१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

हिले–जलजले पर्यटकीय ताल निर्माण अन्तिम चरणमा

हिले–जलजले पर्यटकीय ताल निर्माण अन्तिम चरणमा
अ अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वन क्षेत्रमा ‘पर्यटकीय ताल’ निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा विसं २०७९ मङ्सिरमा ताल निर्माण सुरु गरिएको थियो ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले वनमा ताल निर्माण गर्न थालिएको जनाइएको छ । शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलमा बन्न लागेको तालमा ८२ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनाभित्र निर्माण सक्नेगरी काम भइरहेको निर्माण कम्पनी विजय–लोटस–तेजस्वी जेभीका गणेश मोक्तानले बताउनुभयो । “अविरल वर्षाका करण केही दिनबाहेक काम भइरहेको छ, निर्धारित समयमै काम सक्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो,“निर्माणाधीन तालको हाल भुइँमा ढलान तथा ताल वरपर पर्खाल लगाउने काम सकिएको छ भने ‘फिनिसिङ’ गरी तालमा पानी थुन्ने काम बाँकी छ ।”

ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा तालको बाँध बाँधिएको छ । तल निर्माणका लागि रु पाँच करोड ८९ लाख ५१ हजारमा ठेक्का सम्झौता भएको थियो । तालसहितका अन्य संरचना निर्माण गर्न रु १६ करोड ९४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । निर्माणाधीन पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लम्ब्याइएको रहेको छ ।

ताल निर्माणका लागि डिभिजन वन कार्यालय धुलिखेलले वन क्षेत्रको एक सय २९ रूख कटानको स्वीकृति दिएपछि ताल निर्माण थालिएको थियो । यस्तै, त्यसअघि प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो । डिपिआरमा तालमा डुङ्गा सञ्चालन तथा आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राकृतिक सौन्दर्यीकरणका काम हुने जनाइएको छ ।

यस्तै, तालमा परिसरमा चराचुरुङ्गी र वन्यजन्तुसमेतको संरक्षण गर्नेगरी योजना बनाइने र ताल क्षेत्र वरपरका रूखमा ‘ट्री हाउस, ट्री सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ । दोस्रो चरणमा पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचना, टिकट घरलगायत अन्य पूर्वाधार निर्माण गरिनेसमेत गुरुयोजनामा उल्लेख गरिएको छ । ताल निर्माण सम्पन्न गरिएपछि सङ्घीय राजधानी काठमाडौँ नजिकको एक पर्यटकीय गन्तव्य तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने अपेक्षा गरिएको छ ।

जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाएको र हाल बहुउद्देश्यीय परियोजनाका रुपमा क्रमागत विकास अगाडि बढाइएको यहाँबाट निर्वाचित प्रतिनिधिसभा सांसद गोकुल बाँस्कोटाले बताउनुभयो । उहाँकानुसार बनेपाको वासुकी क्षेत्र र हिले–जलजलेलाई पर्यटकीय तथा समृद्धिको आधार बनाउन संरचना निर्माण गर्न लागिएको हो ।

सानो पोखरीमा अवस्थित हिले–जलजलेको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । नगरकोटस्थित महादेव पोखरी र यस ताल क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किंवदन्ती छ । यस्तै, वासुकी नाग हिले–जलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास छ । हरेक वर्ष घुम पूर्णिमा (ज्या:पुन्ही)को दिन पनौतीमा लाग्ने जात्रामा हिले–जलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्ने गर्दछ ।

वासुकी नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फर्कंदा पहिलाकै अवस्थामा आउने किंवदन्ती पनि रहेको पाइन्छ । वासुकी नागले पनौतीको भ्रमण गरेको स्मरणमा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास गर्दै आइएको छ ।