• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo

मन्त्रिपरिषद्को बैठक बस्दै : को बन्ला मुख्यसचिव ?



काठमाडौं । मुख्यसचिव नियुक्त गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

साँझ ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको छ ।

बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्न सक्ने बताइएको छ । मुख्यसचिव लिलादेवी गड्तौला ३५ दिने पदावधि भदौ १५ गते समाप्त हुँदै छ ।

एक महिना अघि मुख्य सचिव बनेकी गड्तौला उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी हुन् ।

अहिले एमाले र कांग्रेसको सरकार भएकाले एमाले–कांग्रेसनिकट सचिवहरूको दौडधुप चलेको छ । मुख्यसचिव प्रधानमन्त्रीकै विश्वास पात्र हुने भएका कारण ओलीले जो चाहन्छन्, त्यो नै मुख्यसचिव बन्ने छन् ।

अहिले मुख्यसचिवको दौडमा राष्ट्रिय योजना आयोगका सचिव डाक्टर तोयानारायण ज्ञवाली, गृहसचिव एकनारायण अर्याल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई प्रतिस्पर्धामा छन् ।

गृहसचिव एकनारायण अर्याल मुख्यसचिव बन्ने सम्भावना बलियो छ । एमालेसँग सुरुदेखि नै राम्रो सम्बन्ध भएका अर्यालको सम्भावना बलियो देखिएको हो ।