१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

धार्मिक पर्यटकीय स्थल ऋखार ओझेलमा

धार्मिक पर्यटकीय स्थल ऋखार ओझेलमा
अ अ+ अ-

म्याग्दी । अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक देखिन्छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा अवस्थित ऋखार ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यस क्षेत्रको प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित ऋखार धौलागिरि हिमालको काखमा चार हजार १० मिटर उचाइमा अवस्थित छ । प्राकृतिक सुन्दरताको छटाले भरिएको ऋखारकोे लेकाली भू–भागमा यार्सागुम्बा, केतुकी, बहमबेद, पाँचऔँले, सिलाजित, सतुवा, निरमसी जटामसी, चिराइतोलगायत बहुमूल्य जडिबुटी पाइन्छ ।

तलाउमाथि रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर ऋखारको मुख्य आकर्षक रहेको छ । भक्तजन र स्थानीयको पहलमा ऋखार क्षेत्रमा अन्य मन्दिरसमेत निर्माण भएका छन् ।

म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वर, गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला, घ्याँसीखर्क, दुवाडी, पात्लेखर्क हुँदै दुई दिनको यात्रामा ऋखार पुग्न सकिन्छ ।

मुस्कुराइरहेको आँखैमा ठोक्किने हिमाल र हरियालीले सजिएका अग्ला पहाडको सुन्दरताभित्र लुकेको ऋखार ऋषिले तपस्या गरेको प्रसिद्ध तपोभूमिका रुपमा रहेको ऋखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले बताउनुभयो । उहाँका अनुसार उच्च हिमाली क्षेत्रमा अवस्थित रहेकाले वैशाखदेखि असोजसम्म पूजाआजा हुन्छ ।

ऋखार मन्दिरमा ऋषितर्पणी अर्थात् जनैपूर्णिमाको दिन बिशेष पूजा हुने गरेको छन्त्यालले जानकारी दिनुभयो । केही वर्षअघिसम्म कुइनेमङ्गले आसपासका बासिन्दाको कम चहलपहल हुने ऋखारमा पछिल्लो समय प्रचारप्रसारको कारण जिल्ला बाहिरबाट ठूलो सङ्ख्यामा पर्यटक र भक्तजन आउन थालेको उहाँको भनाइ छ ।

यस मन्दिरमा पूजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण भक्तजन बढ्दै गएका छन्त्यालले बताउनुभयो । यहाँ म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, नवलपरासी, काठमाडौँलगायत क्षेत्रबाट भक्तजन पुग्ने गर्छन् । दुर्गम र भौगोलिक रुपमा कठिन क्षेत्र पार गरी ऋखारमा पुगेका भक्तजन र पर्यटकलाई यस क्षेत्रबाट देखिने मनोरम दृष्यले लोभ्याउने गर्दछ ।

पहिलो पटक यहाँ पुग्नुभएका बेनीका दामोदर शर्माले धार्मिक महिमा र प्राकृतिक सुन्दरताले भरिएको ऋखारमा प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न सकेमा उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताउनुभयो । उहाँले यहाँबाट देखिने दृष्यले आफू लोभिएको बताउनुभयो ।

मन्दिर परिसरमा रहेको दमाह आकारको तामाको भाँडोमा कहिल्यै पानी नसुक्ने नौलो विशेषता रहेको ऋखार संरक्षण समितिका अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षौँदेखि मन्दिर परिसरमा रहेको उक्त भाँडोमा कतैबाट पनि पानी नराखे पनि भाँडोमा सधैँ भरिभराउ हुने गर्दछ ।

