८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

लकडाउनपछि बालविवाह बढ्यो

लकडाउनपछि बालविवाह बढ्यो
अ+ अ-

कैलाली  । कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट लगेको मोबाइल उठाउन छाडिन् ।

छोरी नभेटिएपछि आफन्तले ‘प्रहरीलाई उजुरी गर्छौँ, तिमी कहाँ छौ’ भनी म्यासेज गरे । “म्यासेज गरेपछि छोरीले विवाह गरिसकेको सन्देश पठाइन्”, बालिकाकी आमा दिव्या शर्माले भन्नुभयो, “मैले घर फर्काएर ल्याउँ भनेँ तर श्रीमान् र घरका अन्य सदस्यले मानेनन् । इज्जत फालिसकेकी छोरी ल्याउनु हुन्न भने ।” लामो समय विद्यालय बन्द भएपछि छोरीले विवाह गरेको दिव्याको भनाइ छ । ‘‘१० कक्षामा पढ्थी, लामो समयदेखि विद्यालय बन्द भएपछि घरमै मोबाइल चलाउन दिएँ”, दिव्याले भन्नुभयो, “त्यही मोबाइलमा दिनभरि को–कोसँग गफ गरिछन्, मैले समय दिन पाइनँ, छोरीले कम उमेरमै विवाह गरेर जिन्दगी बर्बाद गरिछ ।” कोरोना महामारीका कारण धेरैजसो विद्यालय गएको चैतदेखि नै बन्द छन् ।

केही विद्यालयले अनलाइन कक्षा शुरु गरे पनि अधिकांश विद्यालयको पढाइ नहुँदा विद्यार्थीले पढ्न पाएका छैनन् । यसबीचमा विद्यालय जाने उमेरका बालबालिकाको विवाह अघिल्लो वर्षको भन्दा दोब्बरले बढेको प्रहरीको तथ्याङ्क छ । कैलालीको टीकापुर नगरपालिकाको बटनपुरस्थित त्रिभुवन माविका शिक्षक आशा कठरिया बालविवाह बढिरहेको बताउनुहुन्छ । “लकडाउनपछि बालविवाह बढेको छ । बालविवाह गरेका धेरै किशोरी गर्भवती भएकाले उनीहरुको पढाइमा बाधा पुग्छ”, कठरिया भन्नुहुन्छ, “हाम्रै विद्यालयमा हरेक वर्ष कम उमेरमै विवाह गरेका कम्तीमा पाँच जनाले विद्यालय छाड्छन् ।” गत चैतबाट विद्यालय बन्द भएपछि कम उमेरमा विवाह गर्ने विद्यार्थी अझ बढेको हुनसक्ने चिन्ता उहाँलाई छ । “हामीले विद्यालयको कक्षामा बालविवाहबारे धेरै छलफल गर्छौँ, बालविवाहका असरबारे सचेत गराइन्छ”, कठरिया भन्नुहुन्छ, “तर पनि बालविवाह रोक्न सकिएको छैन ।”

अभिभावक रामफल चौधरी अभिभावककै कमजोरीका कारण पनि उमेर नपुग्दै विवाह बढिरहेको बताउनुहुन्छ । “बालविवाह गरेका जोडीलाई समाजले स्वीकार गरिरहेको छ । छोराले गरिहाल्यो वा छोरी गइहाली भनेर समाजले स्वीकारेपछि उजुरी पर्दैन”, रामफल भन्नुहुन्छ, “गरिबीका कारण पनि बालविवाह रोक्न सकिएको छैन । छोरी जवान भए जिम्मेवारी उठाउन डराएर विवाह गरिदिने अभिभावक पनि छन् ।” नेपाल प्रहरीका अनुसार पोहोरभन्दा यस वर्ष बालविवाह दोब्बर बढेको छ । पोहोर आर्थिक वर्षको पहिलो तीन महिनामा देशभरि १२ वटा मात्रै बालविवाह भएको थियो भने यस वर्षको पहिलो तीन महिनामा २६ वटा भएको छ ।

सामान्यतः बालविवाहको उजुरी नआउने हुनाले यो सङ्ख्या अझ धेरै हुनसक्ने प्रहरीको भनाइ छ । कैलाली जिल्लामा अघिल्ला दुई वर्ष एक÷एकवटा बालविवाहको उजुरी दर्ता भएकामा यस वर्षको तीन महिनामा दुई घटना दर्ता भएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले यस वर्षको तीन महिनामा बालविवाहसम्बन्धी एउटा मुद्दा चलाइसकेको छ । “एउटा विवाहमण्डपमै गएर रोकेको र तीन बालबालिकालाई सम्झाएर अभिभावकको जिम्मा लगाएका छौँ । यसले पनि बालविवाह दोब्बरले बढेको देखाउँछ”, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने भन्नुहुन्छ, “बालविवाह उजुरी हामीसम्म पुग्दैनन्, हामीले थाहा पाएर गए पनि अभिभावकले उमेर पुगिसक्यो भनेर झुक्याउने चलन अहिले पनि छ ।”

बालविवाहलाई समाजले परम्पराका नाममा स्वीकारिरहेको देखिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । प्रहरीकै कुरालाई आधार मान्ने हो भने पनि उमेर नपुग्दै हुने विवाहलाई समाजले मान्यता दिइरहेको देखिएको बालकल्याण सङ्घका नयनतारा श्रेष्ठ बताउनुहुन्छ । “कम उमेरमा हुने विवाहले हुने असर कम गर्न विवाह नै गर्न र गराउन दिनुहुँदैन”, श्रेष्ठ भन्नुहुन्छ, “यसका लागि सबैभन्दा पहिला अभिभावक र समाज सचेत बन्न आवश्यक छ ।”(रासस)