१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

हिमपात भएपछि खप्तड आउने पर्यटकको सङ्ख्या ह्वातै बढ्यो

हिमपात भएपछि खप्तड आउने पर्यटकको सङ्ख्या ह्वातै बढ्यो
अ अ+ अ-

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । 

जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका छन् । हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको त्यहाँ गएर आएका पर्यटकहरु बताउँछन् । हिमपातपछि यहाँका डाँडाकाँडा निकै रमणीय तथा सेताम्मे भएका छन् । 

गएको पुस १४ गते पहिलोपटक हिमपात भएको खप्तड क्षेत्रमा माघ ५ गते रातिबाट पुनः हिमपात भएको हो । खप्तडमा हिमपात भएपछि यहाँ आएका आन्तरिक पर्यटकहरु निकै रमाइरहेको बताइएको छ । हिमपातपछि यहाँ रमाइलो गर्नका लागि दैनिक १२ देखि १५ जनासम्म आन्तरिक पर्यटक घुम्न र रमाइलो गर्न आउने गरेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ ।

हिमपात रोकिएको र दिउँसोको समयमा टलक्क घाम लाग्ने भएकाले पनि यहाँ पर्यटक आउने क्रम बढ्दै गएको झिग्रानाका स्थानीयवासी हिरालाल साउँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँ परेकाले चिसो धेरै छ, दिउँसो घाम लाग्ने भएकाले यहाँ घुम्न आउने पर्यटक पनि दिनहुँ थपिँदै गएका छन्, अहिले यहाँको चहलपहल बढेको छ ।” 

हिमपातले यहाँ एकाएक चिसो बढेको स्थानीयवासीहरु बताउँछन् । खप्तडसँगै यहाँका अन्य गाउँहरुमा पनि हिमपात भएकाले नागरिकलाई घरबाहिर निस्किन सकस भइरहेको बताइएको छ । हिमपातका कारण खप्तडलगायतका क्षेत्रहरु सुन्दर देखिन थालिएका निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा मात्रै कम्तीमा पनि एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ । 

हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको खप्तड झिग्रानास्थित घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “गएरातिदेखि यहाँ हिमपात भएको छ, हिमपातले डाँडाकाँडा सेताम्मे भएकाले निकै रमणिय भएका छन् ।” अबका केही दिनमा खप्तड घुम्न आउने पर्यटकलाई हिमपातले निकै आनन्द दिने उहाँको भनाइ छ । जिल्लामा कोरोना सङ्क्रमण दर कायमै रहे पनि अहिले खप्तड घुम्न आउने तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । 

गएको वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ । हिमपातका कारण यहाँको तापक्रम माइनस तीन डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् । बाक्लो हिमपात भइरहेका कारण यहाँका नागरिकहरु घरबाहिर निस्किन पाइरहेका छैनन् । 

यसअघि परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात सुरु भएपछि स्थानीयवासीहरु खेती सप्रिने भन्दै खुसी भएका छन् । खप्तडसहित, बडिकेदार थान, गोलादेउला, चर्केलेक, नापानी, देउताल, मुस्तला, खगरताल, ओखरखाली लगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको स्थानीयवासी डम्बर विष्टले जानकारी दिनुभयो । हिमपात भएपछि लेकाली क्षेत्रमा गरिएको खेती सप्रिने भन्दै किसानहरु भने निकै खुसी भएका छन् ।