३१ श्रावण २०८३, आईतवार
,
Latest
कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द



अ+ अ-

चितवन । दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध नपाएपछि बन्द भएको हो । उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न सङ्घसंस्थालाई दूध बिक्रीका लागि आग्रह गरिएको भन्दै पर्याप्त उपलब्ध हुन नसकेपछि उद्योग बन्द गरिएको बताउनुभयो । “एक पटक सञ्चालन गर्न कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक सिफ्टमा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ”, उहाँले भन्नुभयो, “उद्योग नियमित सञ्चालन गर्न पर्याप्त दूध उपलब्ध हुनु जरुरी छ ।”

सहकारी र फार्मले दूध नल्याएपछि आफैँले किनेर मेसिन बिग्रन नदिन उद्योग पुन: सञ्चालनको योजना बनाइएको प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । “गत वर्ष यो मौसममा दूधको अभाव थिएन । अघिल्ला वर्षमा असार १५ देखि साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था आएको थिएन”, उहाँले भन्नुभयो ।

प्रबन्धक पराजुलीका अनुसार उद्योगमा ३३ जना कर्मचारी छन् । उद्योग सञ्चालन नहुँदा मासिक रु १५ लाख तलब, मेसिन तथा भौतिक संरचना व्यवस्थापनमा खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फार्मले नलगेपछि दुई पटक गरी झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नुपरेको थियो । अहिले ती सामग्री लैजाने क्रम जारी छ । केही महिनाभित्र सबै सामग्री खाली हुने उहाँको भनाइ छ ।

उद्योगमा अहिले १५ किलोका आठ हजार ब्लक नौनी र तीन हजार पाँच सय बोरा धुलो दूध बाँकी छ । केही महिना अघिसम्म २२ हजार ब्लक नौनी र २४ हजार बोरा धुलो दूध थियो ।

विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू (बटर)को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापित उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो ।