• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा ★   भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा ★   प्रधानन्यायाधीशको सिफारिसका लागि थप छलफल गर्ने संवैधानिक परिषदको निर्णय ★   संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र ★   वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं ★   सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन ★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली

मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित



बझाङ । छविसपाथिभेरा गाउँपालिका–७ मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित भएका छन् । यहाँ खेती गर्न आकासेपानीको भरपर्ने अवस्था हटेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बझाङको सहयोगमा निर्माण गरिएको पोखरीले मजखोरीका किसानलाई राहत भएको स्थानीय किट्टी धामीले बताउनुभयो । उहाँले हाल आकासेपानीको भर पर्दा जमिन नै बाँझो राख्नुपर्ने अवस्था हटेको बताउनुभयो । विगतमा करेसाबारीका लागि पनि पानी नहुँदा समस्या हुने गरेको स्मरण गर्नुहुँदै धामीले अचेल किसानका खेत बाँझो नरहने अवस्था निर्माण भइरहेको बताउनुभयो ।

यहाँ छिमेकी गाउँ बुड्खोरीबाट ल्याइएको पानी ९६ हजार लिटर पानी अटाउने पोखरी निर्माण गरेर व्यवस्थापन गरिएको स्थानीय सुनिल मण्डेलले बताउनुभयो । “यहाँ कृषि पेसा गर्ने ७७ परिवारले अब आकासेपानीको भरपर्ने अवस्था छैन । हिउँदेयाममा सबैको खेत बाँझै रहने, सामान्य तरकारी पनि फलाउन नसक्ने अवस्था भएपछि योजना माग गरेका थियौँ । कार्यान्वयन भएकामा निकै खुसी भएको छौँ”, उहाँले भन्नुभयो ।

मजखोरी सिँचाइ निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवास मण्डेलले एक हजार पाँच सय मिटरको एक सय १० एमएमको मोटो पाइप, एक सय मिटर फलामे (जीआई) पाइप, १३ वटा इन्टेक निर्माण गरेर पानी वितरण गरेको जानकारी दिनुभयो ।
रासस