• ११ भाद्र २०८१, मंगलवार
  •      Tue Aug 27 2024
  •   Unicode
Logo

एक महिनाभित्र अनिवार्य र नि:शुल्क शिक्षा ऐन कार्यान्वयनको खाका तयार पार्छौं: शिक्षामन्त्री भट्टराई



काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक महिनाभित्र अनिवार्य र नि:शुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने बताउनुभएको छ ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री भट्टराईले कार्ययोजनाको अभावमा सो ऐन कार्यान्वयनमा लैजाने काम नभएकाले आफूले त्यसको कार्यान्वयनका लागि कम्तिमा एक महिनाभित्र कार्ययोजना तय गरेर अघि बढ्ने बताउनु भएको भयो । उहाँले सो ऐन कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि आफूले छलफल गरेर अघि बढ्ने बताउनु भयो । विद्यालय शिक्षा ऐनसँग पनि सो ऐनलाई म्याचिङ गरेर अघि बढाउने मन्त्री भट्टराईको योजना छ । उहाँले शिक्षा प्रणालीमा पुनर्विचार गरेर त्यसलाई नतिजामुखि बनाउने काममा पनि आफू लागिपर्ने बताउनु भयो । मन्त्री भट्टराईले एसईईको पूरक परीक्षाको व्यवस्थापनको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रो ऐनको व्यवस्था अनुसार मन्त्रालयले कसरी काम गर्ने भन्ने कुरामा हामीले कार्ययोजना  बनाएर अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । आज हामीसँग भएको अघि पनि भनियो–अनिवार्य र नि:शुल्क शिक्षा ऐन छ । मैले हिजो मन्त्रालयमा छलफल गर्दा पनि भने–यो ऐनलाई कसरी कार्यान्वयन गर्ने रु भन्ने कुराको खाका अब मन्त्रालयले बनाउनु पर्छ । मन्त्रालयले त्यो बनाएर अगाडि जानुपर्छ । हामीले ऐन बनिरहेको सन्दर्भमा त्यसलाई कसरी म्याचिङ गरेर लैजाने विद्यालय शिक्षा ऐन हामी बनाउँदैछौं । विद्यालय शिक्षा ऐन बनाउँदा यो ऐनलाई कसरी म्याचिङ गरेर जाने भन्ने कुरामा पनि हामीले छलफल गर्नुपर्छ भन्ने लाग्छ । अनिवार्य र निशुल्क शिक्षा ऐनको एउटा भावलाई हामीले कार्य प्रारम्भ गर्दा कसरी शुरु गर्ने भन्ने बारेमा पनि हामी छलफल प्रारम्भ गर्दैछौं ।

त्यसलाई कार्यान्वयन गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग पनि हामी छलफल गर्छांै । र एउटा कम्तिमा १ महिना भित्र हामीले एउटा खाका दिनुपर्छ भन्ने कुरा सोचेका छौं । दोस्रो कुरा, आज पनि एसईईको कुरा महत्वपूर्ण रुपमा उठेको छ । किनकी नतिजासँग उठेको विषय हो । मलाई के लाग्छ भन्दा एसईईको नतिजा भनेको हाम्रो प्रारम्भदेखिको नै निरन्तरता हो भन्ने लाग्छ । हामीले १ देखि ५ सम्म कसरी पढायौं, ६ देखि ८ सम्म कसरी पढायौं र प्रारम्भिक बालविकास शिक्षालाई कतिसम्म मजबुत गरेका छौ रु अनि हाम्रो शिक्षण सिकाई हुने खालको छ रु त्यसको नतिजा हो भनेर मैले हिजो संसदमा पनि बोलेको छु । ओभरल आजको हाम्रो शिक्षा प्रणाली छ । त्यसलाई हामीले रिभ्यु गर्न जरुरी छ । त्यसका लागि मैले पाठयक्रम विकास केन्द्र, परीक्षा बोर्ड र मन्त्रालयको टिमसँग पनि छलफल गरेको छु । १५ दिन भित्र नतिजा आउनेगरी अगाडि बढनेछौं । एसर्ईईको पूरक परीक्षाको व्यवस्थापन हाम्रो पहिलो प्राथमिकताको काम हुनेछ ।’

मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सांसदहरुले दिएको सुझावलाई आफूले ग्रहण गरेर अघि बढ्ने बताउनु भयो । उहाँले विद्यालय शिक्षा विधेयकसम्बन्धि छलफललाई समय सीमा तोकेर अघि बढाउन पनि संसदीय समितिलाई आग्रह गर्नुभयो ।