• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओलीलाई भारतको निम्तो आएन, अब अमेरिका जाने



काठमाडौं । चौथो पटक प्रधानमन्त्री भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारतले भ्रमणको निम्तो दिएको छैन । यसअघि नेपालमा प्रधानमन्त्री परिवर्तन हुनेवित्तिकै भारतले भ्रमणको निम्ता दिने गरेको थियो । तर यस पटक ओलीलाई अहिलेसम्म भारतले औपचारिक निमन्त्रण गरेको छैन ।

भारतको भ्रमणबाटै विदेश भ्रमण गर्ने प्रधानमन्त्री ओलीको चाहनामा ठेस लागेको छ । अब प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिका हुने भएको छ । संयुक्त राष्ट्र संघ महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाने छन् । राष्ट्र संघमा १० गते सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे तयारी सुरु गरिसकेको छ ।

थाइल्याण्डको बैंककमा भदौ १८ र १९ गतेका लागि तय भएको बिमस्टेक शिखर सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री ओलीको अहिलेसम्मको अर्को औपचारिक विदेश भ्रमण तालिका अमेरिका हो ।

प्रधानमन्त्री ओलीको चाहना चाहिँ भारत भ्रमण नै थियो । उनले भारतीय पक्षबाट औपचारिक निमन्त्रण आए त्यहाँ पुगेर मात्र अमेरिका जाने मनस्थिति बनाएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई फोन गरेर प्रधानमन्त्रीमा चयन भएकोमा बधाइ दिए पनि पनि भ्रमणको औपचारिक निमन्त्रण पठाएका छैनन् । बधाइ दिने क्रममा मोदीले आगामी दिनमा भ्रमणको लागि तयारी गर्न भने भनेका थिए ।

त्यसो त परराष्ट्र मन्त्री आरजु राणा नयाँ दिल्लीमा जाँदा पनि ओलीका लागि औपचारिक पत्र आएको छैन । परराष्ट्र मन्त्री राणाले भने भारतका प्रधानमन्त्री मोदीलाई नेपालको प्रधानमन्त्रीका तर्फबाट निमन्त्रणा दिइसकेकी छन् ।

त्यसअघि भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आउँदा पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे अनौपचारिक कुरा भएको थियो । उनले पनि औपचारिक निमन्त्रण दिएका छैनन् ।

प्रधानमन्त्री ओलीले भने औपचारिक निमन्त्रणा पर्खिरहेको श्रोतको दाबी छ । तर दुबै देशका प्रधानमन्त्रीको एक–अर्को देशमा भ्रमण कहिले हुने भन्ने अहिलेसम्म निश्चित छैन । परराष्ट्र मन्त्रालयले भने दुवै देशबीच प्रधानमन्त्रीको भ्रमणलाई लिएर आन्तरिक तयारी भइरहेको जनाएको छ ।

प्रधानमन्त्री ओली निकटका नेताहरु पनि भारतबाटै पहिलो भ्रमणका लागि आन्तरिक तयारी भइरहेको तर टुङ्गो नलागेको बताउँछन् । उहाँको भारत भ्रमणको टुंगो नलागे पनि प्रधानमन्त्रीको महासभामा जाने मिति र कार्यक्रम भने सार्वजनिक भइसकेको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा रहँदा प्रधानमन्त्री ओलीले सार्क राष्ट्रका प्रमुखहरुसँग भेटवार्ताको पनि तयारी भइरहेको छ ।