• १५ भाद्र २०८१, शनिबार
  •      Sat Aug 31 2024
  •   Unicode
Logo
Latest
★   समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : प्रवक्ता डा महत ★   कलङ्कीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा बसमा ठोक्किएर स्कुटर चालकको मृत्यु ★   महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति ★   अमेरिकामा सुरु भयो इन्ट्रा कप फुटबल ★   ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल ★   गुगलद्वारा ‘एआई इमेज जेनेरेशन मोडल’ अपडेट गरेको घोषणा ★   बौद्धमार्गीहरूले मनाए पञ्चदान पर्व ★   मुलुकमा विगतको जस्तो हिंसा हुन सम्भव छैन : प्रधानमन्त्री ★   साथीलाई ढुङ्गाले हानेर हत्या गरेको अभियोगमा ६५ वर्षीय वृद्ध पक्राउ ★   बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छः अर्थमन्त्री पौडेल

अम्बिका श्रेष्ठः पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व



काठमाडौँ । द्वारिकाज होटल पर्यटनको पर्यायवाची नाम हो । यही होटलको नेतृत्व सम्हाल्ने अम्बिका श्रेष्ठ पर्यटन क्षेत्रको उदाहरणीय प्रतिष्ठित नेतृत्व पनि । द्वारिकाज होटल नेपाली परम्परागत कला, संस्कृति र सभ्यताको अनुमपम उदाहरण पनि हो ।

स्वदेश मात्र नभई विश्व पर्यटन बजारमा कहलिएको प्रसिद्ध बुटिक होटलका रुपमा स्थापित द्वारिकालाई आजको अवस्थामा ल्याउन उक्त होटलकी संस्थापक अम्बिका श्रेष्ठको अतुलनीय योगदान रहेको छ । नेपालको पर्यटन उद्योग खासगरी ‘हस्पिटालिटी’ क्षेत्रका प्रतिष्ठित नेतृत्व श्रेष्ठ अब हामी माफ कहिल्यै नफर्कने गरी अस्ताएकी छन् । वरिष्ठ पर्यटन व्यवसायी श्रेष्ठको ९२ वर्षको उमेरमा आज दुःखद् निधन भएको हो ।

पर्यटन क्षेत्रको प्रेरणादयी व्यक्तित्व श्रेष्ठको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले बताउनुभयो । “उहाँ (अम्बिका श्रेष्ठ) नेपालको लागि सच्चा स्वयंसेवक हो, पर्यटनको मात्रै हैन कुनै पनि सामाजिक कार्यमा होस् या पर्यटनको बजारीकरण र प्रवर्द्धनका लागि उहाँ जतिको दक्खल व्यक्ति विरलै पाइन्छ”, उहाँले भन्नुभयो, “श्रेष्ठको निधनले पर्यटन क्षेत्रमा एक खालको ‘ग्याप’ रहन्छ । पछिल्लो पुस्ताले उहाँबाट धेरै कुरा सिकेको छ । उहाँको योगदानलाई पर्यटन क्षेत्रले जहिले पनि सम्झिरहने छ ।”

नेपाली कला, संस्कृतिलाई संवर्द्धन गर्दै व्यावसायिक रुपमा सफल एवं सुविधा सम्पन्न तारे होटल रिसोर्टहरुको सञ्चालन गर्ने स्व। श्रेष्ठले प्रारम्भ गर्नुभएको महिला उद्यमशिलताको विकास स्वदेशमा मात्र नभई विदेशमा प्रसंशित छ । उहाँ र उहाँको परिवारबाट प्रवर्द्धित हेरिटेज होटल तथा रिसोर्टले नेपालको चिनारी अन्तर्राष्ट्रिय जगतमा उल्लेखनीय रुपमा रहेको छ । नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही सम्बन्धित विभिन्न सङ्घ सङ्गठनमा प्रभावकारी नेतृत्व गर्नुहुने स्व श्रेष्ठको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियान्ता गुमाएको होटल सङ्घका अध्यक्ष विनायक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “द्वारिकाज होटल पाँचतारे ‘हेरिटेज’ होटल हो । देशको कला, संस्कृति र सभ्यताको समिश्रण गरेर व्यावसायिक रुपमा सुविधा सम्पन्न पाँचतारे होटल सञ्चालन गरेर विश्व पर्यटन बजारमा मानको रुपमा स्थापित गर्ने श्रेय अम्बिका श्रेष्ठलाई जान्छ, यसले देश र समाजलाई महत्वपूर्ण योगदान दिएको छ ।”

