• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा

आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारको वार्ता सुरु



काठमाडौँ । ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको छ । आन्दोलनमा उत्रिएका चालकसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो ।

पेट्रोलियम ट्यांकर चालक संघको नेतृत्वमा भएको आन्दोलनका कारण काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारिएको छ ।

ट्यांकर चालक मजदुरको समस्या समाधान गर्न आयल निगम, उद्योग वाणिज्य मन्त्रालय र सम्बन्धित निकायलाई पटक–पटक आग्रह गरिए पनि बेवास्ता भएको भन्दै चालक संघले आन्दोलनमा उत्रिएको हो ।

आयल निगममा लामो समयदेखि ट्याङ्कर चालक मजदुरहरु आवश्यक सेवा सुविधाबिना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको पेट्रोलियम ट्याङ्कर चालक सङ्घले जनाएको छ ।

सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्तिपत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्नेलगायत माग सङ्घले राखेको छ ।

त्यस्तै, ‘टेम्प्रेचर’को सही व्यवस्थापन गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने र प्रत्येक तीन महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने माग सङ्घको छ ।

सङ्घले गत जेठ २९ गते आफ्ना माग सम्बोधनका लागि आयल निगमलाई पत्र पठाएको थियो । साथै सात बुँदे माग पूरा नभए जेठ ३२ गते कालोपट्टी बाँधेर विरोध गर्ने, असार १ गते गाडीमा कालो झण्डा राखेर विरोध गर्ने र असार २ गते पूर्णरुपमा काम छोडेर गाडीको साँचो ट्याङ्कर धनीलाई हस्तान्तरण गर्ने गरी विरोधका कार्यक्रम घोषणा गरेको थियो ।