१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

कस्तो बाटो देखाए बिपीले, हामी कहाँ हिँड्यौँ ?

कस्तो बाटो देखाए बिपीले, हामी कहाँ हिँड्यौँ ?
अ अ+ अ-

काठमाडौँ । प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले ‘देशद्रोह’को बिल्ला भिराएर त्यो बेला धेरै योद्धाहरूलाई देश निकाला गरेका थिए । तीमध्ये एक थियो कृष्णप्रसाद कोइरालाको परिवार । माता दिब्या कोइरालाको त्यही ‘प्रवासी’ कोखमा १९७१ भदौ २४ गते जन्मिएको एउटा जीवन थियो– नेपालको समाजवादी आन्दोलनको एउटा अजर वृक्ष अर्थात् विशेश्वरप्रसाद (बिपी) कोइराला ।

साहित्यमा लेखिएको एउटा युगान्तकारी त्यही नाम थियो बिपी, जो नेपाली राजनीतिक इतिहासका पानाहरूमा उत्तिकै अजर अनि अमर छ । आधुनिक नेपालको नेतृत्वकर्ता अर्थात् उनै राजनेता बिपीको भौतिक शरीर आजकै दिन ४२ वर्षअघि अस्ताएको थियो यो धर्तीबाट । नेपाली राजनीतिको त्यो एउटा यस्तो दियो थियो, जो निभेर पनि त्यसको उज्यालो सधैँ नै उत्तिकै चम्किलो रहिरहनेछ । एक जुगमा एकचोटि मात्रै जन्मिन्छन् यस्ता ‘महामानव’हरू जो इतिहासका हरेक पानाहरूका परिपूरक भइरहन्छन्, बिपी नेपाली समाजको एउटा त्यस्तै बिम्ब हो, जो कहिल्यै मेटिँदैन ।

ब्रिटिस शासनको पिँजडाभित्र थुनिएको भारत स्वतन्त्र हुनका लागि आन्दोलनको पखेटा फिजाइरहेको थियो । त्यो समयमा भारतीय भूमिमै जन्मिएका बिपीको लालनपालन र शिक्षादीक्षा भारतमै भयो । त्यो भनेको विश्वव्यापीरुपमा प्रजातान्त्रिक आन्दोलनको लहर चलेको युग थियो । यसकारण बिपी आफैँमा त्यो युगको हुरीमा जन्मिएका पात्र हुनुहुन्थ्यो । कलिलै उमेरमा राजनीति र प्रजातन्त्रसँग पौँठेजोरी कसेका बिपीले नेपालमा पनि समाजवादको एउटा यस्तो मार्गचित्र कोर्नुभयो जो अहिलेको राजनीतिक बाटो पनि बनेको छ । यस हिसाबले बिपी एक युगको मात्रै होइन, युगौँयुग द्रष्टा पनि हुनुहुन्छ, जसको त्यो समयको राजनीतिक दृष्टि आजको बाटो बनेको छ ।

एक सय चारवर्षे राणाशासनको अन्त्यपछि पहिलोपटक २०१५ सालमा निर्वाचन भयो । राजनीतिक इतिहासमा नेपालमा भएको यो पहिलो आमचुनाव थियो । यही चुनावमा बहुमत ल्याएर बिपी देशकै पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभयो तर सत्तामा हर्ताकर्ता हुन नपाएको दरबारका आँखा लागे र दुई वर्ष पनि नपुग्दै जननिर्वाचित सरकार अदस्त गरेर दरबार आफैँ कार्यकारी हुन खोजियोे । राणा शासन अन्त्यका लागि बलिदान दिएका जनताका अधिकारमाथि फेरि राजा महेन्द्रले लोभीपापी आँखा लगाए । २०१७ पुस १ गते महेन्द्रले जनताका सारा मौलिक अधिकार खोसेर आफैँ कार्यकारी भएर देशको शासनसत्ता चलाउन थाले । जनताले निर्वाचित गरेका बिपीहरूलाई धमाधम जेल हाल्न थाले । देश बनाउने बिपीको हुटहुटी र त्यो सपनामाथि राजा महेन्द्रले तुषारापात गरिदिए । पहिलोपटक जननिर्वाचित प्रधानमन्त्रीले आफैँले लडेर ल्याएको प्रजातान्त्रको पूर्ण अभ्यास गर्नै पाउनु भएन ।

राजनीतिक जीवनका करिब १५ वर्ष बिपीले जेलमै बिताउनुभयो । त्यसबीचका करिब आठ वर्षजति उहाँको जीवन निर्वासित रह्यो भने चार वर्ष भारतका जेलमा कोचिनुपर्‍यो । देशनिकाला भएको कोइराला परिवार प्रवासमै रहँदा जन्मिएका बिपी कोइरालाले २००७ देखि २०१७ सालसम्म १० वर्ष र २०३३ देखि २०३९ सालसम्मको छ वर्ष गरी जम्मा १६ वर्षमात्रै देशभित्र खुल्ला जीवन बिताउन पाउनुभयो । जेल होस् या निर्वासन बिपीले हरपल राजनीतिक जीवन नै बाँच्नुभयो । राजनीतिकै लागि लड्नुभयो । जनताका अधिकारका लागि शासकसँग जीवनभरि लडिरहनुभयो ।

झन्डै १८ महिने उहाँको प्रधानमन्त्रीत्वकाल प्रजातन्त्रका लागि स्वर्णकाल पनि थियो । २००७ सालको क्रान्तिपछि नेपाली कांग्रेसलले अभ्यास गरेको यो छोटो सत्ताभ्यास थियो । देशको आधुनिकीकरण अनि विकासको एउटा प्रस्थानविन्दु मात्रै थिएन, बरु त्यो प्रस्ट दृष्टिकोण र दूरदृष्टिपूर्ण राजनीतिको एउटा सुरुआत पनि थियो । जहाँ समाजवादको मौलिकीकरण अनि सिद्धान्तको राजनीतिको गर्भरचना थियो । त्यो नै बिपी चिनाउने एउटा बिम्ब बनेको छ नेपाली राजनीतिमा । देशको कार्यकारी नेतृत्वकर्ता भएर उहाँले नेतृत्व गर्नुभएको करिब १८ महिनामै पनि देशको एउटा भविष्यरेखा कोरिएको थियो । बिपीले छोडेका तिनै पदचापहरूको बिजारोपण हो– नेपाली कांग्रेस ।

त्यो बेला नेपाली कांग्रेसले अख्तियार गरेका धेरै नीतिहरू कांग्रेसको गर्भसिद्धान्त अर्थात् समाजवादी दर्शनकै बिम्बहरू थिए । त्यसअघि वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैटौँ महाधिवेशनले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई पार्टीको मूल सिद्धान्तका रुपमा प्राणप्रतिष्ठा गरेको थियो । यही महाधिवेशनमा बिपीले प्रस्तुत गरेको समाजवादी समाज निर्माणका लागि राष्ट्रिय योजना समिति निर्माण गर्नेलगायत विभिन्न १८ वटा प्रस्ताव पारित गरेको थियो । बिपीले त्यो महाधिवेशनमा प्रस्तुत गरेको ‘समाजवादी’ घोषणापत्र पढेपछि तत्कालीन सभापति सुवर्णसमशेरले ‘हामीले समाजवादी व्यवस्था मात्र नेपालको बाटो हुनसक्दछ भनी आफ्नो लक्ष्य बनाएका छौंँ । समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न सङ्कल्प गरेका छौँ’ भनेर कार्यकर्ताहरूलाई सुनाउनुभएको थियो ।  यसैको जगमा अहिले पनि नेपाली कांग्रेस बाँचिरहेको छ । बिपीलाई आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त हो र यो प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो । बिपीको यही दृढता आज नेपाली राजनीतिको एउटा मार्गसिद्धान्त बनेको छ ।

कुनै बेला कम्युनिष्टहरूको विश्वव्यापीरुपमै जगजगी थियो । कम्युनिष्टहरूले जन्माएको गर्भनारा ‘साम्यवाद’को अभीष्टले एकप्रकारले भन्ने हो भने विश्वभरि नै उथलपुथल थियो । कम्युनिष्ट आन्दोलनले नेपाललाई पनि नछोएको होइन तर बिपीको ‘मेलमिलाप’को सिद्धान्तले ती सबैलाई एउटै मालामा गोलबद्ध गरिदियो । त्यसबाट नेपालको कम्युनिष्ट आन्दोलन पनि जडसूत्रवादी अर्थात् रूढीवादी हुन पाएन । बिपीको त्यही दर्शन हो आजका कम्युनिष्टले अपनाएको ‘समाजवादी’ बाटो । तर समाजवादको त्यही गर्भसिद्धान्तबाट जन्मिएको नेपाली कांग्रेसले आज हिँडिरहेको बाटोले कहाँ पुर्‍याउने हो स्वयं आजका अधिकांश कांग्रेसी नेताहरुलाई पनि कुनै भेउ छैन ।

त्यतिबेला बिपीले भन्नुभए जस्तै आजको नेपाली समाजलाई समृद्धिको लक्ष्यसम्म पुर्‍याउनका लागि नेपाली कांग्रेसले नै ‘समाजवादी’ आन्दोलनको नेतृत्व गर्नैपर्छ तर त्यसका लागि कांग्रेसको नेतृत्व आफैँमा कस्तो छ भन्ने प्रश्न रहन्छ । बिपीका नारा र समाजवादको मन्त्र पढेर अनि कोरा अक्षरहरूमा बिपीको नाम पुकारेर उहाँले देख्नुभएको सपना र उहाँले हाम्रो काँधमाथि छोडेर जानुभएको लक्ष्यको भारीलाई हामीले गन्तव्यसम्म कहिल्यै पुर्‍याउन सक्दैनौँ ।

हरेक मान्छे आफैँमा पूर्ण हुन सक्दैन । त्यो कतै न कतै अपूर्ण रहन्छ । सबै सपनाहरू पूरा पनि हुँदैनन् । सबै लक्ष्यहरू पछ्याएर पनि गन्तव्यमा पुगी नै हालिन्छ भन्ने होइन तर हामीले पछ्याएका लक्ष्यहरू डग्मगाउनु हुँदैन । हामीले चालेका पाइलाहरू लर्खराउनु हुँदैन । बिपी व्यक्तिभन्दा बढी विचार हो । विचारभन्दा पनि अग्लो उहाँको समाजवादी आन्दोलन र सपना हो । हाम्रा पदचापहरूले अब ती आन्दोलन र सपनाका पाइलाहरू पछ्याउनुपर्छ । उहाँको विचार वरिपरि हामीले जुन राजनीति गरिरहेका छौँ जस्तो बाटो रोजिरहेका छौँ वा जस्तो संसार र समाजको परिकल्पना गरिरहेका छौँ मात्रै उहाँले छोड्नुभएका केही पदचाप मात्रै नछोड्ने हो भने हामी त्यो लक्ष्यमा पुग्नसक्छौँ । त्यसका लागि बाटो देखाउने कर्ताचाहिँ गतिलो हुनैपर्छ । मात्रै वर्षका दुई दिन बिपीका तस्बिरहरू फूलमालाले ढाक्दैमा वा अबिर खन्याउँदैमा बिपीका सच्चा अनुयायी बन्न सकिँदैन ।

आज हामी बिपीलाई नानाथरी उपमाहरू दिएर  सम्झिरहेका छौँ । उहाँलाई गाली पनि गरिरहेका हुन्छौँ तर सच्चा दिल र दिमागबाट बिपीलाई कहिल्यै हटाउन सक्दैनौँ खासगरी उहाँको लक्ष्यलाई पछ्याउने र उहाँको आदर्शलाई अनुशरण गर्ने कम्तीमा एउटा राजनीतिज्ञले । उहाँलाई हामी ‘महामानव’ पनि भन्छौँ । कतिले त उहाँलाई भगवान् नै मान्छन् तर उहाँ एक मानव नै हो । तर मानव जातिलाई आफ्नो जीवनको मार्गदर्शन गर्ने एक महामानव । उहाँ एक मानव हो तर अनेक प्रतिभा र क्षमता भएको, जसका प्रतिभा र क्षमतालाई आजको एउटा सामान्य मान्छेले कहिल्यै भेट्न र मेट्न पनि सक्दैन ।

बिपीले बाँचेको एउटा युग बितिसकेको छ तर उहाँले त्यो युगमा देख्नुभएको त्यही एउटा राजनीतिक सपना आज पनि युगीन सपना बनेको छ । भोलि पनि बनिरहनेछ । मात्रै हामीले हामी हिँडिरहेका पाइलाहरू लर्खराएनौँ भने । बिपीले यो धर्ती छोड्नुभएको आज ४२ वर्ष पुगिसकेको छ । तथापि हामीलाई उहाँले छोडिजानुभएको कतिपय नीति, सिद्धान्त र आदर्शहरू युगौँयुगसम्म पनि हामीसँगै रहनेछन् । महामानव बिपीप्रति हार्दिक श्रद्धासुमन ।रासस