६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द



अ+ अ-

चितवन । दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध नपाएपछि बन्द भएको हो । उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न सङ्घसंस्थालाई दूध बिक्रीका लागि आग्रह गरिएको भन्दै पर्याप्त उपलब्ध हुन नसकेपछि उद्योग बन्द गरिएको बताउनुभयो । “एक पटक सञ्चालन गर्न कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक सिफ्टमा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ”, उहाँले भन्नुभयो, “उद्योग नियमित सञ्चालन गर्न पर्याप्त दूध उपलब्ध हुनु जरुरी छ ।”

सहकारी र फार्मले दूध नल्याएपछि आफैँले किनेर मेसिन बिग्रन नदिन उद्योग पुन: सञ्चालनको योजना बनाइएको प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । “गत वर्ष यो मौसममा दूधको अभाव थिएन । अघिल्ला वर्षमा असार १५ देखि साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था आएको थिएन”, उहाँले भन्नुभयो ।

प्रबन्धक पराजुलीका अनुसार उद्योगमा ३३ जना कर्मचारी छन् । उद्योग सञ्चालन नहुँदा मासिक रु १५ लाख तलब, मेसिन तथा भौतिक संरचना व्यवस्थापनमा खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फार्मले नलगेपछि दुई पटक गरी झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नुपरेको थियो । अहिले ती सामग्री लैजाने क्रम जारी छ । केही महिनाभित्र सबै सामग्री खाली हुने उहाँको भनाइ छ ।

उद्योगमा अहिले १५ किलोका आठ हजार ब्लक नौनी र तीन हजार पाँच सय बोरा धुलो दूध बाँकी छ । केही महिना अघिसम्म २२ हजार ब्लक नौनी र २४ हजार बोरा धुलो दूध थियो ।

विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू (बटर)को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापित उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो ।