• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo

सरकारले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी काम गर्छः काँग्रेस प्रवक्ता महत



काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी सरकारले काम गर्ने बताउनु भएको छ ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुमाझ उहाँले सो कुरा बताउनुभएको हो । प्रवक्ता महतले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने संकल्प दुई ठूला दल नेतृत्वको सरकारले लिएकाले त्यसमा सफल हुने दाबी समेत गर्नुभयो । उहाँले सरकार बनेलगत्तै निजी क्षेत्रको आत्माविश्वास बढेको संकेत देखिएको थालेको जिकीर गर्दै पार्टी र व्यक्तिभन्दा माथि उठेर सरकारले काम गर्नुपर्ने बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘यो सरकार बनेको नै काम गर्नका लागि हो । अहिलेसम्म जति पनि परीक्षण भयो । त्यसले अस्थिरता झनझन थप्यो । त्यसो हुनाले देशका सबभन्दा ठूलो दलहरु दुई वटा दल र अरु दलहरुससमेत सम्मिलित यो सरकार बनेको छ । यो दुई वटा दलको जुन अनुभव छ । लोकतन्त्रप्रतिको प्रतिवद्धता छ । र जतिपनि लोकतान्त्रिक आन्दोलन भएका छन । ती आन्दोलनको नेतृत्व गरेको छ । त्यस अर्थमा अहिले नेपाली जनताले काँग्रेस र एमाले मिलिसकेपछि देशमा गुणात्मक अन्तर आउँछ । स्थायित्व आउँछ । र अर्थतन्त्र चलायमान हुन्छ ।निजी क्षेत्रको आत्माविश्वास बढछ भन्ने संकेतहरु पनि देखिन थालेका छन । त्यस अर्थमा मलाई लाग्छ यो सरकार सफल हुन्छ ।

यद्यपि चुनौति छैन भन्ने होइन । चुनौति धेरै छन । त्यसका लागि मेहनत गर्नु पर्छ । र एउटा समन्वयका साथ काम गर्नुपर्छ । र गत समयका कमीकमजोरीहरुबाट सिक्नु पनि पर्छ । त्यो भयो भने यसले परिणाम दिन सक्छ । र नेपाली जनताले जुन आशा अहिले गरेका छन कि यो दुई दल मिलेर बनेको सरकारले डेलिभरी गर्छ भनेर जुन आशा गरेका छन । त्यो आशा विश्वासमा परिणत हुन्छ । त्यसका लागि मेहनत गर्नु पर्छ । अनेष्टली हामीले काम गर्नुपर्छ । र सुशासनका लागि हामी पूर्ण रुपमा कृत संकल्पित हुनुपर्छ भन्ने मलाई लाग्छ ।

विपक्षमा बसेका दलहरुको पनि सकारात्मक सुझावलाई हामीले ग्रहण गर्नुपर्छ । जनताका लागि हामीले काम गर्नु पर्छ देश र जनताभन्दा अरु ठूलो छैन । सरकारले पार्टी र व्यक्तिभन्दा माथि उठेर काम गर्नुपर्छ ।’

प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सबै दलको सकारात्मक सुझावलाई ग्रहण गरेर अघि बढने बताउनु भयो ।