१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै…

आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै…
अ अ+ अ-

काठमाडौँ । जम्मा ३२ वर्षको आयु पाएका आदिगुरु शङ्कराचार्यले करिब एक हजार दुई सय ३५ वर्षअघि भारतका चारै कुना पैदल भ्रमण गरी चार शङ्कराचार्य मठ स्थापना गरेका थिए । भारतकै गुरु नानक देवले भने करिब पाँच सय २४ वर्षअघि २१ वर्ष लगाएर नेपाललगायत धेरै तीर्थस्थल भ्रमण गरेर विश्वमा प्रसिद्धि कमाएका थिए । नेपाल र भारतका तिन तीर्थयात्रीले भने हालै एक वर्षमा मौसम आदि अनुकूल समय पारेर दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र चीन। तिब्बतका गरी करिब ४५० धार्मिक तीर्थस्थल भ्रमण सम्पन्न गरेका छन् ।

शिवशक्ति समागम टोलीमार्फत संयोजक नेपालका प्रदीप खनाल तथा सदस्य भारतका विनिता लेप्चा र मङ्गेश भागवत यति ठुलो सङ्ख्यामा हिन्दू, बौद्ध, शिख र जैन धर्मका विभिन्न मन्दिर, शक्तिपीठ, कुण्ड, चैत्य, गुम्बा, गुरुद्वारा, आदि भ्रमण गरी विश्वकीर्तिमान नै राख्न सक्ने स्थितिमा पुगेका छन् । सिरडी, महाराष्ट्र, भारतकी समाजसेवी लेप्चा र इन्दौर, मध्यप्रदेश, भारतका भागवतले पाकिस्तान र तिब्बतसम्म मात्र साथ दिएको तर इलाम, जितपुरमा जन्मी हाल कामपा–१४, कलङ्की बस्ने खनालले भने पूरै तीर्थस्थल दर्शन गरी आफ्नो भ्रमणबारे नेपाल र भारतका पूर्वराष्ट्रपति–उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, धार्मिक गुरु आदिलाई जानकारी गराउँदै तीर्थस्थल र कुण्डहरूका जलप्रसाद वितरण गरिरहनुभएको छ । भ्रमणका क्रममा खनाल र साथीहरूले २३ नदी, कुण्ड, तालतलाउ, सरोवर आदिमा स्नान र डुबुल्की मार्नुभएको थियो । धेरै तीर्थ र नदीहरूको उद्गमस्थल पनि उहाँहरू पुग्न सक्नुभयो ।

रमाइलो कुरा, हिन्दू र बौद्ध धर्मदर्शनको अध्ययनअध्यापन, अनुसन्धानका लागि प्रख्यात प्राचीन नालन्दा विश्वविद्यालय, बिहार, भारत र तक्षशिला विश्वविद्यालय, टक्सिला, खैबरपक्तुन, पाकिस्तान पनि पुगी टोलीले सामान्य पुरातात्त्विक र इतिहासबारे पनि जानकारी लियो । पूर्वीय दर्शनका धरोहर ती स्थलमा पुगी वस्तुस्थितिबारे अवगत हुन पाउनु पनि सौभाग्य रहेको खनाल ठान्नुहुन्छ । अन्तरराष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष खनालले नेपालका राष्ट्रिय देवता पशुपतिनाथबाट तीर्थाटन सुरु गर्नुभएको थियो । विसं २०८० असार ७ गते सर्वप्रथम पशुपतिनाथको पूजा गरी त्यहाँका मूलभट्ट रावल गणेश र संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाबाट आशीर्वाद लिएर खनालले त्यसपछि सहयात्रीहरूका साथ भारत, पश्चिम बङ्गालका ( शक्तिपीठ हुँदै अन्त्यमा मणिकरण शिवमन्दिर, कुल्लु, हिमाचल प्रदेश, भारतसम्म पुगेर गत महिना दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र चीनको तिब्बत गरी ६ राष्ट्रको तीर्थयात्रा समापन गर्नुभएको थियो ।

