१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीबाट खुम्बु क्षेत्रको हिमताल विस्फोट र क्षतिबारे जानकरी



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका—५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिनुभएको छ ।

घटनास्थलमा पुगेर फर्किनुभएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहंदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराइएको हो । त्यहाँको अवस्थाबारे गम्भीरतापूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णयहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा रक्षामन्त्री राई, सङ्घीय सांसद सोनाम गेल्जेन शेर्पा, कोसी प्रदेशसभा सदस्य बुद्धिबहादुर राजभण्डारी, मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा, उपाध्यक्ष टासी ल्हमु शेर्पालगायत उपस्थित हुनुहुन्थ्यो ।

स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्नलगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोनलगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने उल्लेख छ । क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विषय विज्ञको संयुक्त टोलीबाट अध्ययन हुनुपर्ने र पुनः निर्माणको कार्ययोजना बनाइ कार्यान्वयन गर्नुपर्ने जनाइएको छ । विस्फोटपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय ध्वस्त भएको थियो । दिउँसोको समयमा घटना भएको र पूर्व सूचना प्रणाली अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ ।