काठमाडौँ । प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नै निवासमा निधन भएको छ । उहाँ सामान्य विरामी हुनुहुन्थ्यो ।
उहाँको अहिले बिहान नारायणीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । विसं १९७१ माघ १ गते बागलुङमा जन्मिनुभएका सापकोटा नेपाली कांग्रेस सेनानी सङ्घका सदस्य रहनुभएको थियो । विसं २०१६ को संसदीय निर्वाचनमा बिपी कोइराला बागलुङ जाँदा उहाँको आग्रहमा पार्टीको निर्वाचन प्रचार अभियानका सदस्य भई काम गर्नुभएका सापकोटा त्यसपछि नेपालमा प्रजातन्त्रको पक्षमा निरन्तर लाग्नुभयो ।
(पूर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइराला र छोरा तिलक सापकोटाको साथमा आफ्नै निवासमा स्वर्गीय भूमिश्वर सापकोटा )
विसं २०१७ पुषमा बिपी पक्राउ परेपछि उहाँको रिहाइको माग गर्दै बागलुङमा प्रदर्शन गरेबापत सापकोटा जेल पर्नुभयो । सापकोटाले बागलुङको दमेक भेगमा शिक्षा, बाटोघाटो निर्माण तथा अन्य विकासका काममा योगदान पुर्याउनुभएको छ । उहाँले विसं २०१३ मा दमेकस्थित आफ्नै गोठबाट शुरु गर्नुभएको विद्यालय हाल जनप्रिय माध्यमिक विद्यालय अमरापुरीका रुपमा स्थापित छ । उहाँले सो क्षेत्रमा विभिन्न विद्यालय तथा वेदविद्याश्रमको स्थापना र सहयोग गर्नुभएको छ ।
उहाँ विसं २०२९ मा गैंडाकोटमा बसाइ सरेपछि आधुनिक गैँडाकोट निर्माणमा योगदान पुरयाउनुभएको थियो । उहाँकै संयोजकत्व विसं २०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि तिनताकाको विकट क्षेत्रमा धान खेती सम्भव भएको थियो । गैँडाकोटमा सुप्रसिद्ध कालिका मन्दिर तथा आश्रम, मौलाकालिका लगायत अन्य मठमन्दिरको स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमा उहाँले योगदान पु¥याउनुभएको थियो । बिपीको सहयात्रीको रुपमा चिनिनुहुने सापकोटा धार्मिक, आध्यात्मिक र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व हुनुहुन्थ्यो ।
पञ्चायतको समयमा कांग्रेस पार्टीका कार्यक्रम गरेको, बिपीलाई गैँडाकोट घरमा आतिथ्यता गराएको तथा विसं २०३६ मा विद्यार्थी आन्दोलनमा सहयोग गरेको आरोपमा उहाँलाई तत्कालिन प्रशासनले पटक पटक दुःख दिएको थियो ।
तर पनि उहाँ नेपालमा प्रजातन्त्र र न्यायको पक्षमा लाग्न छोड्नु भएन । उहाँ विसं २०४२ को सत्याग्रह, २०४६ र २०६२÷२०६३ को जनआन्दोलनमा सक्रिय भई प्रजातन्त्रको स्थापनाका लागि लड्नुभएको थियो ।
उहाँ नेपालको वैदिक परम्परामा विश्वास गर्ने पुरानो पुस्तादेखि वर्तमान युवा बर्गसम्मका प्रेरणाका स्रोत हुनुहुन्थ्यो । आध्यात्मिक चिन्तन र सात्विक व्यवहारका धनी स्वर्गीय सापकोटा नेपाललाई हिन्दू धार्मिक अधिराज्य बनाइनुपर्ने विचार राख्नुहुन्थ्यो ।
उहाँले नेपालको आध्यात्मिक, राजनीतिक र सामाजिक विकासका क्षेत्रमा पुर्याउनुभएको योगदान समेटेर तिलकप्रसाद सापकोटा प्रतिष्ठानले विसं २०७१ मा 'कर्मयोद्धा भूमिश्वर शतवार्षिक अभिनन्दन ग्रन्थ- २०७१' नामक ग्रन्थ पनि प्रकाशन गरेको थियो । जसमा उहाँले आफ्नो १०० वर्षको जीवनकालमा गर्नुभएका समाज सुधारका कार्यहरु समेटिएको छ ।
(प्रजातन्त्र सेनानी स्वर्गीय भूमिश्वर सापकोटाबारे तिलक सापकोटा प्रतिष्ठानद्धारा विसं २०७१ मा प्रकाशित ग्रन्थ )
उहाँका छोरा तिलकप्रसाद सापकोटा नेपाली काँग्रेसका नेता तथा नवलपरासीका महासमिति सदस्य हुनुहुन्छ । तिलकसहित उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
आफ्नो जीवन कालमा नेपाली काँग्रेसमा रहेर नेपालमा प्रजातन्त्रको पक्षमा योगदान दिँदै आउनुभएका नेता तिलक सापकोटाले आफ्नो राजनीतिक जीवनका प्रेरणा नै बुवा भूमिश्वरलाई मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ- 'विसं २०१४/१५ सालतिरै बागलुंगजस्तो देशकै एक विकट जिल्लामा पनि राजनीतिक चेतना विस्तारको काममा मेरा पिताजी कसरी र कसको प्रेरणाले लाग्नुभयो भन्ने कुरा मलाई अचम्म लाग्छ ।'
विपी कोइरालालाई विसं २०१७ सालमा अपदस्थ गरी जेल हालेपछि त्यतिबेलै उहाँहरुले जिल्लामा विरोध गरेको र 'विपीलाई फाँसी दिनुपर्छ भन्यो भने उहाँलाई रिहा गरिदिने' प्रशासनले बताए पनि पिताजीले बरु तिमीहरु मलाई मार तर म विपीलाई फाँसी दिनुपर्छ भन्दिन भन्नुभएको स्मरण गर्दै छोरा तिलक सापकोटा भन्नुहुन्छ- 'तर पनि जेजस्तो योगदान आपूmले पार्टी र प्रजातन्त्रका लागि गरेको भए पनि कहिल्यै नेताको दैलोमा पुगेर आफ्ना लागि पदको माग उहाँले गर्नुभएन, बरु काँग्रेसका नेताहरुलाई देश र जनताको सेवाका लागि बारम्बार झकझकाइरहनुभयो ।'
उहाँकै पहल र प्रयासबाट वर्तमान गैंडाकोट बनेको पनि उहाँले बताउनुभयो । विसं २०३२ सालमा उहाँ आफैँ लागेर र रकम नपुगेपछि आफ्नो जमिन बेचेर पैसा हालेर यहाँ सिँचाइको कुलो ल्याउनुभयो र मात्र यो क्षेत्र खेतीयोग्य भइ बस्न लायक भएको हो । त्यसैले त यो जिल्लाका अरु क्षेत्रको तुलनामा गैंडाकोट अगाडि बढ्न सक्यो र आज यो अवस्थामा पुगेको छ- छोरा तिलक सापकोटा बताउनुहुन्छ ।











