• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   बालेनको कटाक्ष : ‘खड्गप्रसादका कारण बालदिवसको शुभकामना दिन सकिनँ’ ★   सहकारी छानविन समितिसँग प्रधानमन्त्रीको आग्रहः अनुहार होइन, व्यवहार हेरेर निस्कर्ष निकाल्नुस् ★   पाल्पाले पर्यटनलाई पर्याय बनाउनु पर्छ: अध्यक्ष ढकाल ★   राष्ट्रपति पौडेलद्वारा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण ★   साउथह्याम्प्टनमाथि म्यान्चेस्टर युनाइटेडको सहज जित ★   नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री ★   ‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’ ★   ‘नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ’ ★   राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित ★   गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु

राजविराज–छिन्नमस्ता सडक अधुरै



गोलबजार (सिरहा) । राजविराज–छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्ने उक्त सडक गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म सो सडकको २९ प्रतिशत मात्र काम सकिएको छ ।

ठाउँ ठाउँमा सडक भत्किएर पैदल हिँड्न समेत सकिने अवस्था छैन । जताततै खाल्डाखुल्डी मात्रै छन् । सडकमा पानी जमेर पोखरी बनेको छ । मोटरसाइकल गुडाउन पनि समस्या भएको शक्तिपीठ दर्शन गर्न गएका बोदे बर्र्साइन नगरपालिका–३ का २८ वर्षीय धिरज यादवले बताउनुभयो । “सडकको बेजोग छ, पैदल हिँड्न समेत नमिल्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

टेम्पो व्यवसायी सत्यनारायण चौधरी ठूलो सङ्ख्यामा आउने दर्शनार्थीलाई छिन्नमस्ता भगवती मन्दिर पुग्न कठिनाइ हुने गरेको बताउनुहुन्छ । “कुनै पनि बेला दुर्घटना हुनसक्ने खतरा छ, जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

हाल सो सडकखण्डमा बस सेवा बन्द छ । अटोरिक्सा मात्र चल्ने भएकाले उनीहरुले यात्रुबाट मनपरी भाडा लिने गरेको ललापटीका रामप्रित यादवले बताउनुभयो । बाटो बिग्रिएका कारण १० किलोमिटर यात्रा तय गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँको भनाइ छ ।

सडक मर्मतको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहितको टोलीले लहानस्थित सडक डिभिजन कार्यालयमा धर्ना समेत दिएको थियो । “सडक मर्मतका लागि सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक आग्रह गर्दैआएका छौँ, धर्ना पनि बस्यौँ, तर केही पहल भएको छैन”, उहाँले भन्नुभयो । सडककै कारण पछिल्लो समय छिन्नमस्ता शक्तिपीठ आउने भक्तजनको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ ।

स्थानीयले अविलम्ब उक्त सडक स्तरोन्नतिको माग गरेका छन् । राजविराज–छिन्नमस्ता–नेउर बोर्डर सडकखण्ड निर्माण कार्यको शिलान्यास २०७८ चैतमा गरिएको थियो । उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय लहानले रु २५ करोड ८८ लाखमा साह इन्जिनियरिङ प्रालि शम्भुनाथ सप्तरीलाई ठेक्का दिएको हो ।

सडक निर्माण गर्न २०७९ असारमा निमार्ण कम्पनी र सडक डिभिजन कार्यालयबीच सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कार्य गत असारमा सक्नुपर्ने थियो । उक्त सडक अब २०८२ असारसम्ममा निर्माण गरिसक्नुपर्ने सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी अश्विनी यादवले जानकारी दिनुभयो ।