२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवन बीमा कम्पनीको मुनाफामा वृद्धि, बीमाशुल्क २९.४९ प्रतिशत बढ्यो



अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा २४ दशमलव २८ प्रतिशतले बढेको छ । १९ जीवन बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

कोरोना महामारीकै कारण यस अवधिमा वाणिज्य बैंकलगायत अन्य क्षेत्रका कम्पनीहरूको नाफा घटेको छ । तर, जीवन बीमा कम्पनीहरूको नाफाको वृद्धिदर भने दोहोरो अंकको देखिएको छ । समीक्षा अवधिमा अन्य क्षेत्रको तुलनामा जीवन बीमा व्यवसायमा कोरोनाको असर न्यून देखिएको बीमा कम्पनीहरू बताउँछन् ।

गत आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले रू १ अर्ब १ करोड ६० लाख खुद नाफा कमाएका थिए । तर, चालू आवमा त्योभन्दा २४ करोड ६७ लाख बढी अर्थात् रू १ अर्ब २६ करोड २७ लाख खुद नाफा कमाएका छन् । कम्पनीहरूको बीमांकीय मूल्यांकन भएपछि नाफा थप बढ्ने छ । बीमांकीले बीमांकीय मूल्यांकन गर्दा जीवन बीमा कोषबाट केही रकम नाफानोक्सान खातामा पठाउन सक्ने व्यवस्था छ । त्यसैले बीमांकीय मूल्यांकनपछि नाफा थप बढ्ने कम्पनीहरूको भनाइ छ ।

जीवन बीमक संघ नेपालका अध्यक्ष तथा मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मलकाजी श्रेष्ठले कोरोनाबाट जीवन बीमा व्यवसाय त्यति ठूलो मात्रामा प्रभावित नभएको बताए । ‘यो विषम परिस्थितिमा पनि ग्राहकहरूले बीमा पोलिसीलाई निरन्तरता दिनुभएको छ । नयाँ व्यवसाय पनि थपिएको छ,’ उनले भने, ‘फलस्वरूप बीमा व्यवसाय बढ्न पुगेको हो ।’

कोरोनाको महामारी नभएको जीवन बीमा व्यवसाय अझै ठूलो मात्रामा बढ्ने उनी बताउँछन् । ‘अहिले सामान्य अवस्था भएको भए व्यवसायको वृद्धिदर उच्च हुने थियो । तर, त्यो भएन,’ उनले भने, ‘यद्यपि, यो अप्ठ्यारो परिस्थितिमा भएको व्यवसायलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

पहिलो त्रैमासमा नाफा कमाउने मामलामा नेपाल लाइफ, प्राइम लाइफ, नेशनल लाइफ र सूर्या लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएका छन् । तथ्यांकअनुसार यी चार कम्पनीको नाफा १० करोड रुपैयाँभन्दा बढी छ । यस अवधिमा नेपाल लाइफले रू २२ करोड ९० लाख खुद नाफा कमाएको छ ।

यस्तै, प्राइम लाइफले १२ करोड ७ लाख, नेशनल लाइफले रू। ११ करोड ८३ लाख र सूर्या लाइफले १० करोड १६ लाख खुद नाफा कमाएको छ । पाँचौं नम्बरमा रहेको एशियन लाइफले भने ९ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बीमा कम्पनीको नाफा औसतमा करीब २५ प्रतिशतले बढ्दा पनि ३ कम्पनीको नाफा भने घटेको छ । सन नेपाल, युनियन लाइफ र राष्ट्रिय बीमा संस्थानको नाफा घटेको हो । तथ्यांकअनुसार सन नेपालको २७ दशमलव २३ प्रतिशत, युनियन लाइफको ५६ दशमलव ५३ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको ४१ दशमलव २३ प्रतिशतले नाफा घटेको छ ।

गत आवको समीक्षा अवधिमा रू। ३ करोड ५० लाख नाफा कमाएको सन नेपालले अहिले २ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, गत आवमा रू। ५ करोड ५५ लाख नाफा कमाएको युनियन लाइफले अहिले रू। २ करोड ४१ लाख र गत आव रू। १ करोड ७४ लाख नाफा कमाएको राष्ट्रिय बीमा संस्थानले अहिले १ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन पनि २९ दशमलव ४९ प्रतिशतले बढेको छ । कम्पनीहरूको वित्तीय विवरणहरूअनुसार समीक्षा अवधिमा रू। ३२ अर्ब २५ करोड कुल बीमाशुल्क संकलन भएको छ । यो गत आवको सोही अवधिको भन्दा ७ अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आवको पहिलो त्रैमास २४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन भएको थियो । बीमाशुल्क संकलन गर्ने मामला पनि नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ ।

उक्त कम्पनीले समीक्षा अवधिमा ९ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, एलआईसी नेपालले रू ५ अर्ब ५ करोड र राष्ट्रिय बीमा संस्थानले रू ४ अर्ब २१ करोड बीमाशुल्क संकलन गरेका छन् । नेशनल लाइफले रू २ अर्ब ८४ करोड २५ लाख कुल बीमाशुल्क संकलन गरेको छ । पछिल्लो ३ वर्षमा सञ्चालनमा आएका १० नयाँ बीमा कम्पनीमध्ये युनियन लाइफ अगाडि देखिएको छ । बीमाशुल्क संकलन गर्ने मामलामा उक्त कम्पनीले नयाँसहित केही पुराना कम्पनीलाई पनि पछि पार्दै आफूलाई पाँचौं स्थानमा ल्याएको छ । समीक्षा अवधिमा कम्पनीले रू १ अर्ब ५४ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।, समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।