७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

चेकेथुम पहिरोको उच्च जोखिममा

चेकेथुम पहिरोको उच्च जोखिममा
अ+ अ-

खोटाङ । बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ । गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो बर्सेनि माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा परेका हुन् ।

पच्चीस वर्षअघि सुरु भएको पहिरो निरन्तर माथिल्लो भेगमा सर्दै गएपछि त्यसभन्दा माथि पर्ने चेकेथुम गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दा दिनरात त्रासमा बस्नुपरेको बराहपोखरी –२ वडाध्यक्ष पदम मगरले जानकारी दिनुभयो । “चेकेथुमभन्दा मुनिका क्षेत्रमा प्राय: हरेक वर्षको भदौ र असोजमा पहिरो खस्ने गरेको छ । पहिरोभन्दा माथि पर्ने गाउँमा ६१ घर स्थानीय बासिन्दाको बसोबास छ”, उहाँले भन्नुभयो, “पहिरो निरन्तर सर्दै गाउँतर्फ आएपछि यस वर्ष स्थानीय खड्गबहादुर थापामगर, पर्शुराम मगर र गोपाल मगरको घर उच्च जोखिममा परिसकेको छ । यही क्रम नरोकिने हो भने पूरै गाउँ पहिरोमा बग्ने खतरा बढ्दै गएको छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”

हिउँद, बर्खा निरन्तर पानी बगिरहने मस्टपुखोलाबाट सुरु भएको पहिरो क्रमश: गाउँतिर सरेपछि २०७२ सालमा चेकेथुमको तल्लो भेगमा बसोबास गर्ने २८ घर स्थानीय बासिन्दा विस्थापित भएका थिए । पहिरोबाट विस्थापित भएकामध्ये स्थानीय दण्डबहादुर तामाङ र डम्बरबहादुर तामाङ छिमेकी जिल्ला उदयपुरको राजाबास भन्ने ठाउँमा बसाइँ सरिसक्नुभएको छ । पहिरोबाट विस्थापित भएका २८ घरमध्ये २६ घरका स्थानीय बासिन्दा आसपासका स्थानीयको जग्गा खरिद गरेर तथा आफ्नै सुरक्षित जग्गामा घर बनाएर सरेका छन् । भिरालो जमिन रहेको चेकेथुममा वर्षाको पानीले धाँजा फाट्ने र घाम लागेपछि क्रमश: पहिरोका रूपमा खस्ने क्रम नरोकिँदा तल्लो क्षेत्रमा पर्ने सयौँ रोपनी खेतीयोग्य जमिन बगिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

बर्सेनि निरन्तर गइरहने पहिरो माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुम सिङ्गो गाउँ तथा एउटा सामुदायिक विद्यालय पहिरोको उच्च जोखिममा पर्दै गएको स्थानीय आशिष बञ्जरा बताउनुभयो । “निरन्तर खसिरहने पहिरोका आकार करिब पाँच सय मिटर फराकिलो छ । पहिरोले बस्तीसँगै जनचेतना आधारभूत विद्यालय पनि जोखिममा पर्दै गएको छ”, उहाँले भन्नुभयो, “पहिरो बर्सेनि माथिल्लो भेगमा रहेको गाउँतर्फ सर्दै गएपछि तल्लो भेगमा रहेका बस्ती पनि माथिमाथि सर्दै गएको छ । लामो समयअघिदेखि सुरु भएको पहिरो नरोकिँदा घर सार्नुपर्ने बाध्यताले स्थानीय बासिन्दा हैरानीमा परेका छन् ।”

वर्षात्का समयमा केही नहुने पहिरो वर्षा रोकिएर घामले जमिन तातिन थालेपछि फाट्दै गएर ठूलो पहिरोका रूपमा खस्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । सिमसार र कमेरे माटो भएको जमिनलाई वर्षाको समयमा खोलामा आएको भलले कटान गरिरहने भएका कारण चेकेथुममा पहिरो नरोकिएको स्थानीय बासिन्दाको ठम्याइ छ । लामो समयदेखि निरन्तर खसिरहने पहिरो रोकथाम गर्न सकिने सम्भावना नरहेको वडाध्यक्ष मगरले जानकारी दिनुभएको छ । वडाध्यक्ष मगरका अनुसार सिमसार र कमेरे माटो भएको ठाउँबाट पहिरो गएकाले नियन्त्रण गर्न सम्भव नभएको हो ।

पहिरोबाट विस्थापित चेकेथुमका स्थानीय बासिन्दाले आफूहरू विस्थापित भएको लामो समय बितिसक्दा पनि राज्यको तर्फबाट अहिलेसम्म क्षतिपूर्तिबापत केही पनि नपाएको गुनासो गरेका छन् । पहिरोका कारण विस्थापित अधिकांश घरपरिवार आफैँले ऋण गरेर खरिद गरेको जग्गामा बनाएको घरमा बसिरहेका छन् । रासस