२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु



अ+ अ-

काठमाडौँ । भगवान् श्रीराम को जन्म भएको विश्वास गरिएको चितवनको माडी नगरपालिकामा अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु भएको छ । अयोध्याधाम निर्माणको गुरुयोजना तयार भई ‘डीपीआर’ निर्माणको काम सुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो ।
नगर प्रमुख ढकालले भन्नुभयो, ‘‘गुरुयोजना तयार भई डीपीआर निर्माणको काम सुरु भइसकेको छ, छिट्टै नै प्रतिवेदन आउने छ ।’’ प्रधानमन्त्री ओलीको निर्देशनमा अयोध्याधाम निर्माणको कामलाई तीव्रता प्रदान गरिएको बताउँदै उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा अयोध्याधाम निर्माणको डीपीआरलगायत समग्र आयोजना अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।

अर्को वर्ष २०७८ सालको चैततिर पर्ने रामनवमीका अवसरमा भगवान् राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति अनावरण गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिन प्रधानमन्त्री ओलीबाट निर्देशन भएको बताउँदै नगर प्रमुख ढकालले निर्देशनबमोजिम काम अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार डीपीआर तयार हुनेबित्तिकै मन्दिर निर्माणको बोलपत्र आह्वान गरिने छ । प्रधानमन्त्रीको चाहनाबमोजिम अन्तर्राष्ट्रिय स्तरको निर्माण गरिने सो मन्दिरका लागि करिब १० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
भव्य मन्दिर निर्माणका साथै राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क निर्माण गरिने उहाँले बताउनुभयो ।

अयोध्याधाम निर्माणका लागि नगरपालिकाले एक सय बिघा जग्गा सो धामको नाममा हस्तान्तरण गर्ने निर्णय गरी यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइसकिएको जानकारी नगर प्रमुख ढकालले दिनुभयो । त्यसैगरी नगरपालिकाको वडा नं. ८ मा रहेको ५० बिघा जग्गा अयोध्याधामलाई उपलब्ध गराउने निर्णय नगरपालिकाले गरिसकेको उहाँले जानकारी दिनुभयो । साउन २४ गते बालुवाटारमा माडी नगरपालिकाका प्रमुख ढकालसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले तथ्य प्रमाणको आधारमा सो ठाउँको विकासका लागि गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन निर्माण गरी भगवान् श्रीरामको भव्य मन्दिर निर्माण गर्न तथा सो ठाउँलाई बृहत् अयोध्याधामका रूपमा निर्माणलाई अगाडि बढाउन निर्देशन दिनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परीवर्तन गरी अयोध्यापुरी राख्न नगर प्रमुख ढकाललाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा बालुवाटारमा गत असार २९ गते आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको चर्चा गरेपछि यस विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको थियो । गोरखापत्र दैनिक