१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी
अ अ+ अ-

स्वर्गद्वारी । पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ ।

जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरेर विदेशिएका पनि छन् । तर जिसी भने प्रत्येक वर्ष नाफा वृद्धि गर्दै लैजाँदा खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो , “मासिक एक लाखभन्दा बढी तलब छाडेर स्वदेशमा कृषि पेशा अँगालेको हुँ । यहीँ नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ । ”

विदेशमा जति कमाई भए पनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफू विदेशबाट फर्केर कृषिमा लागेको जिसीले सुनाउनुभयो । उहाँले संयुक्त अरब इमिरेट्सको दुबई अल्कुज कम्पनीमा पाँच वर्ष काम गरेर स्वदेश फर्किनुभएको हो । हजुरबुबाले तल्लो गेजवाङ केही जग्गामा तरकारीखेती गरेर उब्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने लागेको सोही प्रेरणाले विदेशबाट फर्केर तरकारीखेती गर्ने योजना बुन्नुभएको थियो ।

जिसीको आठ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारीखेती रहेको छ । यसमध्ये करिब तीन रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटरखेती गरिएकामा टमाटरबाट एक याममा करिब रु तीन लाख बराबर बिक्री गर्नुभएको हो । श्रीमती हिमा केसी जिसीले गाउँकै आधारभूत तहको शिक्षण गरी बिहान बेलुका सघाउनुभएको छ भने स्थानीय चार महिलालाई रोजगारी प्रदान गर्नुभएको छ ।

जिसी कृषि फार्मका रूपमा रु ५० हजारबाट बारीमा तरकारीखेती सुरु गरिएकामा बर्सेनि आम्दानी वृद्धि गर्दै हाल रु आठ लाखको लगानी रहेको छ । तरकारीबाट बर्सेनि उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उहाँ बताउनुहुन्छ ।

जिसी दम्पतीसहित बुबा, आमा, तीन छोरी गरी सातजनाको परिवार छ । “गत वर्ष सबै खर्च कटाएर वार्षिक रु छ लाख नाफा भएको छ”, जिसीले भन्नुभयो, “काममा स्वतन्त्रतासँगै मनग्य आम्दानी हुँदा विदेशभन्दा गाउँमा कृषि गर्नु धेरै राम्रो हो भन्ने लाग्दछ ।” विसं २०७९ मा साढे चार लाख जति नाफा भएकामा यस वर्ष उत्पादनसमेत वृद्धि र टनेलमार्फत खेती गर्दा उत्पादनमा वृद्धि भएको छ । जिसीले टमाटर, भिण्डी र बोडी लगाइएकामा अब खुसार्नी र भेडेखुसार्नी लगाउन ब्याड तयार गर्नुभएको छ । उहाँले वार्षिक आगामी वर्ष रु सात लाख बचत हुनेगरी उत्पादनमा लाग्नुभएको छ ।

जिसीलाई दुई वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्दै आएको छ । गत वर्ष हाते ट्रयाक्टर अनुदानमा पाएकामा यस वर्ष टनेलका लागि रु दुई लाख ७० हजार अनुदान पाउनुभएको थियो । जिल्लामा कृषि उत्पादनको बजारीकरणमा समस्या देखिए पनि जिसीले तरकारी व्यवसायीसँग प्रत्यक्ष कारोबार गर्ने हुँदा बजारको अभाव छैन । प्युठानका बिजुवार, बाग्दुला, क्वाडी, खलङ्गाका पसलमा तरकारी पुग्ने गरेको छ । तर हिउँदे सिजनमा तराईका तरकारीले बजार निर्धारण गर्ने हुँदा मूल्य नपाउने समस्या भने छ । स्थानीय सरकारले मूल्य निर्धारण गर्ने र बाह्य तरकारीलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरे किसानलाई मार नपर्ने उहाँको भनाइ छ ।