२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्स दूतावासको टोली पोर्चुगलमाः लिस्बनबाटै दिन थाल्यो ‘कन्सुलर’ सेवा



अ+ अ-

लिस्बन । पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ ।

दूतावासबाट आएको नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको दुई सदस्यीय टोलीले शुक्रबारदेखि लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको हो । दूतावासले लिस्बनस्थित गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयमा घुम्ती सेवा सञ्चालन गरी कन्सुलर सेवा दिन सुरु गरेको हो । कन्सुलर सेवा सुरु भएसँगै प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायत कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सेवाग्राही नेपालीको भीडभाड लागेको छ ।

प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीको सहजताका लागि परराष्ट्र मन्त्रालयसँगको समन्वयमा लिस्बनबाटै कन्सुलर सेवा दिन सुरु गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले राससलाई जानकारी दिनुभयो । घुम्ती सेवाबाट दुई हजार बढीले सेवा लिने अनुमान गरिएको राजदूत भट्टराईले बताउनुभयो ।

दूतावासले सबै खर्चको व्यवस्थापन गरेर घुम्ती सेवा सञ्चालन गरेको जानकारी दिँदै उहाँले दस्तुरबापतको राजस्व रकम बैङ्कमार्फत अग्रिम भुक्तानी गरेर कागजात प्रमाणीकरणको सेवा लिन सकिने बताउनुभयो । सरकारले तोकेको राजस्व दस्तुरबाहेक कुनै पनि अतिरिक्त शुल्क लिने दूतावासको नीति नरहेको बताउँदै राजदूत भट्टराईले राजस्व दस्तुरबाहेकको अतिरिक्त रकम कोही कसैलाई नबुझाउन सेवाग्राहीलाई आग्रहसमेत गर्नुभयो ।

टोलीले कन्सुलर सेवा विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, विवाह दर्तालगायतका कागजात प्रमाणीकरणका साथै अन्य कन्सुलरसम्बन्धी सेवा प्रदान गर्ने राजदूत भट्टराईले बताउनुभयो ।

टोलीले सेप्टेम्बर ३ तारिखसम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका छन् ।