• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस् ★   द्रविडले कोहलीलाई साथ दिँदै भने – उनको ब्याटबाट ठूलो इनिङ्स आउन बाँकी छ ★   विश्वकप फाइनलमा भारतको जितको कामना गर्दै गंगा आरति ★   ‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ ★   मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन ★   मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्: सांसद झा ★   विराट कोहलीका लागि यो विश्वकप अहिलेसम्मकै ‘झुर’ ★   ‘कल्की २८९८ एडी’ले पहिलो दिनमै कमायो १९० करोड ★   मनसुनजन्य विपद् प्रतिकार्य: यस्तो छ सरकारको तयारी ★   तीन करोड भन्दा कमका योजनाहरुमा थप बजेट विनियोजन गरियोस्: सांसद दाहाल

ढुङ्गेधारा छ, पानी छैन



काठमाडौँ । भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गेधारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपनाजस्तै लाग्छ । उमेरले ७५ नाघेकी राजमाया भन्नुहुन्छ, “धारामा चौबिसै घण्टा सफा पानी आउँथ्यो । धारामै थापेर पिउँथ्यौँ । अहिले त त्यस्ता ढुङ्गेधारा नै छैनन्, भएकामा पनि पानी झर्दैन । त्यसैले यो विगत सम्झँदा अहिलेको पुस्ताले त एकादेशको कथा जस्तै भन्न थालिसकेको छ ।”

त्यसो त पहिला पहिला अहिलेजस्तो घरघरमा पानीका धाराको सुविधा पनि थिएन । गाउँगाउँ र टोलटोलमा ढुङ्गेधारा थिए र त्यहीँबाट पानीको गुजारा गर्नुपथ्र्यो । सफा र स्वस्थ पानीको खाँचो हुँदैनथ्यो । राजमाया भन्नुहुन्छ, “मैले देखेका कैयौँ ढुङ्गेधारा सुकिसके । ती धाराको बयान अहिले गर्दा कोही पत्याउँदैन ।”

लोकन्थलीकै हरिबहादुर हेक्काको टोलमा ढुङ्गेधारा त छ तर पानी आउन भने छोडिसकेको छ । “पहिले धाराको पानीले पुगेपछि बगेर जाने गथ्र्यो । खेतीमै त्यही पानी लगाउँथ्यौँ । हामी त्यहीँको पानी पिएर हुर्केका हौँ,” उहाँ भन्नुहुन्छ, “अहिले भएका धारा पनि सुके, धेरै त विकासका नाममा विनाशै भए । भत्काइदिएका धारा बनाउन अनुरोध गरेका छौँ, खोइ के बनाउलान् ।”

हिजोआज पनि पहिलेकै जस्ता ढुुङ्गेधारा र तिनमा कलकल बगेको पानी हेर्न मन छ उहाँहरुलाई तर अब कहाँ पाउनु रु उहाँहरु दुवै जनालाई लाग्छ कहिलेकाहीँ त कृत्रिम रुपमै भए पनि कतै पानीको व्यवस्था गरेर ढुङ्गेधारामा पानी बगिरहेको हेर्न मन लागेको छ । यसका लागि स्थानीय नागरिकहरु र स्थानीय तहसँग उहाँहरुले माग पनि गरिरहनुभएको सुनाउनुहुन्छ ।

गत जेठ ३० गते मात्रै उपत्यकाका नेवार जातिले सिथि नख: पर्व मनाउनु भएको छ  । इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले यो पर्वमा इनार, कुवा, पोखरी, ढुङ्गेधारालगायत पानीका स्रोतहरुको सफा गरेमा वर्षायाममा मूल फुटेर पानी आउने मान्याता रहेको बताउनुभयो । उहाँका अनुसार ढुङ्गेधारा, इनार, कुवा, पोखरी सुकिसकेको भए पनि वर्षामा पानी पलाओस् भनेर सफा गरिन्छ ।

ढुङ्गेधारा, पोखरी, तथा इनारामा पानी नभए पनि मनसुनमा मूल फुटेर आउँछ कि भन्ने अलिकति आशा मनमा अझै बाँकी राखेर पानी पर्खिरहेका छन्, उपत्यकावासीहरु । “सिथि नख:मा विशेषगरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोतवरपर सरसफाइ गर्दा वर्षाको समयमा बगेर आउने फोहोर पानी खानेपानीको मुहानमा मिसिएर दूषित नहोस् भनेर हिजो उपत्यकावासी नेवार समुदायले कुवा, पोखरी, इनार, धारा सफा राख्नुभएको छ,” उहाँले भन्नुभयो, “हिँउदमा सुक्खा कारण सुकेको र थुनिएको पानीको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नख:को दिन पानीको मूल सफाइ गर्ने परम्परा वर्षौंदेखि रहँदै आएको हो ।”

