौँ — आफूले चिनी मिललाई बेचेको उखुको पैसा उठाइदिनुस् भनेर बिन्ती बिसाउन राष्ट्रपतिलाई नै गुहार्नुपर्ला भनेर सर्लाही रामनगर गाउँपालिका–५ का अमरेन्द्र यादवले सायदै सोचेका थिए । अमरेन्द्र तीन वटा चिनी उद्योग रहेको २६ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गर्ने सर्लाहीका ५० हजार किसानमध्येका एक हुन् ।
जसले दुई वर्षअघि बेचेको उखुको करिब ८ लाख रुपैयाँ चिनी मिल उद्योगीबाट पाएका छैनन् तर सोमबार राष्ट्रपति कार्यालयबाट फर्केपछि उनले थोरै भए पनि चैनको सास फेरेका छन् । उनले सुनाए, ‘देशकै सबैभन्दा ठूलो मान्छेलाई भेटेर समस्या बिसाएछौं नि त, अब पनि केही भएन भने आसै हराउँछ ।’
तारन्तारको आन्दोलन, अनशन र विभिन्न राजनीतिक दलका नेतासँगको बिन्तीभाउपछि पनि उखु बेचेको पैसा चिनी मिलवालाहरूले नदिएपछि प्रदेश २ का उखु किसान संघर्ष समितिका किसान फेरि काठमाडौं आइपुगेका छन् ।
गत १७ गते सर्लाहीका ३५ किसान जनही ९ सय रुपैयाँ उठाएर बस रिजर्भ गरी चिसो सुरु हुन आँटिसकेको र कोरोना संक्रमण व्यापक भइरहेको काठमाडौंमा उत्रिए ।
उनीहरूले एक सातासम्म पछ्याएपछि आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर पुरानो सम्झौताको स्मरणपत्र बुझाउन पाए । गत वर्ष पुस १८ गते उखु किसान र चिनी मिल उद्योगीबीच मन्त्रालयमै भएको सम्झौता सम्झाउन मात्रै उनीहरू काठमाडौं आएका थिएनन् ।
चिनी मिलवालाले तिर्ने भनेको रकमको मिति घर्केर नौ महिना बितिसक्दा पनि किसानलाई पैसा दिलाइदिने वाचा गरेको मन्त्रालय चुपचाप बसेको देखेपछि कोरोना संक्रमणको परवाह नगरी उनीहरू काठमाडौं धाएका हुन् ।
आइतबार उनीहरूले उद्योगमन्त्रीलाई बुझाएको स्मरणपत्रको अन्त्यमा लेखेका छन्, ‘निर्धारित अवधिमा रकम भुक्तानी गरियोस्, होइन भने कोरोनाले मर्नु या भोक र ऋणले मर्नुको परिणाम एउटै आउने भएकाले हामी निर्णायक आन्दोलन गर्न बाध्य हुनेछौं ।’ कान्तिपुर दैनिकमा जनकराज सापकाेटाले खबर लेखेका छन् ।










