४ आश्विन २०८१, शुक्रबार
,
Latest
अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल उपप्रधानमन्त्री प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी सुरु भयो पदयात्राको याम संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमनत्री ओली अमेरिका प्रस्थान ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना



अ+ अ-

मङ्गलबारे । छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुएको छ ।

त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उहाँ इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुनुहुन्छ ।

पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उहाँले गाडी चलाउन थाल्नुभएको हो । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उहाँ बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानुहुन्छ । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्नुहुन्छ ।

उहाँको बुवा पहिलेदेखि सवारी चालकको काम गर्नुहुन्थ्यो । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उहाँ बताउनुहुन्छ । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उहाँले विस्तारै राम्रोसँग चलाउन थाल्नुभयो । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताउनुभयो ।

“मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु”, उहाँले भन्नुभयो । छेकीले गाडी चलाउँदा केही यात्रुहरुले सुरुमा विश्वास गर्दैनथे । उहाँले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उहाँले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् ।

उहाँले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गर्नुभएको छ । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उहाँको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् ।

कक्षा १२ सम्म अध्ययन गर्नुभएकी उहाँले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उहाँले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देख्नुभएको छ । “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेसिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिनुभएको छ छेकीले ।

जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले  उहाँको गाडी रोज्ने गरेको बताउँछन् । “केही पुरुष चालकहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ”, स्थानीय यात्रु दावा शेर्पाले भन्नुभयो, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।” रासस