७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

तत्कालीन थारू राजा दङ्गीशरणको हुलाक टिकट प्रकाशन गरिँदै

तत्कालीन थारू राजा दङ्गीशरणको हुलाक टिकट प्रकाशन गरिँदै
अ+ अ-

तुलसीपुर, (दाङ) । तत्कालीन थारू राजा दङ्गीशरणको स्मरणमा हुलाक टिकट प्रकाशन गरिने भएको छ । यसका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर–११ सुकौरामा थारू राजा दङ्गीशरणले राज गरेको जनाउँदै उक्त क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि टिकट प्रकाशन गर्न लागिएको हो । सुकौराको इतिहासलाई जीवन्त राख्नका लागि यो कार्यले भूमिका खेल्ने वडाध्यक्ष रावतको भनाइ छ । “यो एतिहासिक ठाउँलाई साँच्चिकै व्यवस्थित गर्नका लागि हामीले हुलाक टिकट प्रकाशन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “यसले सुकौरालाई जीवन्त राख्नेछ ।”

टिकटमा राख्ने नाम र फोटो वडाले सिफारिस गरेर पठाएमा तत्काल टिकट बन्ने जनाउँदै केही दिनमा उक्त सिफारिस पठाइने वडाध्यक्ष रावतको भनाइ छ । उहाँका अनुसार टिकटमा ‘दङ्गीशरण थारू राजाको दरबार, सुकौरा दाङ’ राखेर पठाउने तयारी रहेको छ । थारू अगुवाहरूसँग छलफलपछि उक्त नाम टुङ्ग्याएको जनाउँदै सोही नाम नै सिफारिस गर्ने उहाँले बताउनुभयो । साथै राजदरबार क्षेत्रको भग्नावशेषको फोटो राख्ने सहमति भएको छ ।

थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं ३ का सचिव जितेन्द्र चौधरी टिकट निर्माण कार्य सराहनीय भएको बताउनुभयो । तर नाम भने ‘दङ्गीशरण थारू राजाको दरबार, सुकौरा दाङ’ नै राख्नुपर्ने सुझाव दिनुभयो । त्यसबाहेक अन्य नाम राख्दा थारू राजाको इतिहास नै मेटिने भन्दै यसमा ख्याल गर्नुपर्ने बताउनुभयो । त्यो नाम नराखिएमा थारू समुदायले विरोध जनाउने बताउनुभयो ।

थारू राजाले राज गरेको ऐतिहासिक ठाउँ भएकाले त्यहाँको भग्नावशेष जोगाउनु अतिआवश्यक रहेको भन्दै अन्य संरचना निर्माण गर्ने नाममा इतिहास मेटाउन नहुने सोही वडाका थारू अगुवा महेश थारूले बताउनुभयो । टिकट निर्माण भएमा त्यहाँ हेर्न जानेको पनि उत्तिकै घुइँचो लाग्न सक्ने भन्दै त्यहाँको ऐतिहासिक कुरालाई जोगाउन सक्नुपर्ने उहाँको भनाइ छ ।

सुकौराकोटको इतिहास

सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दङ्गीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायत संरचना अहिले पनि देख्न सकिन्छ । राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दङ्गीशरण राजा गर्मी छल्न जाने जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ । सुकौराकोटबाट सिधैँ दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किंवदन्ती रहेको छ । त्यस्तै राजाको दरबार रहेको ठाउँबाट उत्तरमा पर्ने वनमा दङ्गीशरणले सिकार खेल्ने गर्थे ।

दङ्गीशरण रानीवनका साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती छ । थारू अगुवा महेश थारूका अनुसार दङ्गीशरण नि:सन्तान रहेका र सन्तान प्राप्तिका लागि दङ्गीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए ।

हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका लागि बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो । मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे । राजकाज गर्ने क्रममा जनताको पिरमर्का बुझ्न दङ्गीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारू अगुवा रामशरण चौधरीले बताउनुभयो ।

अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दङ्गीशरणले दङ्गीशरण गाउँपालिका–१ रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । त्यस ठाउँमा अहिले पनि ढुङ्गाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ । राजा दङ्गीशरणले आफूसँग भएका रुपैयाँ, पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ ।

पशुपालन गर्दै दङ्गीशरण गाउँपालिका–१ रहरपुरस्थित चुरे पर्वतको फेदमा आइपुगेका गोपाल वंशका बाह्रजना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । गाई, भैँसी चराउँदै आएका बाह्रजना ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । बाह्र ग्वालाले आफूमध्येका एकजनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ ।

खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वा पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दङ्गीशरण गाउँपालिका–१, मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन् । बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन् ।

विसं १९४२ मा दङ्गीशरण गाउँपालिका–४ बैवाङका रघुनाथ चौधरीकी श्रीमती सति गएको स्थानमा ‘सतिदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सति जाने बेला सतिप्रथा अन्त्य भइसकेको थियो । सति मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल थियो । रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सति जाने इच्छा गरिन् । तर प्रहरी प्रशासनले रोक लगाए । तैपनि उनले पतिसँग सति गएरै छाड्ने अडान लिएको किंवदन्ती छ । रासस