कतिपय तीर्थस्थलबारे आफ्नो अध्ययन र सुनेका भरमा तथा कतिपय स्थानका बारे विभिन्न तीर्थयात्राका क्रममा भेट भएका गुरु, व्यवस्थापक आदिले पनि जानकारी दिए । टोलीले भ्रमण गरेका तीर्थस्थलमा चार आदिशक्तिपीठ (कामाख्या, गुहावटी, कालीघाट, कोलकाता, विमलादेवी, पुरी, र तारातारिणी, उडिसा), चारधाम (बद्रीनाथ, द्वारकाधीश, जगन्नाथपुरी र रामेश्वरम्, भारत), सप्तपुरी (हरिद्वार, अयोध्या, काशी, मथुरा, द्वारका, अवन्ती र काञ्ची), बाह्र ज्योतिर्लिङ्ग (सोमनाथ, मल्लिकार्जुन, महाकालेश्वर, ॐ कारेश्वर–ममलेश्वर आदि) छन् ।

त्यस्तै अठार महाशक्तिपीठ (शारदा पीठ, कास्मिर, ज्वालादेवी, हिमाचल प्रदेश, शङ्करीदेवी, श्रीलङ्का, कामाक्षी काञ्चीपुरम्, चामुण्डेश्वरी, मैसुर, , पुरुहितिका, पीठापुरम्, जोगलम्बा, तेलङ्गाना, अलोपीदेवी (माधवेश्वरी) प्रयागराज, विशालाक्षी, वाराणसी, महालक्ष्मी, कोल्हापुर र एकविरिका, माहुरगढ आदि०, ५२ शक्तिपीठ –कसैले ५१ वा १०८ पनि भन्छन्– (गुह्येश्वरी, गलेश्वर, मुक्तेश्वर, बागेश्वरीे, दन्तकाली, बालात्रिपुरासुन्दरी आदि), १०८ सिद्धपीठ (भद्रकाली, दक्षिणकाली, पलाञ्चोक भगवती, गढीमाई, छिन्नमस्ता, पाथीभरा, त्रिपुरासुन्दरी, उग्रतारा, मौलाकालिका ) आदि छन् ।

त्यस्तै पशुपतिनाथ र गुह्येश्वरी, हनुमानढोका, काष्ठमण्डप क्षेत्र, बुढानिलकण्ठ, स्वयम्भूनाथ, बौद्धनाथ, दक्षिणकाली, चार नारायण, चार बाराही, नौ गणेश, कृष्ण मन्दिर, महालक्ष्मी स्थान, बगलामुखी, नालाउग्रचण्डी, चण्डेश्वरी (टोखा र काभ्रेपलाञ्चोक), महाकाँल, कालभैरव, सङ्कटा, बगलामुखी, सर्वेश्वर (ललितपुर), मैतीदेवी, भद्रकाली, भुवनेश्वरी, तारकेश्वर, बाघभैरव, मत्स्यनारायण, डोलेश्वर, कलङ्कीमाई, दत्तात्रय, न्यातपोल पनि यात्रा गरियो ।

यसैगरी मनकामना, पाथीभरा, अर्जुनधारा, संसारीमाता, छिन्नमस्ता, कङ्कालिनी भगवती, जानकी मन्दिर, हलेसी, बागलुङ कालिका, देवघाट, मौलाकालिका, अकलादेवी, रिडी, भैरवस्थान, रणविजयेश्वरी (तानसेन भगवती), सिद्धबाबा, बागेश्वरी, जुँगे महादेव, बराह क्षेत्र, चतराधाम, पिण्डेश्वर, बुढासुब्बा ९सिद्धबाबा० दर्शन गरियो ।

गङ्गामाला (देउती बज्यै), सिद्धनाथ, कल्पटे कालभैरव, त्रिपुरासुन्दरी, जगन्नाथ, निगलासैनी भगवती, उग्रतारा, घटालबाबा र शैलेश्वरी भगवती पनि तीर्थयात्रामा समेटिएको तस्बिर र श्रव्यदृश्य गरी करिब एक लाख अर्थात् एक ‘टेराबाइट मेमोरी फुल’ भएको प्रमाण देखाउँदै खनालले भन्नुभयो । बुद्ध इन्टरनेसनल ट्रस्ट, लन्डनका संस्थापक (दुईमध्ये एक) खनाल र टोलीले भ्रमण गरेका १३ बौद्ध तीर्थस्थलमा बौद्धनाथ, स्वयम्भूनाथ, लुम्बिनी (नेपाल), बोधगया, सारनाथ, कुशीनगर (भारत), टुथ टेम्पल, श्रीलङ्का, नेपाली गुम्बा (केरुङ, चीन) आदि तथा शिख धर्मका ११ पवित्र तीर्थस्थल नानकना साहिब, कर्तारपुर साहिब, पन्जा साहेब र माल्जी साहिब आदि (पाकिस्तान), स्वर्ण मन्दिर, अनन्तपुर साहिब, पटना साहिब भारत आदि पनि भ्रमण गर्‍यो । “यस एक वर्षको धार्मिक यात्रामा हामीलाई कुनै दिन पनि भोको बस्नुपरेन, स्वास्थ्यमा कसैको समस्या आएन र बासको पनि समस्या परेन”, खनालले ईश्वरीय आशीर्वाद सम्झँदै भन्नुभयो ।

