१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता



अ+ अ-

भक्तपुर : भाषा आयोग र ‘काठमाडौँ स्कुल अफ ल’बीच नेपालको लोपोन्मुख एवं मातृभाषाको विकास, अध्ययन अनुसन्धान र संरक्षणका पक्षमा द्विपक्षीय सम्झौता भएको छ ।

‘काठमाडौँ स्कुल अफ ल’ मा आज आयोजित एक कार्यक्रमबीच भाषा आयोगका पदाधिकारी, प्राध्यापक तथा विद्यार्थीसहितको उपस्थितिमा द्विपक्षीय सम्झौता भएको हो । लोपोन्मुख भाषाको अनुसन्धान, संरक्षण र विकासका पक्षमा सहकार्य गर्ने उद्देश्यले आयोगका का मु सचिव डा लोकबहादुर लोप्चन र कलेजका कार्यकारी निर्देशक प्रा डा युवराज सङ्ग्रौलाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

शैक्षिक स्रोत, अनुसन्धानका निष्कर्ष, विज्ञता, पूर्वाधारमा साझेदारी तथा शैक्षिक अनुसन्धान प्रयोजनका लागि आवश्यक सुविधा आदानप्रदान गर्ने; एकअर्काबीचको सीप, ज्ञान प्राज्ञिक तथा व्यावसायिक अनुभव साझेदारी गरेर भाषा संरक्षणमा सहकार्य गर्ने द्विपक्षीय सम्झौता उल्लेख गरिएको छ । मातृभाषाका साथै विशेषगरी लोप हुन लागेका भाषाको विकास र संरक्षणमा संयुक्त प्रयास गर्ने; भाषाविज्ञान, भाषा नीति र कानुनसम्बन्धी अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्ने; परस्पररूपमा पहिचान गरिएका आपसी चासोका क्षेत्रमा अध्ययन अनुसन्धान, प्रशिक्षण, कार्यशाला र सम्मेलन संयुक्तरूपमा गर्ने तयारी गरिएको ‘काठमाडौँ स्कुल अफ ल’ का कार्यकारी निर्देशक प्रा डा सङ्ग्रौलाले बताउनुभयो ।

आयोगका अध्यक्ष डा गोपाल ठाकुरले सबै मातृभाषाको समान विकास गर्न अवरोध पु-याउने ऐन कानुन संशोधन गरी सबै भाषालाई समानताको अधिकार प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘काठमाडौँ स्कुल अफ ल’का कार्यकारी अध्यक्ष डा गोविन्दप्रसाद कुसुमले नेपाली भाषा संस्कृतिमाथि विभिन्न कोणबाट भइरहेको अतिक्रमण र हस्तक्षेप नियन्त्रणका लागि सरोकार भएका पक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । भाषा आयोगका कामु सचिव डा लोप्चनले भाषाको संरक्षणका लागि मातृभाषा, नेपाली भाषा र अन्य भाषाको स्तरीकरण गर्नु आवश्यक रहेको उल्लेख गर्दै यसका लागि प्राज्ञिक अनुसन्धानमार्फत भाषा समृद्विको राष्ट्रिय संरचना बनाउन आवश्यक रहेको बताउनुभयो ।