२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो



अ+ अ-

म्याग्दी । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख प्रमोदराज रेग्मीले केही दिनयता आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटकको आगमन बढेको बताउनुभयो । “सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,” उहाँले भन्नुभयो, “थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ ।”

सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवर्द्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधायुक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रासम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो ।

विसं २०८१ को असोज महिना शुरु भएयता सडक मार्ग भएर २० हजार चार सय ४६ जना पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।

म्याग्दीको सिमानामा रहेको घाँसा स्थित प्रहरी चौकीले मुस्ताङ भित्र्ने पर्यटकको विवरण सहित तथ्याङ राख्दै आएको छ । असोज महिना शुरु भएयता चार हजार ४४ वटा सवारी साधनमा १४ हजार ८५० स्वदेशी र पाँच हजार पाँच सय ९६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

बेनी–जोमसोम सडक प्रयोग गरी गत आव २०८०र८१ मा तीन लाख १८ हजार आठ सय १४ स्वदेशी पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न आएका थिए । आव २०७९र८० मा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख तीन हजार आठ सय थियो ।

एक्याप जोमसोमको तथ्याङ्क अनुसार चालु आवको साउन र भदौमा सात हजार पाँच सय ९९ पर्यटकले मुस्ताङ घुमेका छन् । गत आवको साउन र भदौमा मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या पाँच हजार एक सय ७५ थियो ।

गत आर्थिक वर्षमा एक लाख २१ हजार तीन सय ५२ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । आव २०७९/८० मा ७१ हजार सात सय सात र आव २०७८/७९ मा ३८ हजार आठ सय ९६ पर्यटक मुस्ताङ घुम्न आएका एक्यापले जनाएको छ ।

ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।
लोमान्थाङका होटल व्यवसायी छेवाङ गुरुङले बर्खायाम सकिन थालेसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको बताउनुभयो । “बर्खा सकिन र हिउँद सुरु हुन लागेको यो मौसम हावापानी र वातावरणका हिसाबले पनि मुस्ताङ घुम्न उपयुक्त समय हो”, उहाँले भन्नुभयो, “अन्य समयमाभन्दा असोज–कात्तिकमा यहाँ धेरै पर्यटकहरु आउने गर्छन् ।”

विदेशीको तुलनामा स्वदेशी पर्यटक बढी छन् । चाडपर्वको लामो बिदा शुरु भएसँगै आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट पनि समूह बनाएर भ्रमणमा आएका छन् । कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले १० दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ ।

गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको छ ।