• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन

मासिक ८२ हजारको जागिर छाडेर गुल्मीमा घाँसखेती गर्दै गोपाल



तम्घास । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उहाँ बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्नुहुन्छ । उहाँले भन्नुभयो, “अब घाँसखेतीबाटै जीविकोपार्जन गर्ने सोच बनाएको छु । २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेको छु ।

जग्गामा किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेको छु । रसियन कम्फे विशेषगरी बङ्गुर र कुखुराको आहाराका लागि प्रयोग हुने गर्दछ । अन्य घाँस पनि गाईभैँसीलाई फाइबर, प्रोटिन र भिटामिनयुक्त रहेका छन् । यसका कारण गाईभैँसीलाई दान कम दिएर पनि दूध बढी उत्पादन हुने गर्दछ । ”

गत वर्षदेखि बिरुवा बिक्री गर्न सुरु गर्नुभएका उहाँले हालसम्म रु १० लाख ५० हजारभन्दा बढीको बिरुवा बिक्री गर्नुभएको छ । उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा, बुटबल, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पोखरा, रुकुमपश्चिम, रोल्पा, दाङ, हेटौँडा, मोरङलगायत स्थानमा बिक्री हुने गर्दछ । अधिकांश बिरुवा उहाँले अनलाइन मागका आधारमा पठाउने गर्नुभएको छ । प्रतिबिरुवा रु दुईदेखि ५० सम्मका बिरुवा उहाँसँग छन् । अहिलेको वर्षायाममा बिक्री गर्नका लागि उहाँसँग रु ४० लाख बराबरका घाँसका बिरुवा रहेको छ । उहाँले गत वर्षभन्दा अहिले १० रोपनी जग्गामा थप घाँसखेती विस्तार गर्नुभएको छ ।

मासिक ८२ हजारको जागिर छाडेर आएँ

खत्रीले १३ वर्ष दुबईको कम्पनीमा काम गर्नुभयो । उहाँले भन्नुभयो “दुबईमा मेरो मासिक रु ८२ हजार आम्दानी हुन्थ्यो । प्रत्येक शुक्रबार र शनिबार विभिन्न ठाउँमा घाँसखेती र बाख्रापालन गरेको ठाउँमा घुम्न जान्थे । त्यही देखेर गाउँमा घाँसखेती गर्न मन लाग्यो ।”

रु सात लाखबाट सुरु गरेको घाँसखेती व्यवसाय अहिले झण्डै रु ४० लाखको भएको छ । अहिले घाँसका साथसाथै होलिस्टिन जातका तीन गाई र तीन भैँसी पनि पाल्नुभएको छ । साथै एक सय ३० वटा बाख्रा अट्ने खोर पनि निर्माण गर्नुभएको छ । अबको केही समयपछि बाख्रापालन गर्ने सोच बनाएको खत्रीले बताउनुभयो । “घाँसलाई मल चाहिन्छ, त्यो बाख्रा, गाईभैँसीबाट प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “गाईबाख्रालाई आवश्यक घाँस आफ्नै बारीमा उत्पादन हुन्छ ।”

व्यवसायका लागि उहाँले श्रीमतीका साथ पाइरहनुभएको छ । “विदेशको पैसाभन्दा यहाँको दु:ख धेरै प्यारो छ”, खत्रीले भन्नुभयो, “अब विदेश नजाने गरी व्यवसाय सुरु गरेको हुँ ।” उहाँले अन्य युवाहरूलाई स्वदेशमा प्रशस्त सम्भावना रहेको भन्दै गाउँमै कर्म गर्न सुझाव दिनुभयो ।

घाँखखेती गर्नका लागि उहाँले कतैबाट पनि अनुदान लिनुभएको छैन । “अनुदानले मानिसलाई परनिर्भर गराउँछ”, उहाँ भन्न्नुहुन्छ, “ सरकारले अनुदान बाँड्ने होइन, बजारीकरणमा सहयोग गर्ने हो ।” जग्गाको भाडामात्र वार्षिक रु एक लाख बुझाउने उहाँले प्रत्येक वर्ष एक हजार पाँच सयले रोजगार पाएको बताउनुभयो । मदाने –३ का वडाध्यक्ष चेतबहादुर सेनले आफूहरू खत्रीकोजस्तै व्यावसायिक किसानलाई प्रोत्साहन गर्न लागिपरेको बताउनुभयो । रासस