• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

सडक सुव्यवस्थित र सुरक्षित बनाउन सांसद बिसीको आग्रह



काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले असारे बजेटका नाममा अन्तिम समयमा आएर बजेट खर्च गर्ने र त्यस बेलाको काम हतारमा हुने भएकाले जनताले तिरेको करको प्रभावकारीता नदेखिएको बताउनु भयो । उहाँले ठेक्कापट्टा लिने ठेकेदार कम्पनीले लापरवाही गर्दा पनि समयमै काम सम्पन्न हुन नसकेको बताउनु भयो । उहाँले सरकारले समयमै सम्पन्न हुन नसकेका आयोजनाहरुबारे गम्भीर भएर अनुसन्धान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो विकास बजेटका लागि यो असारे बजेट भन्ने गर्दछौँ । जब आर्थिक वर्षको अन्तिम घडी आउँछ । त्यतिबेला हतारमा काम गर्ने र वर्षाको कारणले फेरि त्यही बाढी आएर लैजाने र जनताले खाइ नखाइ तिरेको करबाट जनताले लाभ लिन नपाउने स्थिति एकातिर छ भने अर्कोतिर यि ठेक्कापट्टा लिने ठेकेदार कम्पनीले लापरवाही गरेर त्यहाँ लगानी गर्दा बेलामा सम्पन्न नगर्दा खर्च लागत बढ्दै जाने भएकाले समयमा सम्पन्न नहुँदा जनताले उपभोग नपाउने र जनताले तिरेको करबाट समय अवधि बढाउनुपर्ने र लागत बढ्ने हुँदा जनता दोहोरो मारमा परेका छन् । विगतका कुरा बिर्सिएर नयाँ नीति ल्याएर बाटाघाटा सुरक्षित गर्नुपर्छ ।’

सांसद बिसीले जनतालाई परेका सास्ती हटाउन सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो ।