२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्युठानका किसानलाई चैतेधान भित्र्याउने चटारो



अ+ अ-

स्वर्गद्वारी । यहाँको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उहाँलाई भ्याइनभ्याइ छ ।

“तीन बाली लगाउँदा अन्न वर्ष दिन पुग्ने र केही बीउ बिक्री हुने हुँदा एउटै खेतबाट आम्दानीको स्रोत थपिएको छ”, किसान घर्तीमगरले भन्नुभयो । परम्परागत धानको बीउलाई त्यागेर उन्नत जातको धान रोप्दा उत्पादन वृद्धि हुनुका साथै बीउको बिक्रीबाट आम्दानीमा बढेपछि चैतेधान लगाउन थालेको उहाँले बताउनुभयो ।

घर्तीमगरजस्तै माण्डवी गाउँपालिका–५ का ९४ किसानले छ सय ५० रोपनीभन्दा बढीमा यस वर्ष चैतेधान लगाएका छन् । कतिपय किसानले भित्र्याइसकेका छन्भने कोही भित्र्याउने तयारीमा छन् । धान भित्र्याएका खेतमा बर्खेधान रोप्न बीउ तयार भइसकेको छ ।

जिल्लामा प्युठान नगरपालिकाको झिमरुक फाँट, ऐरावती गाउँपालिकाको गोठिवाङ, सरङबेँसी, डाबरा फाँट, माण्डवी गाउँपालिकाको रुद्रपुर फाँट, मल्लरानी गाउँपालिका छापेखोलाका फाँट र स्वर्गद्धारी नगरपालिका केही स्थानमा चैतेधान हुँदै आएको छ ।

धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्युठानले चैते धानखेतीको प्रवर्द्धन गर्दै आएको छ । जसले गर्दा यसअघि चैतेधान लगाएका किसानले निरन्तर धानखेती गर्दै आएका छन् ।

चैते धान रोप्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान, कुलो निर्माणमा ८५ प्रतिशत, मलमा ५० प्रतिशत र विषादी र प्राविधिक सहयोगमा नि:शुल्क प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उपलब्ध गराएको छ । किसानलाई जमिन बाँझो नराख्न प्रोत्साहन गरी उत्पादनमा जोड दिइएको परियोजनाप्रमुख चुमान गिरीले बताउनुभयो ।

गत वर्ष एक हजार तीन सय ५० रोपनीमा चैतेधान लगाइएको थियोभने यो वर्ष दुई हजार छ सय रोपनीमा खेती भएको छ । परियोजनाप्रमुख गिरीका अनुसार जिल्लामा परम्परागत रूपमा धेरै फाँटमा चैतेधान रोपिए पनि पछिल्लो समय यो चार सय रोपनीमा सीमित थियो ।

प्युठानको २२ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये छ हजार पाँच सय ७५ हेक्टरमा धानखेती हुँदै आएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा २१ हजार नौ सय ६७ मेट्रिक टन धान उत्पादन भएको थियो ।