• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा ★   भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा ★   प्रधानन्यायाधीशको सिफारिसका लागि थप छलफल गर्ने संवैधानिक परिषदको निर्णय ★   संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र ★   वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं ★   सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन ★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली

विपक्षी दलको नेता नचाहिए जनार्दन शर्मालाई दिन प्रचण्डलाई रघुजी पन्तको सुझाब



काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद रघुजी पन्तले सय दिन नपुग्दै सरकारको आलोचना गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिपक्ष दलको नेता दाहालले सरकारको आलोचना गर्नुभएको थियो । तर सय दिन नपुग्दै संसदबाट सरकारको आलोचना गर्ने काम संसदीय प्रणालीमा नहुने जिकिर गर्दै अध्यक्ष दाहालको अभिव्यक्तिप्रति सांसद पन्तले आपत्ति जनाउनु भयो । उहाँले दाहालको प्रतिपक्ष दलको नेता पद पनि सत्तारुढ दलले लैजाओस् भनि दिएको अभिव्यक्तिको पनि प्रतिवाद गर्नुभयो । दुई ठूला दलले सरकार बनाएपछि तेस्रो ठूलो दलले सो पद पाउने संवैधानिक व्यवस्था रहेकाले दाहालले त्यसो भन्न नमिल्ने उहाँको तर्क थियो । सांसद पन्तले संविधान पढ्न र संविधानले गरेको व्यवस्था अनुसार प्रतिपक्ष दलको नेताको पद स्वीकार गर्न आग्रह गर्दै लिन नचाहे पार्टीका उपमहासचिव जनार्दन शर्मालाई दलको नेता बनाइ पद दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक र संसदीय व्यवस्था भएका मुलुकहरुमा संसदीय प्रणाली रहेका मुलुकहरुमा सामान्यतया प्रमुख प्रतिपक्ष दलको नेताले संसदमा उभिएर सय दिन नपुगीकन सरकारको हत्तपत्त आलोचना गर्दैन । यो संसदीय प्रणालीको स्थापित मान्यता हो । संसदीय प्रणालीलाई स्वीकार्ने हो भने, लोकतान्त्रिक प्रणालीलाई स्वीकार्ने हो भने, हाम्रो संविधानलाई स्वीकार्ने हो भने त्यो यो नेपालको संसदभित्र पनि चलि आएको प्रथा हो । यो संविधानमा लेखिराख्ने कुरा होइन । नियमावलीमा लेखिराख्ने कुरा होइन । तर प्राक्टिसले स्थापित गरेको यो नजिर हो । आज दु:खका साथ भन्नु पर्छ–उहाँले यो नजिर तोडनु भएको छ । उहाँले त्यतिमात्रै भन्नु भएन । लाञ्छित गरेर के सम्म भन्नु भयो भने–सबै तपाईहरुलाई चाहिएको छ भने यो प्रमुख प्रतिपक्षको पद पनि लैजानुस भनेर । संविधान त पढ्नुस् नेता ज्यु । प्रमुख प्रतिपक्षको पद तपाईले दिएर, तपाईले खोजेर पाउने पद होइन । हामीले खोजेर पाउने पद होइन । त्यो एउटा संवैधानिक पद हो । त्यो तपाईलाई पनि दिएको होइन । तपाईको दललाई दिएको हो । दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो ठूलो दल प्रमुख प्रतिपक्षमा स्वत: भएको हुनाले त्यो पार्टीलाई दिइएको हो । त्यो दललाई दिएको हो । मन लाग्दैन भने तपाईकै छेउमा जनार्दनजी बस्नुभएको छ । दिनुस् न उहाँलाई । चाहिएन हामीलाई । किनभने हामीले लिनहुने पद पनि होइन ।’

‘आफ्नै दलका कुनै नेतालाई दिनुस् । यति ज्ञान त हुनुपर्‍यो नि । प्रमख प्रतिपक्ष दलको नेता हुने, अनि यो पद पनि लैजाऊ भनेर भन्ने । किन प्रधानमन्त्री पद गएको यति औडाहा र छटपटी किन यति छिट्टै देखाउनु परेको ?चाहिदैन सत्ता भन्नुहुन्छ । हिजो ३ चोटी घरीयता, घरीउता, जता सत्ता, त्यतै प्रचण्ड भनेर यो संसद भित्र स्थापित गर्ने मान्छे को हो?तपाई स्वयम होइन ?तपाईको कारणले मुलुकमा अस्थिरता उत्पन्न भएको थियो । तपाईको कारणले राजनीतिज्ञहरुले आफ्नो विश्वसनीयता गुमाएका थिए । बाहिर भन्न थालेका थिए–नक्कले र नक्कली लुगा फेरे भन्दा छिटो प्रचण्डले दल फेर्दछन् । समिकरण फेर्दछन भनेर । कसले गर्दा यो परिस्थिति उत्पन्न भयो ? के कारणले उत्पन्न भयो ? त्यसैले फर्केर हेर्नुस् आज ठूला दल मिले । मलाई सत्ता चाहिँदैन भनेर सत्ता फकाउनुको के अर्थ छ र । अब त कोही आउँदै आउँदैन । अनि यस्तो अवस्थामा भन्नुहुन्छ–मलाई सत्ता चाहिँदैन । त्यसैले यसरी अभिव्यक्ति दिने बेला यो होइन ।’

सांसद पन्तले अध्यक्ष दाहाल सत्ता जता गयो, त्यतै जाने गरेकाले मुलुकमा राजनीतिक अस्थिरता आएको पनि बताउनु भयो । उहाँले सत्तामा नरहेको छटपटी संसदमा अभिव्यक्त गर्ने काम पनि अध्यक्ष दाहालले गर्न नमिल्ने बताउनु भयो ।