• ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
  •   Unicode
Logo

गगनको प्रस्ताव पारित भएपछि दबाबमा कांग्रेस



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगनकुमार थापाको आगामी निर्वाचनमा एक्लै लड्ने प्रस्ताव पारित भएपछि पार्टीभित्र दबाब बढेको छ ।
महामन्त्री थापाले गतवर्षको फागुनमा ललितपुरको गोदाबरीमा भएको महासमिति बैठकमा यही प्रस्ताव लगेका थिए । जसलाई केन्द्रीय समितिको आइतबार बसेको बैठकले पारित गरेको हो ।

कांग्रेसले केन्द्रीय समिति बैठकबाटै यो प्रस्ताव पारित गरेपछि अब कार्यान्वयन गर्नुपर्ने छ । यसको अर्थ अब कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने छैन । अर्थात् कांग्रेसका कार्यकर्ताले आफ्नै पार्टीको चुनाव चिह्नमा भोट हाल्ने छन् ।

यो निर्णय कार्यान्वयन गर्न त्यति सहज भने छैन । अहिले कुनै प्नि दलले जनतामा गएर स्पष्ट बहुमत प्राप्त गर्ने आधार छैन । त्यसमाथि अघिल्लो दुई वटा संसदीय चुनावमा दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिएको उदाहण छ । दुई वटा दलबीच गठबन्धन भएमा अर्को तर स्वत: पछि पर्ने अवस्था छ । यस्तो अवस्थामा कांग्रेसले गठबन्धन नगरी चुनावमा गएमा उसलाई नराम्रो धक्का लाग्न सक्छ ।

सबै दलले गठबन्धन नगर्ने छुट्टाछुट्टै निर्वाचन लड्ने हो भने त यो निर्णय कांग्रेसका लागि फाइदा नै हुने छ । तर अरु दलबीच गठबन्धन भयो भने एक्लै प्रतिस्पर्धा गर्न गार्‍हो हुन्छ ।

कांग्रेसले विगत पनि पक्कै भुलेको छैन । किनकी २०७४ सालको चुनावमा नेकपा एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लड्दा झन्डै द्ुई तिहाई बहुमत ल्याएका थिए । कांग्रेस त निकै कम ठाउँमा मात्र विजयी भएको थियो । तर २०७९ सालमा भएको चुनावमा फेरि कांग्रेस र माओवादी गठबन्धन गरेर चुनाव लड्दा एमाले कमजोर भएको थियो । विशेष गरी तीन दल हुने ध्रवीकरणले निर्वाचनको नतिजामा फरक पर्ने गरेको छ ।

कांग्रेसले अहिले गरेको निर्णयमा भनिएको छ– ‘विगतमा पार्टीले विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसंग निर्वाचन पूर्व गठबन्धन गरेर निर्वाचन लडे तापनि नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्दछ– ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्नेछौँ । हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौँ । हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’

यसबारेमा सभापति देउवाले महामन्त्री शर्मालाई पटक पटक मनाउने प्रयास गरेका थिए । तर गठबन्धनको अभ्यासले घाटा भएको भन्दै कांग्रेसमा गगनको प्रस्ताव पास भएको हो ।

अब कांग्रेसले आफू बलियो मात्र बन्ने होइन, अरु दलबीच हुने गठबन्धन पनि बन्द गराउन सक्नुपर्छ । जनस्तरमा चुनावी गठबन्धन गर्नु हुँदैन भन्ने सन्देश अहिलेदेखि नै पुर्‍याउन सक्नुपर्छ । गठबन्धन गरेर बहुमत ल्याए पनि सरकार स्थिर बन्न नसकेको र यसले राजनीतिक शक्तिमात्र बढेकाले चुनावी गठबन्धनको औचित्य नरहेको पुष्टि गर्न सक्नुपर्छ ।