नेपालका ८०, पाकिस्तानका १६, बङ्गलादेशका १२, श्रीलङ्काका आठ, चीनका पाँच र भारतका ३२९ धार्मिकस्थल तीर्थाटनका क्रममा सम्बन्धित मन्दिर, पीठ, धाम, गुरुद्वारा, गुम्बा र चैत्यका मूलगुरु, पुजारी, व्यवस्थापक, कार्यकारी प्रमुख आदिलाई पनि टोलीले भेटी तत्तत धार्मिकस्थलहरूको संरक्षण, प्रवद्र्धन र आपसी सम्बन्ध विस्तारका लागि छलफल गर्नाका साथै बनारसमा आयोजना हुने कार्यक्रमका लागि अनौपचारिक निमन्त्रणा पनि गरियो । उहाँका अनुसार भ्रमण तालिका जस्ता व्यवस्थापकीय तथा अन्य प्राविधिक सहयोग पुर्‍याएर भ्रमण सफल पार्नेमा अन्तरराष्ट्रिय मैत्री समाज नेपालका सचिव सिर्जना तिम्सिना र राष्ट्रिय संस्कारधाम नेपालका प्रवक्ता विजयकुमार पन्त छन् ।

“दक्षिण एसिया र चीन–तिब्बतका सबै मन्दिर तीर्थस्थल, धाम, कुण्डलाई धार्मिक–आध्यात्मिक–भावनात्मक रूपले जोड्ने तथा नेपालका धार्मिकस्थललाई अन्तरराष्ट्रियस्तरमा चिनाउने हाम्रो भ्रमणको मुख्य उद्देश्य हो ”, उहाँले भन्नुभयो । उहाँका अनुसार धार्मिक पर्यटन प्रवद्र्धन गर्ने पनि भ्रमण–दर्शनको लक्ष्यमध्येको एक हो । दर्शन गरिएका ८० प्रतिशत तीर्थस्थललाई त धार्मिक पर्यटन गन्तव्यका रूपमा नै विकास एवं प्रवद्र्धन गर्न सकिन्छ ।

स्वदेश फिर्तापछि उहाँले हालसम्म उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र डा प्रकाशशरण महत, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेकपा (एमाले)का नेता गोकुलप्रसाद बाँस्कोटा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पशुपतिका मूलभट्ट रावल, संहिताशास्त्री बाँस्तोला, गोवद्र्धन पीठ, मथुरा, उत्तर प्रदेश, भारतका जगत्गुरु शङ्कराचार्य स्वामी अध्योक्षाजानन्ददेव तीर्थसँग भेटघाट गरी कैलाश–मानसरोवरलगायत विभिन्न कुण्ड र तीर्थका जलप्रसाद वितरण गरिरहनुभएको छ । मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीले भने टोलीलाई अमेरिकाबाट नै शुभकामना र बधाई दिनुभएको छ ।

डा एपिजे अब्दुल कलाम, कोलकाताका सल्लाहकारलगायत दर्जनौँ धार्मिक, सामाजिक, आध्यात्मिक, सांस्कृतिक संस्थामा संलग्न खनालले आफ्नो भ्रमणको प्रेरणा जगत्गुरु आदि शङ्कराचार्य र गुरु नानकदेव नै भएको स्पष्ट गर्नुभयो । उहाँहरूको पदचाप र पदचिह्न पछ्याउँदै तथा आशीर्वाद लिँदै आफूले एक वर्षका अवधिमा साढे चार सय तीर्थाटन गर्न भ्याएको उहाँको भनाइ छ ।

आधा दर्जन भाषाका जानकार खनाल र साथीहरूलाई धेरै मन्दिर–तीर्थस्थलमा लाम बस्नै परेन, पुजारी, गुरु, सहयोगीहरू आफैँले दर्शनको व्यवस्था मिलाइदिन्थे । पाकिस्तान, बलुचिस्तानस्थित हिङ्गलाज शक्तिपीठमा भने विदेशीलाई प्रवेश निषेधको नियम भए पनि विशेष व्यवस्था गरेर आफूलाई दर्शन गराइएको खनालले जानकारी दिनुभयो ।

