• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र ★   वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं ★   सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन ★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली ★   पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति ★   एमाले सचिवालय बैठक सुरू ★   सहकारी छानबिन विशेष समितिले गृहमन्त्री सहित प्रमुख प्रहरीसंग छलफल गर्दे ★   महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन अनुरोध ★   जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने

विद्यालयदेखि कार्यालयसम्म ह्विल चियरमा



मङ्गलबारे । आलोक खतिवडा २३ वर्षको हुनुभयो । उहाँको कम्मर चल्दैन अर्थात् बसेको एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्नुहुन्न । उहाँ हालै लोकसेवा आयोगले लिएको खरिदार पदको परीक्षामा उत्तीर्ण भएर जिल्ला हुलाक कार्यालयमा कार्यरत हुनुहुन्छ ।

आलोकका दाजु २६ वर्षीय भुपालले पनि लोकसेवा आयोगले लिएको नायब सुब्बाको परीक्षामा पहिलो पत्र उत्तीर्ण गरेर त्यसपछिका परीक्षा दिइसक्नुभएको छ । आलोकले गत वर्ष स्नातक पूरा गर्नुभएको हो भने दाजु भुपालले तीन वर्षअघि स्नातक सक्नुभएको हो । उहाँहरु दुवैले इलामबाटै आफ्नो अध्ययन पूरा गर्नुभएको हो ।

बुबाआमा बजारमा सामान्य तरकारी पसल गर्नुहुन्छ । तरकारी बेचेर बुबा भुवन र आमा तेजकुमारीले आलोकलाई सरकारी सेवामा प्रवेश गराउनुभयो । अपाङ्गता भएका धेरैले सामान्य अपाङ्गता हुँदा पनि माग्दै हात थापेर जीविकोपार्जन गरिरहेको अवस्थामा आलोक मेहनत गर्दा सफल भइन्छ भन्ने उदाहरण बन्नुभएको छ । आलोकले कार्यालयमा कम्प्युटर चलाउने र दर्ता गर्ने काम गर्र्दै आएको बताउनुभयो ।

“मेहनत गर्‍यो भने सफलता मिल्दोरहेछ”, आलोकले भन्नुभयो । दुईजना सन्तानमध्ये दुवैजना शरीरिक अपाङ्गता छ । दुवैजनाको कम्मर नचल्ने समस्यम रहेको आमा तेजकुमारीले बताउनुभयो । कम्मर नचलेपछि एक ठाउँमा बसेका उहाँहरु अर्को ठाउँमा सर्न सक्नुहुन्न । दिशा पिसाब गराउन दुवै छोरालाई बुबाआमाको सहारा चाहिन्छ ।

कान्छो छोराले लोकसेवा पास गरी सरकारी प्रवेश गरेसँगै परिवारमा एउटा खुसी प्रवेश गरेको आमा तेजकुमारीले बताउनुभयो । जन्मिएको करिब नौ वर्षको उमेरदेखि दुवै छोरा हिँड्न नसक्ने भएपछि बुबाआमाले ह्विल चियरको सहारामा विद्यालयसम्म लैजानुहुन्थ्यो । दैनिक विद्यालय पुर्‍याउने र ल्याउने गर्दै उच्च शिक्षासमेत त्यसरी नै पढाएको बुबा भुवनले बताउनुभयो ।

इलामको सन्दकपुर घर भएका उहाँहरु छोराहरु हिँड्न डुल्न नसक्ने भएकाले इलाम बजारमा सर्नुभयो । छोराहरुको शिक्षाका लागि भनेर लामो समय दु:ख र सङ्घर्ष गर्नुपरेको उहाँले दु:सेसो सुनाउनुभयो । “उपचारका लागि नेपालका धेरै अस्पतालमा लगे पनि उपचार सम्भव भएन । ह्विल चियरमा भए पनि विद्यालय र उच्च शिक्षा हासिल गराउपर्छ भनेर हामीले निरन्तर सङ्घर्ष गर्यौँ”, उहाँले भन्नुभयो ।

“आफ्नो आफ्नो लेखान्त रहेछ । जे भए पनि एउटा खुसी पाएका छौँ”, आमा तेजकुमारीले भन्नुभयो । अहिले पनि बजारमा तरकारी पसल गरिरहेको भन्दै छोरालाई कार्यालय लैजाने र ल्याउने काममा बुबा दैनिक खटिनुपर्ने उहाँले जानकारी दिनुभयो । “म तरकारी पसलमा बस्छु । बुबाले कान्छो छोरालाई कार्यालय छोडेर आएपछि पालैपालो गरेर घरमा भएको छोरोलाई दिसापिसाब गराउने र खान दिने गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

गत जेठमा नियुक्त लिएर पाँचथरको अमरपुरमा हाजिर गर्न जानुभएका आलोक इलाममा सरुवा लिएर हाल जिल्ला हुलाक कार्यालयमा कार्यरत हुनुहुन्छ । अमरपुरमा हुँदा पनि चारैजनाको परिवार उतै बस्दै आउनुभएको थियो ।

आलोक जिल्लामा एक उदाहारण बन्नुभएको छ । मेहनतले सफल भइने उहाँको बुझाइ छ । उहाँ अरूलाई पनि मेहनत गर्ने सल्लाह दिनुहुन्छ । उहाँले दोस्रो पटकमा नाम निकाल्नुभएको हो । १२ जनाको कोटामा करिब तीन हजारको प्रतिस्पर्धा रहेको उहाँले बताउनुभयो । “दोस्रो चरणमा पनि दुई सय ८४ जनाले परीक्षा दिएकामा खुल्ला तेस्रो नम्बरमा नाम निकाल्न सफल भएको हुँ”, आलोकले भन्नुभयो । लोकसेवा आयोग धेरैको सपना जस्तै बनेको छ । उहाँहरुले मेहनत गरेकाले सफलता मिलेको बताउनुभयो ।

भुपाल योसहित तीन पटक लोकसेवाको परीक्षामा सहभागी भइसक्नुभएको छ । अबको पटक नाम निस्कनेमा उहाँ पनि ढुक्क हुनुहुन्छ । मेहनती र इमान्दार खतिवडा कार्यालयमा समेत राम्रो काम गर्ने कर्मचारीका रुपमा हुनुहुन्छ ।

अपाङ्गतामैत्री कार्यालय निर्माण गरेर उहाँको सहजतामा समेत आफूहरु लागेको जिल्ला हुलाक कार्यालय इलामका निमित्त प्रमुख गणेश घिमिरेले बताउनुभयो । “केही व्यक्ति अझै पनि सामान्य अपाङ्गता हुँदा केही गर्न सक्दिन भन्ने सोचमा हुन्छन् । आलोक उहाँहरु सबैका लागि प्ररणाको स्रोत बन्नुभएको छ”, उहाँले भन्नुभयो, “उहाँको पदोन्नति होस् अनि भुपाल पनि आगामी परीक्षामा सफल बन्नुहोस् भन्ने हाम्रो कामना छ ।” रासस