• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली ★   पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति ★   एमाले सचिवालय बैठक सुरू ★   सहकारी छानबिन विशेष समितिले गृहमन्त्री सहित प्रमुख प्रहरीसंग छलफल गर्दे ★   महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन अनुरोध ★   जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने ★   प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह: आगामी आ.व.मा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस् ★   दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा ट्याक्सीसहित चालकको प्रदर्शन ★   एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने

इजरायलका ‘नयाँ शर्तहरू’ अमान्य: हमास



एजेन्सी । हमासले युद्धविराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ शर्तहरू’ आफुहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ ।

जुलाई–२ मा अमेरिकाद्वारा प्रस्तावित र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट अनुमोदित प्रस्तावमा मात्र वार्ता गर्न सकिने भन्दै हमासको वार्ताका लागि इजिप्टको कायरोमा रहेको प्रतिनिधिमण्डल त्यहाँबाट बाहिरिएको सिएनएनले जनाएको छ ।

वार्ताका लागि मध्यस्थकर्तासँग भेट गरेपछि हमास प्रतिनिधिमण्डल आइतबार कायरोबाट प्रस्थान गरेको हो ।

गाजा युद्धको एक पक्षको प्रतिनिधित्व गरेको हमासको प्रतिनिधिमण्डलले वार्तास्थल छोडेपछि युद्ध अन्त्य गर्ने अमेरिकालगायतका मध्यस्तकर्ताको युद्ध विराम सफलताको सम्भावनामा थप जटिलता आएको छ ।

हमासले अमेरिकी राष्ट्रपति बाइडेनको खाका र सुरक्षा परिषद्को प्रस्तावको आधारमा गरिएको जुलाई–२ को सम्झौतामा मात्र सहमत हुने दावी गरेको हमासको राजनीतिक ब्युरोका सदस्य इज्जात अल–रिस्कले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

अल–रिस्कले सम्झौतामा स्थायी युद्धविराम, गाजा पट्टीबाट पूर्ण रूपमा सेना फिर्ता, बासिन्दालाई आफ्नो क्षेत्र फर्कने स्वतन्त्रता, राहत तथा पुनर्निर्माणलगायतका विषय समावेश हुनुपर्नेमा जोड दिनुभयो ।

गत हप्ता हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले अल अक्सा टिभीसँगको कुराकानीमा इजरायलले सम्झौता स्वीकार्नका लागि नयाँ शर्तहरू तय गरेको र पहिलेका कुरा फिर्ता लिएको भन्दै नयाँ शर्त आफ्नो समूहका लागि मान्य नहुने बताउनुभएको थियो ।

हमदानका अनुसार नयाँ शर्तहरूमा इजिप्टसँगको सिमानामा रहेको पट्टी फिलाडेल्फी कोरिडोरमा इजरायली सेनाको पुन:स्थापना र इजिप्टसँगको रफाह सीमापारका लागि गैर–प्यालेस्टिनी व्यवस्थापनसमेत समावेश थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘नयाँ मागहरू’ थपी वार्ताको प्रगतिको बाधक बनेको हमासको दावी छ ।

यसैबीच नेतान्याहूले सम्झौता भए पनि हमासविरुद्धको ‘पूर्ण विजय’ नभएसम्म गाजामा युद्ध जारी रहने कुरामा जोड दिनुभएको छ ।

हमासले गत वर्ष अक्टोबरमा इजरायलमा एक्कासी गरेको आक्रमणमा कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाएको थियो ।

बदलामा इजरायलले शुरू गरेको सैन्य कारबाहीमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

यसैबीच, हमास निकट समूहविरूद्धको कारबाहीस्वरूप इजरायलले शुरू गरेको अभियानमा लेबनानका ४० भन्दा बढी प्रक्षेपण क्षेत्रमा आक्रमण गरिएको जनाएको छ । आइतबार इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौं रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको थियो ।

“करिब १०० आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हजारौं हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए ।

हिजबुल्लाह समूहको आक्रमणपछि शनिबार इजरायलले लेबनानसँगको बढ्दो तनावबीच ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको थियो ।