पूजाआजा र दर्शनका लागि पुगेका भक्तजनले सोहि भाँडोको पानीलाई पवित्रजलका रुपमा लैजाने गरे पनि भाँडो कहिल्यै नरित्तिने छन्त्यालले उल्लेख गर्नुभयो । “पौराणीक कथाअनुसार संसारको प्रलय भई जलमग्न हुँदा सत्यव्रत राजाले डुङ्गामाथि चढेर सप्तऋषि, महत्वपूर्ण जडिबुटी र आफ्नो सुरक्षा गरेको र कालन्तरमा उनीहरु यही क्षेत्रमा आएर विश्राम गरेको जनविश्वास रहेको छ । यहाँ रहेको उक्त ढुङ्गालाई प्रयलकालको अवशेषका रुपमा लिने गरिन्छ भने सप्तऋषिको तपस्थली, हिउँले खारिएको ठाउँ र हजाराँै फूलहरुले सजिएको रमणीय ठाउँ भएकाले यस क्षेत्रको नाम ऋखार रहनगएको किंवदन्ती छ”, उहाँले भन्नुभयो ।

ऋखार धार्मिक महत्वका साथै प्राकृतिक सुन्दरताको दृष्टिकोणले पनि पर्यटकीय गन्तव्यको सम्भावनायुक्त ठाउँ रहेको सप्तऋषि युवा क्लबका संरक्षक अङ्कित पुनले बताउनुभयो ।

मनोरम हिमाल, जङ्गली फूलले रङ्गिएका खर्क, हरियाली डाँडा, छलछल बग्ने झरना, खोलानाला, परम्परागत भेडाबाख्रा र गाईभैँसीको गोठले यस क्षेत्रको पदयात्रामा जाने जो कसैको मन लोभ्याउने उहाँको भनाइ छ ।

धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयले ऋखार संरक्षण समिति गठन गरेर यसको विकास र प्रवर्द्धनको काम गर्दै आएका छन् । स्थानीयको अगुवाई, भक्तजन र समुदायको सहयोग तथा सरोकार भएकाको पहलमा दुवाडी, पात्लेखर्क, बगरखोलामा तिर्थयात्री भवन, ऋखार जाने बाटोमा पुल, पदमार्गलगायत संरचना निर्माणले गरिएको संरक्षक पुनले बताउनुभयो ।

स्थानीय सरकार कार्यान्वयनमा आएसँगै रघुगङ्गा गाउँपालिका र वडा नं ८ को कार्यालयले ऋखारलाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रचारप्रसार र पूर्वाधार विकासलाई जोड दिएको छ ।

सरकारी निकाय र संरक्षण समिति, स्थानीय आमा समूह, युवा क्लबको समेत सक्रियता बढेको संरक्षक पुनले बताउनुभयो । उहाँका अनुसार यहाँका सम्भावना र समस्या पहिचान गरी दीर्घकालीन र तत्कालीन पूर्वाधार निर्माणका लागि गुरुयोजना बनाउने कार्यलाई वडा कार्यालयले अघि सारेको छ ।

अप्ठ्यारा ठाउँमा पदमार्ग, खोलामा झोलुङ्गे पुल, प्रयाप्त आश्रयस्थललगायत पर्यटन पूर्वाधार निर्माणसँगै ऋखार हुँदै धवलागिरि हिमालको चेमाली आधार शिविरलाई व्यवस्थित पदमार्गले जोड्न सके यहाँ धार्मिक पर्यटकको आगमन बढाउन सकिने क्लबका संरक्षक पुनको भनाइ छ ।

अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्यता रहेको रघुगङ्गा–८ कुइनमङ्गलेको विकासमा ऋखार क्षेत्रको धार्मिक, पर्यटकीय पूर्वाधार विकासले महत्वपूर्ण सहयोग पु¥याउने ऋखार संरक्षण समितिका अध्यक्ष छन्त्यालले बताउनुभयो । छन्त्याल समुदायको कला संस्कृति पर्यटकका लागि थप आकर्षक बन्न सक्ने भन्दै उहाँले यस क्षेत्रको विकासले समग्र रघुगङ्गा गाउँपालिकाको आर्थिक विकास र समृद्धिमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस