• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते

पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार



वाग्द्वार । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वार पछिल्लो समय पदयात्रा गर्दै बिदा मनाउने स्थलका रुपमा विकास हुन थालेको छ ।

गोकर्णेश्वर नगरपालिका–८ माकालबारीमा स्थायी बसोबास गरी राजधानीको एक परामर्श कम्पनीमा कार्यरत हरिप्रसाद सुवेदी शनिबारको बिदा मनाउन वाग्द्वार पुग्नुभयो । सुन्दरीजलबाट माथि लागेपछि नै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको हरियाली वातावरणमा रमाउँदै जाँदा हप्ता दिनको थकान मेटिएको अनुभव उहाँले सुनाउनुभयो । मुहान क्षेत्रको वाग्मती सफाइ अभियानकर्मीको समूहसँगै उहाँ पदयात्रा गर्दै वाग्द्वार पुग्नुभएको हो ।

काठमाडौँ उपत्यकामा विभिन्न पेसा र व्यवसायी गरी बसेका सुवेदीजस्तै धेरै मानिसले साप्ताहिक बिदा मनाउने गन्तव्यका रुपमा यस क्षेत्रलाई रोज्न थालेका छन् । बढ्दो गर्मीमा एक दिन बिदा पाएकाहरु उपयुक्त गन्तव्यको खोजीमा हुन्छन् । यस्तो बेलामा धेरैले वन, जङ्गल, शीतल, छहारी खोज्ने गर्छन् । यस्तो खोजीमा रहनेहरुका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा रहेको वाग्द्वार उपयुक्त गन्तव्य बन्न थालेको छ ।

वाग्द्वार पुग्न सुन्दरीजल, तारेभीर र बूढानीलकण्ठ गरी तीन मार्गबाट जान सकिन्छ । सुन्दरीजलबाट मूलखर्क, ओखरेनी, देउराली हुँदै त्यहाँ पुग्न सकिन्छ । यो मार्गबाट जाँदा साधन हुनेले देउरालीसम्म लिएर जान सक्छन् । देउरालीबाट करिब सवा घण्टाको पैदल यात्रापछि वाग्द्वार पुगिन्छ । सार्वजनिक यातायात प्रयोग गर्नेले भने रत्नपार्कबाट सुन्दरीजल हुँदै ओखरेनी जाने बस कुर्नुपर्ने हुन्छ । यस रुटमा दिनमा तीन वटा बसमात्र जाने भएकाले बस कुरेर बस्नुपर्ने बाध्यता छ ।

तारेभीरबाट पनि वाग्द्वारको पदयात्रामा पुग्न सकिन्छ । रत्नपार्कबाट गोकर्ण, सुन्ताखान हुँदै तारेभीरसम्म सवारी साधनमा जान सकिन्छ । तारेभीरसम्म जाने सार्वजनिक यातायात नभएकाले पदयात्री आफैँले व्यवस्था गर्नुपर्ने हुन्छ । सुन्ताखानसम्म भने रत्नपार्कबाट सार्वजनिक यातायात पाइन्छ । त्यस क्षेत्रमा अटो सेवा भने उपलब्ध छ । तारेभीरबाट पनि करिब दुई घण्टाको पदयात्रापछि वाग्द्वार पुग्न सकिन्छ । यो मार्गबाट वाग्द्वार पुग्दा पनि पदयात्रीले आनन्दानुभूति गर्छन् ।

गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी पण्डितगाउँका स्थानीयवासी हेमन्तकेशर पण्डित सुन्दरीजलबाट सार्वजनिक यातायात र पैदलगरी करिब तीनदेखि चार घण्टामा वाग्द्वार पुगिने गरेको बताउनुहुँदै गोकर्णबाट तारेभीर हुँदै जाँदा तीन घण्टामै वाग्द्वार पुग्न सकिने बताउनुहुन्छ । सुन्दरीजलभन्दा यो मार्ग छोटो भएकाले तारेभीरसम्म सार्वजनिक यातायातको राम्रो प्रबन्ध गरे वाग्द्वार जाने आन्तरिक एवं बाह्य पर्यटक बढ्ने उहाँ बताउनुहुन्छ ।

बूढानीलकण्ठबाट पनि करिब दुई घण्टामै वाग्द्वार पुग्न सकिन्छ । यो मार्गबाट पनि गुम्बा नजिकैसम्म यातायात र त्यसपछि करिब पौने घण्टाको पैदल यात्रापछि वाग्द्वार पुग्न सकिन्छ । निकुञ्जको शीतलता अनुभव गर्दै यातायात र पैदल गरी वाग्द्वार पुगेर पदयात्रीले बिदा मनाउँदै आनन्द लिन सक्छन् । राजधानीमा पाँच वर्षमै बढी तापक्रम मापन भइरहेको दिन शनिबार निकुञ्जको मार्ग हुँदै वाग्द्वार पुग्ने पदयात्रीले भने शीतलता र आनन्दानुभूति गरे ।

बूढानीलकण्ठबाट साथीहरुसँगै वाग्द्वार पुग्नुभएकी टोखाकी सन्ध्या श्रेष्ठ महिनामा एकपटक पैदल यात्रा गरेर निकुञ्जको बाटो हिँड्ने अनुभव गरिएको सुनाउनुहुन्छ । यसो गरेमा शरीरमा स्वच्छ अक्सिजनको प्रवाह हुने अनुभूति गरेको उहाँले बताउनुभयो । विभिन्न मार्ग प्रयोग गरी वाग्द्वार पुगेका सबै पदयात्रीको समान अनुभूति भनेको असारको उखरमाउलो गर्मीमा शीतलताको अनुभूति हो । यसले काममा पनि तरोताजा भइने सबैको समान धारणा छ ।

वाग्द्वार क्षेत्रका तीर्थ एवं पर्यटकीय स्थल

वाग्द्वार करिब दुई हजार पाँच सय मिटरको उचाइमा पर्छ । वाग्द्वार खोँच परेको स्थानमा भएकाले गर्मीको समयमा धेरै घाम लाग्दैन । केही बेर लाग्ने घाम पनि रुख, बिरुवाको छहारीले छेकिदिन्छ । तीन घण्टासम्मको पदयात्रा गरेर असिन पसिन भई वाग्द्वार पुगेका पदयात्रीलाई कुनामा धाराबाट झरेको कलकल पानी र चराचुरुङ्गीको आवाजले स्वर्गकै अनुभूति हुन्छ । यहाँबाट करिब २० देखि ३० मिनेटको दूरीमा तीन चुली भन्ने अग्लो भाग पुग्न सकिन्छ । यहाँ करिब २२ वर्षसम्म स्वामी चन्द्रेशले तपस्या गरेर बस्नुभयो । यसभन्दा केही माथिको भागमा शिवपुरी बाबाले तपस्या गर्नुभएको थियो ।

वाग्द्वारबाट शिवपुरी डाँडा ३० देखि ४० मिनेटको दूरीमा छ । रमणीय यो डाँडामा पदयात्रा गरी पुग्न आन्तरिक र बाह्य पर्यटक लालायित हुन्छन् । यसको नजिकैबाट नै नुवाकोट जिल्लाको सीमा सुरु हुन्छ । बूढानीलकण्ठको पानी मुहान वाग्द्वारबाट दुइदेखि साढे दुई घण्टाको दूरीमा रहेको छ । सुन्दरीजल र तारेभीरबाट पदयात्रा गरी गएका पर्यटकको भीड पनि लाग्ने गर्छ । सुन्दरीजल वा तारेभीरबाट वाग्द्वार छिरेर पानीमुहानबाट राजधानी फर्कने पर्यटक धेरै हुने गरेका छन् ।

यस क्षेत्रको अर्को महत्वपूर्ण पर्यटकीयस्थल नागी गुम्बा हो । वाग्द्वार पुग्ने धेरै पर्यटक नागी गुम्बा पनि जाने गर्छन् । शान्ति प्राप्तिका लागि पनि गुम्बा महत्वपूर्ण पर्यटकीयस्थल हो । यो स्थल बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको छ ।

वाग्द्वार क्षेत्रमा साधनारत साधुसन्त

वाग्द्वार क्षेत्रमा हाल सत्यानन्द शिवाचार्य ९वाग्द्वार बाबा०, टोड्के बाबा, ॐ बाबालगायतका साधुहरु साधनारत हुनुहुन्छ । वाग्द्वार बाबाले वाग्द्वार वरपर रहेका मठ मन्दिरमा नित्य पूजा र आरती गर्दै आउनुभएको छ । वाग्द्वार क्षेत्रमा बेलुकी बत्तीको व्यवस्था नहुँदा आरती गर्न समस्या हुने गरेको छ । निकुञ्ज प्रशासनलगायतलाई अनुरोध गर्दा पनि बत्तीको व्यवस्था हुन नसकेको वाग्द्वार बाबाले गुनासो गर्नुभयो ।

निकुञ्ज प्रशासनले आफूलाई पानीमुहानस्थित कार्यालयमा बोलाएर असार ७ गते वाग्द्वार छोड्ने गरी तयार पारेको कागजातमा हस्ताक्षर गराएको गुनासो गर्नुभयो । गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने यो तीर्थस्थलमा नित्य पूजा, आराधना गरिरहेका साधुलाई हटाउन लागिएकामा स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । यहाँ रहेको ऐतिहासिक एवं राजनीतिकस्थल बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल पूजा, आराधना गरी वाग्द्वार क्षेत्रको सेवा गरिरहेका साधुलाई निकुञ्जले अन्यायपूर्वक निकालेकामा आपत्ति जनाउनुभयो । वाग्द्वार क्षेत्रको धर्म, संस्कृतिमा प्रभाव पार्ने यस्ता काम नगर्न चेतावनी दिइएको उहाँले बताउनुभयो । स्थानीयवासीको माग अनुसार निकुञ्ज प्रशासनले यस्ता काम बन्द नगरे कार्यालय घेराउ गर्न बाध्य हुनुपर्ने स्थानीय मोहन लामाको भनाइ छ ।