११ पुष २०८१, बिहीबार
,
Latest
भारत-अष्ट्रेलिया चौथो टेस्टः अस्ट्रेलियाका शीर्ष ४ ब्याटरको अर्धशतक पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न पर्यटनमन्त्री बस्यालको आह्वान विदेशी मुलुकसँगको संसदीय सम्बन्ध बलियो बनाउन ४४ देशका लागि संसदीय मैत्री समूह गठन विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित निश्चित योग्यता पुगेका व्यक्तिले मात्रै हिमाल चढ्न पाउने व्यवस्था गर्छौंः मन्त्री पाण्डे म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु रवि लामिछानेको बयान सुरु ग्लोबल वार्मिङका लागि कुनै त्यस्तो योगदान गरेका छैनौँ तर त्यसको मार खेप्न बाध्य भएका छौँ…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि



अ+ अ-

गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो ।

महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेङ्गी रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताउनुभयो । “पछिल्लो एक महिनामा डेङ्गी सङ्क्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा सङ्क्रमण देखिन सक्छ”, उहाँले भन्नुभयो, “प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेङ्गी रोकथाम चुनौतीपूर्ण छ ।”

गतवर्ष पोखरा महानगरपालिकाका ती हजार तीन सय ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो । कात्तिक महिनासम्म सङ्क्रमणको जोखिम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताउनुभयो । उहाँका अनुसार डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेङ्गीका कारण मृत्यु भएको उहाँले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–नं ५, ८ लगायतका वडा डेङ्गीबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

जनघनत्व बढी भएका ठाउँमा डेङ्गी छिटो फैलिने हुँदा महानगरको मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र बनेको हो । सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग लाग्नबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख रामबहादुर नेपालीले सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेङ्गी रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै उक्त रोगबाट बच्ने उत्तम उपाय भएको बताउनुभयो ।

प्रमुख नेपालीले असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने बताउनुभयो । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रुप लिनसक्ने प्रमुख नेपालीले बताउनुभयो । “डेङ्गीलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उहाँले भन्नुभयो, “डेङ्गी भइसकेपछि धेरै पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।”

डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको उहाँले बताउनुभयो । उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उहाँको भनाइ छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको उहाँले बताउनुभयो ।

डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् ।

डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने उनीहरुको सुझाव छ । वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने प्रमुख नेपालीले बताउनुभयो । डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँको भनाइ छ ।

डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने प्रमुख नेपालीले बताउनुभयो । कास्कीमा हालसम्म चार हजार पाँच सय ५२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा पोखरा महानगरपालिकाबाहेक अन्नपूर्ण, रुपा र मादी गाउँपालिकामा नौ/नौजना र माछापुच्छ्रे गाउँपापलिकामा ३८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।