त्यस्तै भुसावल, गगनगिरिका शिष्य जगत्गुरु कल्कि भगवान्ले भन्नुभएको छ, “आदि शङ्कराचार्य र गुरु नानकभन्दा कम समयमा यतिका तीर्थको यात्रा गर्नु असाधारण र अविष्मरणीय छ । भर्खरै ५० वर्षको उमेरमा रहनुभएका प्रदीपको आध्यात्मिक जीवनका लागि मेरो आशीर्वाद छ । इतिहासमा यो घटना अवश्य लेखिन्छ ।”

आफ्नो निवास भक्तपुर, लोकन्थली आइपुग्नुभएका आफ्नो पुरानो चिनजान र सङ्गत भएका भ्रमण टोलीका संयोजक खनालसँग जलप्रसाद ग्रहण गर्दै पूर्वप्रधानमन्त्री चन्दले यस पटक दक्षिण एसियाका साढे चार सय धार्मिकस्थलमा भ्रमण, दर्शन, पूजाआजा गरी प्रसाद लिएर आएकामा स्वागत गर्नुभयो । “यस भ्रमणले इतिहासमा एक किसिमले विश्वकै अभिलेख कायम गरेको छ । आदि जगत्गुरु शङ्कराचार्य र गुरु नानकदेवपछि खनालले एक वर्षमा धेरै तीर्थयात्रा गरेकामा म उहाँलाई शुभकामना दिन्छु ।”

गुहावटीका श्रीजगत्गुरु कामाख्यापुत्र हिमालय गिरि, पुना, महाराष्ट्रका स्वामी शिवकान्त, पुना, महाराष्ट्रका स्वामी शिवकान्त, केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँ दिल्ली, भारतका प्रा डा रामबहादुर दुबे, भारत, हरिणायाका जगत्गुरु स्वामी ऋषिपाल आनन्दलगायतले आठौँ शताब्दीका आदि शङ्कराचार्य तथा सोह्रौँ शताब्दीका गुरुनानकले जस्तै भ्रमण गरेका हिन्दूधर्मावलम्बी खनालको यति ठुलो उपलब्धि परमात्माको विशेष अनुकम्पाविना असम्भव रहेको जनाउँदै उहाँलाई हिन्दू समाजका पथप्रदर्शक बन्न प्रेरणा मिलोस् भन्ने प्रतिक्रिया दिनुभएको छ ।

त्रिविबाट नेपाली विषयमा स्नातकोत्तर खनाल ज्योतिर्लिङ्ग शिव एवं शक्तिपीठको दर्शन र अनुष्ठान भएकाले आफ्नो टोलीको नाम शिवशक्ति समागम राखिएको रं २०८१ फागुनतिर उत्तरप्रदेश, काशी। वाराणसी, भारतमा ‘शिवशक्ति समागम अनुष्ठान’ पनि आयोजना गरिने जानकारी दिनुहुन्छ । सो कार्यक्रममा विश्वका सनातनी धर्मावलम्बी राज्य एवं सरकार प्रमुख तथा चार शङ्कराचार्य र प्रसिद्ध गुरुहरू, धार्मिक–आध्यात्मिक अध्ययनकर्ता–अनुसन्धाता, चार धाम र चार आदिशक्तिपीठ एवं १२ ज्योतिर्लि¬ङ्ग र ५२ शक्तिपीठ तथा अन्य प्रमुख मन्दिरका प्रमुख गुरुहरूलाई आमन्त्रण गरिने जनाइएको छ ।

अन्तरराष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धन गराउन विशेष कार्ययोजना तयार गरिने र यहाँको धार्मिक पर्यटनमा जोड दिइने पनि कार्यक्रमको लक्ष्य छ । “विश्वमा अमचयन तथा मानवजग्तमा शान्ति ल्याउनु पनि हाम्रो यात्रा र अनुष्ठानको उद्देश्य हो ”, युनिभर्सल तामिल विश्वविद्यालय, मधुराईबाट मानार्थ विद्यावारिधि खनालले अझ स्पष्ट गर्नुभयो । “तीर्थयात्रा गरेर मैले कुनै आधिकारिक अभिलेख वा कीर्तिमान राख्न मात्र खोजेको होइन । मलाई भ्रमणको चार महिनाअघिदेखि यो काम गर्न मन लाग्यो र म गर्न सक्छु भन्ने आत्मविश्वास पनि जाग्यो”, उहाँले भन्नुभयो । रासस