श्रेष्ठका अनुसार सिथि नख: महादेव पार्वतीका जेठ सुपुत्र कुमारको जन्म दिन भएकाले कुमारको पूजाआराधना गर्नाले वर्षातको समयमा धान रोप्न पानी आउने, शरीरमा बल र शक्ति प्राप्त हुने विश्वासका साथ यो पर्व मनाउने चलन छ । उहाँले लिच्छवीकाल, मल्लकालदेखि नै कुलो तथा अन्य पानीकोे स्रोतहरु सफा राख्नुपर्ने मान्यता रहिआएको जानकारी दिनुभएको छ ।

ललिपुरस्थित ठेचोका रत्न मालीले पनि सिथि नख:का अवसरमा धारा, कुवा, इनार, पोखरी सफा गर्नुभयो । “हामी सानो छँदा जुन धाराको पानी खाएर हुर्कियौँ, जुन धारामा नुहायाँै, जुन पोखरीमा पौडी खेल्याँै,” उहाँले भन्नुभयो, “तर आज ती कुराहरु कथाजस्तै लाग्दोरहेछ, धेरैजसो त सुकी नै सके तर वर्षातमा मूल फुट्ला भन्ने मान्यताका साथ हामीले हिजो सिथि नख: मनायौँ ।”

यसैगरी, ललितपुर जिल्ला गोदावारी नगरपालिकाका–१२ का प्रशान्त मालीलाई पनि पोखरीमा पौडी खेलेर, इनारकै पानी निकाले नुहाएको यादहरु ताजै छन् तर ती पोखरीमा पानी छैन । उहाँले नुहाउनु भएको ढुङ्गेधारा छ, पानी छैन । “आमाबुबाले ढुङ्गेधाराबाट पानी ल्याउने गर्नुहुन्थ्यो तर अहिले धारा छ पानी छैन,” उहाँले भन्नुभयो ।

मनसुन नेपालको पूर्वी क्षेत्रमा भित्रिसकेको छ । सक्रिय हुन भने बाँकी नै छ । पानी पर्न सुरु भएसँगै पलाउलान् त उपत्यकाका सुकिसकेका ती ढुङ्गेधाराहरु रु पछिल्लो समयमा स्थानीय तहहरुले ढुङ्गेधाराको संरक्षण र संवद्र्धन गर्दै पुरानै अवस्थामा फर्काउने प्रयास गर्दै छन् तर ती प्रयासहरु कति सफल हुन्छन्, कति असफल हुन्छन् त्यो भने हेर्न बाँकी नै छ ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सुक्खायामसँगै जमिनमुनिको पानीको सतह घटिरहेको तथा ढुङ्गेधारा सुकिरहेको भन्दै यसको संरक्षण र संवद्र्धन गर्ने नीतिलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । “ढुङ्गेधारा, इनार, पोखरी तथा अन्य सम्पदाहरुलाई पुरानै शैलीमा फर्काउने गरी काम भइरहेको छ, परम्परागत शैलीबाट नै निर्माण गर्नका लागि हामीले भक्तपुरबाट जनशक्ति झिकाएका छाँै,” उहाँले भन्नुभयो, “आधुनिक विकाससँगै ढुङ्गेधाराहरु सुक्न थालेपछि जगेर्नाका लागि काम भइरहेको छ ।”

काठमाडौँ महानगरपालिकाका सहप्रवक्ता दीपक अधिकारीले पनि काठमाडौँमा परम्परागत शैलीका कुवा, पोखरी, ढुङ्गेधारा इनारहरु सङ्कटमा पर्दै गइरहेको भन्दै तिनको संरक्षणका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । अलान फाउन्डेसनले गरेको अध्ययनअनुसार काठमाडौँ महानगरपालिकामा रहेका ढुङ्गेधारामध्ये ६० प्रतिशतमा पानी नै आउँदैन । महानगरभित्रका एक सय ५४ ढुङ्गेधारामध्ये ६१ वटामा मात्र पानी आउँछ भने ५० वटामा कहिल्यै पानी नआउने, १० वटा सङ्कटमा परेका ९लोप हुन लागेको अवस्थामा०, २१ वटा हराएका र १२ वटा फेला नपरेको समस्या रहेको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम रानाले उपत्यकामा मेलम्ची खानेपानी आयोजना आएपछि फेरि पानी आउन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार जमिनमुनिको पानीको सतह कम हुँदै गइरहेकाले र भौतिक संरचना निर्माणका कारण ढुङ्गेधारा सुक्दै गएको तथा केही ढुङ्गेधाराहरुलाई पुरानै अवस्थामा ल्याउन नसकिने र केही ढुङ्गेधारामा भने पानी फेरि आउने बनाउन सकिन्छ ।

बोर्डका अनुसार उपत्यकामा रहेका आठ सय ३७ ओटा ढुङ्गेधारामध्ये एक सय १७ ओटा ढुङ्गेधारा लोप भइसकेका छन्  । सञ्चालनमा रहेका सात सय २० मध्ये तीन सय २० ढुङ्गेधारा सुकिसकेका छन् । कतिपय ढुङ्गेधारालाई जीवन्त बनाउन पानीको स्रोत खन्नुपर्ने र त्यसो गर्दा झन् पानीको स्रोतहरु हराउने खतरा रहेको रानाको भनाइ छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिडेटका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा विशेषगरी सुक्खायाममा सहतमुनिको पानी सुक्दा आपूर्ति व्यवस्थापनमा चुनौती रहेको बताउनुभएको छ । “मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट यो सुक्खायाममा नौ करोड लिटर दैनिक उपभोक्तालाई खानेपानी वितरण हुन्छ, त्योमध्ये ४० प्रतिशत भूमिगत पानीले नै निर्भर गर्छ,” उहाँले भन्नुभयो, “तर भूमिगत पानी कम हुँदै गएकाले माग बढी र आपूर्ति कम भइरहेको छ ।” उहाँले मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेसँगै खानेपानीको वैकल्पिक स्रोतहरुको समेत खोजी गर्नुपर्ने बताउनुभएको छ । “काठमाडौँमा दैनिक ४३ करोड खानेपानी आवश्यक छ, आवश्यकताअनुसार पानी आपूर्ति गर्न सकिएको छैन,” राईले भन्नुभयो ।

भू–गर्भविद् डा सुवोध ढकाल उपत्यका बढ्दो जनसङ्ख्यासँगै जमिनमुनिको पानीको बढी आपूर्ति हुने, भौतिक पूर्वाधारहरुको विकासका कारण सहतमुनि पानीको रिजार्ज नहुनेलगायत कारण सहतमुनिको पानी घट्दै गएको जानकारी दिनुभयो । “भण्डारमा पानी छैन तर पानी निकाल्न नमिल्ने अवस्थामा पनि  निकालिरहेको छ, जतासुकै घरैघर र सडकका कारण आकाशबाट परेको पानी बगेर जान्छ तर जमिनमुनि छिर्दैन,” उहाँले भन्नुभयो, “अव्यवस्थित सहरीकरणका कारण पनि मुख्य समस्या भइरहेको छ र जलवायु परिवर्तनको कारण पनि सुक्खा बढिरहेकाले जमिनमुनिको पानीको सतह घटिरहेको छ ।”

जमिनमुनिको पानीको संरक्षणका लागि अनुसन्धानबाट समस्या पहिल्याउने र समाधानका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ । ढकालका अनुसार कृत्रिम पुनर्भरण प्रक्रिया अगाडि बढाउनुपर्ने छ । “सुकेका पोखरीमा पानी जम्मा गर्न सकियो भने पनि पुनर्भरण प्रक्रिया अगाडि बढाउन सहज हुनेछ,” उहाँले भन्नुभयो, “उपत्यकामा खानेपानीको स्रोत सुक्दै जाने समस्या समाधानका लागि ठूलो परियोजना र लागत आवश्यक छ ।”

भूमिगत जलस्रोत व्यवस्थापन नीति, २०६९ मा भूमिगत पानीको व्यवस्थापनसम्बन्धी  दीर्घकालीन सोच  लिइएको छ । नीतिमा पर्याप्त र गुणस्तरीय खानेपानीमा सबैको सहज, सरल र समान पहुँच सुनिश्चित गर्न र दिगो उपयोगमा टेवा पुर्‍याउनका लागि काठमाडौँ उपत्यकाभित्रको भूमिगत जलस्रोतको प्रभावकारी व्यवस्थापन गरिनेछ उल्लेख छ । यसैगरी काठमाडौँ उपत्यकाभित्रको भूमिगत जलस्रोतको प्रभावकारी व्यवस्थापनमार्फत भूमिगत पानीको माग र यसको उपलब्धताबीच समुचित समन्वय कायम गरी भूमिगत जलस्रोत भण्डारणबाट पानी आपूर्ति गर्ने क्षमतामा हस आउन नदिने उल्लेख छ ।