पर्यटन क्षेत्रका विभिन्न अगुवा सङ्गठनको नेतृत्वदायी भूमिकामा लामो समय काम गरेको अनुभवका साथै नेपाललाई विश्वभर पहिचान गर्न श्रेष्ठ र उहाँले नेतृत्व गरेको होटलको महत्त्वपूर्ण भूमिका रहेको छ । अध्यक्ष शाहले श्रेष्ठ भौतिक रुपमा नरहे पनि श्रेष्ठले पर्यटन क्षेत्रमा पुर्‍याएको योगदान सधैँ चीरस्मरण रहने बताउनुभयो ।

नयाँ पुस्ताको लागि प्रेरणादायी नेतृत्व स्व श्रेष्ठले नेपाल सम्पदा सङ्घमार्फत सम्पदा संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिनुभएको छ । पर्यटन क्षेत्रमा मात्रै नभई महिला उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तिकरणमा पनि श्रेष्ठको महत्त्वपूर्ण भूमिका रहेको छ ।

श्रेष्ठको निधनले मुलुकको समग्र पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगको र व्यावसायिक अभिभावक गुमेको पर्यटन व्यवसायीको बुझाइ छ । नेपाल आउने पर्यटक पाहुनालाई परम्परागत रैधाने खानाको परिकार पस्केर नेपालको आतिथ्य पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गर्नुभएको थियो । साथै नेपाल आउने विशिष्ट पाहुनाको रोजाई पनि द्वारिकाज होटल हुन्थ्यो ।

वैशाखी टेकेर पनि पर्यटनका हरेकजसो कार्यक्रममा सक्रिय सहभागि हुनुहुन्थ्यो । उहाँको उपस्थिति र ऊर्जाशील भनाइले उहाँ उद्यमीलाई उत्साह र उत्प्रेरणा जगाउने गरेको अनुभव सुनाउनुहुन्छ वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य । “अम्बिका श्रेष्ठ पर्यटनको लागि आइकोनिक लिटर हो, उहाँको निधनले पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “श्रेष्ठको व्यक्तित्व नै महिला सशक्तीकरण, पर्यटन उद्योगलगायतमा ख्याती कमाउनुभएको छ । बोलेरभन्दा पनि काम गरेर परिणाम देखाउने श्रेष्ठ पर्यटनको देवीको विम्बको रुपमा स्थापित हुनुहुन्छ । उहाँले हस्पिटालिटी सेवामार्फत गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन महत्त्वपूर्ण योगदान गर्नुभएको छ ।”

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको प्रेरणादायी व्यक्तित्व श्रेष्ठको निधनबाट पर्यटन क्षेत्रले अभिभावक गुमाएको बताउनुभयो । “श्रेष्ठको गुणस्तरीय पर्यटन, वातावरणमैत्री पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा अतुलनीय योगदान रहेको छ”, उहाँले भन्नुभयो, “श्रेष्ठ नयाँ पुस्ताका लागि ऊर्जाशील र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो । जीवनको उत्तरार्द्धमा पनि उहाँको उत्तीकै सक्रियता थियो ।”

विगत ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । भारतको सिक्किममा सन् १९३३ फेब्रुअरी १२ मा जन्मनुभएकी श्रेष्ठले पटना युनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातक सममको अध्ययन गर्नुभएको छ । नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौँ छिरेकी श्रेष्ठ श्रीमानको मृत्युपछि द्वारिकाज होटलको अध्यक्ष हुनुभयो ।

पछिल्लो समय उहाँकी जेठी छोरी सङ्गीता श्रेष्ठले होटलको तेतृत्व सम्हालिरहनुभएको छ । सफल महिला उद्यमीको रुपमा उहाँले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरेको छ । विभिन्न सामाजिक संस्थासँग आवद्ध हुनुहुन्छ ।

यसैबीच नेपाली पर्यटन क्षेत्रकी अग्रणी व्यक्तित्व श्रेष्ठको असामयिक निधनप्रति होटल सङ्घ नेपालले गहिरो दुःख प्रकट गर्दै स्व श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकूल परिवारजनमा समवेदन व्यक्त गरेको छ । रासस