१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

विद्यालयदेखि कार्यालयसम्म ह्विल चियरमा

विद्यालयदेखि कार्यालयसम्म ह्विल चियरमा
अ अ+ अ-

मङ्गलबारे । आलोक खतिवडा २३ वर्षको हुनुभयो । उहाँको कम्मर चल्दैन अर्थात् बसेको एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्नुहुन्न । उहाँ हालै लोकसेवा आयोगले लिएको खरिदार पदको परीक्षामा उत्तीर्ण भएर जिल्ला हुलाक कार्यालयमा कार्यरत हुनुहुन्छ ।

आलोकका दाजु २६ वर्षीय भुपालले पनि लोकसेवा आयोगले लिएको नायब सुब्बाको परीक्षामा पहिलो पत्र उत्तीर्ण गरेर त्यसपछिका परीक्षा दिइसक्नुभएको छ । आलोकले गत वर्ष स्नातक पूरा गर्नुभएको हो भने दाजु भुपालले तीन वर्षअघि स्नातक सक्नुभएको हो । उहाँहरु दुवैले इलामबाटै आफ्नो अध्ययन पूरा गर्नुभएको हो ।

बुबाआमा बजारमा सामान्य तरकारी पसल गर्नुहुन्छ । तरकारी बेचेर बुबा भुवन र आमा तेजकुमारीले आलोकलाई सरकारी सेवामा प्रवेश गराउनुभयो । अपाङ्गता भएका धेरैले सामान्य अपाङ्गता हुँदा पनि माग्दै हात थापेर जीविकोपार्जन गरिरहेको अवस्थामा आलोक मेहनत गर्दा सफल भइन्छ भन्ने उदाहरण बन्नुभएको छ । आलोकले कार्यालयमा कम्प्युटर चलाउने र दर्ता गर्ने काम गर्र्दै आएको बताउनुभयो ।

“मेहनत गर्‍यो भने सफलता मिल्दोरहेछ”, आलोकले भन्नुभयो । दुईजना सन्तानमध्ये दुवैजना शरीरिक अपाङ्गता छ । दुवैजनाको कम्मर नचल्ने समस्यम रहेको आमा तेजकुमारीले बताउनुभयो । कम्मर नचलेपछि एक ठाउँमा बसेका उहाँहरु अर्को ठाउँमा सर्न सक्नुहुन्न । दिशा पिसाब गराउन दुवै छोरालाई बुबाआमाको सहारा चाहिन्छ ।

कान्छो छोराले लोकसेवा पास गरी सरकारी प्रवेश गरेसँगै परिवारमा एउटा खुसी प्रवेश गरेको आमा तेजकुमारीले बताउनुभयो । जन्मिएको करिब नौ वर्षको उमेरदेखि दुवै छोरा हिँड्न नसक्ने भएपछि बुबाआमाले ह्विल चियरको सहारामा विद्यालयसम्म लैजानुहुन्थ्यो । दैनिक विद्यालय पुर्‍याउने र ल्याउने गर्दै उच्च शिक्षासमेत त्यसरी नै पढाएको बुबा भुवनले बताउनुभयो ।

इलामको सन्दकपुर घर भएका उहाँहरु छोराहरु हिँड्न डुल्न नसक्ने भएकाले इलाम बजारमा सर्नुभयो । छोराहरुको शिक्षाका लागि भनेर लामो समय दु:ख र सङ्घर्ष गर्नुपरेको उहाँले दु:सेसो सुनाउनुभयो । “उपचारका लागि नेपालका धेरै अस्पतालमा लगे पनि उपचार सम्भव भएन । ह्विल चियरमा भए पनि विद्यालय र उच्च शिक्षा हासिल गराउपर्छ भनेर हामीले निरन्तर सङ्घर्ष गर्यौँ”, उहाँले भन्नुभयो ।

“आफ्नो आफ्नो लेखान्त रहेछ । जे भए पनि एउटा खुसी पाएका छौँ”, आमा तेजकुमारीले भन्नुभयो । अहिले पनि बजारमा तरकारी पसल गरिरहेको भन्दै छोरालाई कार्यालय लैजाने र ल्याउने काममा बुबा दैनिक खटिनुपर्ने उहाँले जानकारी दिनुभयो । “म तरकारी पसलमा बस्छु । बुबाले कान्छो छोरालाई कार्यालय छोडेर आएपछि पालैपालो गरेर घरमा भएको छोरोलाई दिसापिसाब गराउने र खान दिने गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

गत जेठमा नियुक्त लिएर पाँचथरको अमरपुरमा हाजिर गर्न जानुभएका आलोक इलाममा सरुवा लिएर हाल जिल्ला हुलाक कार्यालयमा कार्यरत हुनुहुन्छ । अमरपुरमा हुँदा पनि चारैजनाको परिवार उतै बस्दै आउनुभएको थियो ।

आलोक जिल्लामा एक उदाहारण बन्नुभएको छ । मेहनतले सफल भइने उहाँको बुझाइ छ । उहाँ अरूलाई पनि मेहनत गर्ने सल्लाह दिनुहुन्छ । उहाँले दोस्रो पटकमा नाम निकाल्नुभएको हो । १२ जनाको कोटामा करिब तीन हजारको प्रतिस्पर्धा रहेको उहाँले बताउनुभयो । “दोस्रो चरणमा पनि दुई सय ८४ जनाले परीक्षा दिएकामा खुल्ला तेस्रो नम्बरमा नाम निकाल्न सफल भएको हुँ”, आलोकले भन्नुभयो । लोकसेवा आयोग धेरैको सपना जस्तै बनेको छ । उहाँहरुले मेहनत गरेकाले सफलता मिलेको बताउनुभयो ।

भुपाल योसहित तीन पटक लोकसेवाको परीक्षामा सहभागी भइसक्नुभएको छ । अबको पटक नाम निस्कनेमा उहाँ पनि ढुक्क हुनुहुन्छ । मेहनती र इमान्दार खतिवडा कार्यालयमा समेत राम्रो काम गर्ने कर्मचारीका रुपमा हुनुहुन्छ ।

अपाङ्गतामैत्री कार्यालय निर्माण गरेर उहाँको सहजतामा समेत आफूहरु लागेको जिल्ला हुलाक कार्यालय इलामका निमित्त प्रमुख गणेश घिमिरेले बताउनुभयो । “केही व्यक्ति अझै पनि सामान्य अपाङ्गता हुँदा केही गर्न सक्दिन भन्ने सोचमा हुन्छन् । आलोक उहाँहरु सबैका लागि प्ररणाको स्रोत बन्नुभएको छ”, उहाँले भन्नुभयो, “उहाँको पदोन्नति होस् अनि भुपाल पनि आगामी परीक्षामा सफल बन्नुहोस् भन्ने हाम्रो कामना छ ।” रासस