यसैगरी काठमाडौँ उपत्यकाको भूमिगत जलस्रोतको दिगो रुपमा संरक्षण, उपयोग र व्यवस्थापन गर्ने, काठमाडौँ उपत्यकाको भूमिगत जलस्रोत भण्डारमा पानी पुनर्भरणको आवश्यक व्यवस्था मिलाउने, प्रदूषण नियन्त्रण गरी भूमिगत जलस्रोतको गुणस्तर कायम राख्ने नीतिको उद्देश्य रहेको छ ।

काठमाडौँ उपत्यकामा नियमित, व्यवस्थित र प्रभावकारी रुपले खानेपानी सेवा सञ्चालन गर्न गराउन सहयोग पुर्‍याउने,  खानेपानी तथा घरायसी प्रयोगमा आउने पानीमा सबैको सहज, सरल र समान पहुँच सुनिश्चित गर्नेतर्फ सहयोग पुर्‍याउने नीतिको लक्ष्य छ । उपत्यकाको भूमिगत जलस्रोतमाथिको अधिक निर्भरता क्रमश: घटाउँदै लगिने, काठमाडौँ उपत्यकाको भूमिगत जलस्रोतको उपयोगलाई व्यावसायिक र गैरव्यावसायिक वर्गमा वर्गीकरण गरी सोही अनुरुप व्यवस्थापन गरिने नीतिमा उल्लेख छ ।

भूमिगत जलस्रोतलाई माथिल्लो सतहमा रहेको भूमिगत पानी  र तल्लो सतहमा रहेको भूमिगत पानी गरी दुई तहमा वर्गीकरण गरी व्यवस्थापन गरिने समेत नीतिमा लक्ष्य राखिएको छ । उक्त नीतिअनुसार पानीको उपयोगलाई प्राथमिकीकरण गरी यसको उपयोगको प्रयोजन, विधि तथा उपलब्ध भण्डार क्षेत्रका आधारमा भूमिगत स्रोतबाट पानी निकाल्ने कार्यलाई चरणबद्ध रुपमा नियमन र नियन्त्रण गरी भूमिगत जलस्रोत भण्डारमा हस हुन नदिने गरी यसको दिगो उपयोगको व्यवस्था मिलाइनेछ ।

भूमिगत पानी व्यवस्थापनका लागि भौगोलिक सूचना प्रणाली स्थापना गरी प्रयोगमा ल्याइने,  भूमिगत जलस्रोतमा पानीको पुनर्भरण हुने क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रको संरक्षणका लागि आवश्यक कानुनको तर्जुमा गरिनेछ नीतिको लक्ष्य रहेको छ । नीतिका अनुसार पानीको पुनर्भरणमा नकारात्मक असर पार्ने क्रियाकलापहरुलाई नियन्त्रण र निषेध गर्न आवश्यक कानुन तर्जुमा गरिनेछ । भूमिगत जलस्रोत भण्डारमा नियमित रुपमा पानी पुनर्भरण हुने व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख गरिएको छ ।

यसैगरी राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०८० मा जलवायु परिवर्तनजस्ता प्राकृतिक तथा मानवजन्य कारणहरूले पानीका स्रोतहरूमा आएको हस तथा संरचनाहरूको क्षतिजस्ता कारणहरूले पानीको उपलब्धतामा कमी हुनु तथा सेवा अवरुद्ध हुन गई खानेपानी तथा सरसफाइ सेवालाई अपेक्षाकृत सुरक्षित भरपर्दो र दिगो बनाउन नसकिनु मुख्य समस्या रहेको उल्लेख छ ।

स्वच्छ र सुरक्षित खानेपानीको आपूर्ति व्यवस्था गर्न हास हुँदै गएका सतही र भूमिगत खानेपानीका स्रोतको जगेर्ना गर्नु, खानेपानी तथा सरसफाइका संरचनाहरूलाई जलवायु अनुकूल तथा विपद् व्यवस्थापनमैत्री बनाउँदै लैजानु, विपद् व्यवस्थापनलाई आन्तरिकीकरण गर्नु, अव्यवस्थित शहरीकरणका कारण खानेपानी तथा सरसफाइ सेवामा परेको चापलाई व्यवस्थित गर्नु, पर्याप्त लगानी जुटाउनेलगायत चुनौती रहेको नीतिमा उल्लेख छ । खानेपानीको स्रोत संरक्षण गरेर खानेपानी उपलब्ध गराउने नीतिको लक्ष्य रहेको छ । नेपालको संविधान, २०७२ ले स्वच्छ खानेपानीको पहुँचलाई मौलिक हकका रुपमा व्याख्या गरेको छ । रासस