१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनः आज राती १२ बजेबाट मौनावधि सुरु हुँदै



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज (आईतबार) राती १२ बजेबाट मौनावधि शुरु हुने भएको छ । 

निर्वाचन आायेगले माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि आईतबार राती १२ बजेबाट मौनावधि शुरु हुने जानकारी गराएको हो । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका सहसचिव तथा सहप्रवक्ता कोमलप्रसाद धमलाले मौनावधि एउटा नैतिक बन्धन र कानूनी हतियार भएकोले आयोगले निर्वाचनको आचारसंहीता सार्वजनिक गरेको बताउनु भयो । 

उहाँले यस समयमा निर्वाचनको मतदान हुने तीन सय वरपरको स्थानमा भएका पर्चा, पम्प्लेट र पोस्टरहरु हटाइनु पर्ने बताउनु भयो । सहसचिव धमलाले आजबाट विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरु गर्न बन्द भएको बताउनु भयो । उहाँले राष्ट्रियसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बताउनु भयो ।

सहसचिव धमलाले भन्नुभयो, ‘निर्वाचन सञ्चालन गर्न आचारसंहीता भन्ने एउटा नियम हो । यो एउटा नैतिक बन्धन हो र सँगै एउटा कानूनि हतियार पनि हो । कुनै पनि निर्वाचनमा निर्वाचन आचारसंहीता लागू हुन्छ । तथापि अहिलेको राष्ट्रियसभाको निर्वाचन आम मतदाताहरु संलग्न नहुने, सहभागी नहुने र प्रचारप्रसार इत्यादिको हिसावले पनि त्यो पैमानामा नहुने भएकोले आचारसंहीता उल्लंघन भएका घटनाहरु न त उजुरी नै आएका छन् न त आउने परिस्थती पनि छ जस्तो लाग्दैन । 

झन अहिले त कोभिडको कारणले गर्दा जमघट, भेला हुने कुरा डिस्करेज हुने भइरहेको छ । तथापि आयोगले निर्वाचन हो, निर्वाचनमा आचारसंहीता लागू गर्नुपर्छ, भन्ने हिसावले यो आचारसंहीता लागू भएको छ । आज (आईतबार) राती १२ बजेबाट आचारसंहीताको मौन अवधि शुरु हुन्छ । मौन अवधिमा अरु कुराका अतिरिक्त, सबै प्रचारप्रसार कार्यहरु बन्द गर्नुपर्छ । निर्वाचनको मतदान हुने ठाउँको ३ सय मिटर वरिपरि केही पर्चा, पोस्टर, पम्प्लेटहरु त्यस्तो टाँसेका छन् भने हटाउनु पर्छ । त्यो मौन अवधिमा जस्ते एसएमएस गर्ने, फेसबुकबाट, भाइबर, ट्वीटर इत्यादिबाट सोसल मिडियाको प्रयोग गरेर जुन प्रचरप्रसार गर्ने कुराहरु हुन्छन् ती कुराहरु सबै बन्द गर्नुपर्ने हुन्छ । र राजनीतिक दलको, उम्मेदवारको, प्रचारप्रसार गर्ने र खास गरी प्रकाशन गर्ने पेपरहरुले पनि त्यो गर्न मिल्दैन । अरु कुराको अतिरिक्त, अरु गर्नु नहुने कुरा त छँदैछन् । 

मौनअवधि शुरु भएपछि यी कुराहरु गर्न मिल्दैन । निर्वाचन आयोगले आफ्ना सबै तयारीहरु पूरा गरेको छ । मतपत्रहरु सम्बन्धित निर्वाचन अधिकृतसँग पुगेको छ । कर्मचारीहरु खटिसक्नु भएको छ । कोभिडको संक्रमण बढ्दै गरेको पिक टाइममा निर्वाचन हुँदैछ, त्यसमा उच्च शतर्कता अपनाउनु पर्ने हुन्छ ।  त्यसरी चुनाव गर्नका लागि आयोगले २१ बुँदे स्वास्थ्यका मापदण्डसम्बन्धी निर्देशनहरु पठाएको छ । त्यसअनुसार अनुशासित र सुव्यवस्थित नमुना योग्य निर्वाचन हुने विश्वास हामीले गरेका छौँ ।’

सहसचिव धमलाले राष्ट्रियसभाको निर्वाचनमा आयोगले निर्देशित गरेका २१ बूँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढंगले सम्पन्न हुने बताउनु भयो ।