२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द



फाईल फोटो
अ+ अ-

वीरगञ्ज । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको बताउनुभयो ।

महानगरका विद्यालयलाई बिहान १०:३० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिएको थियो तर उक्त समयमा कक्षा सञ्चालन गर्दा पनि कक्षामा विद्यार्थी मुर्छित भएपछि थप तीन दिन गर्मी बिदा दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गतेको बैठकले जेठ १६ गतेदेखि १८ गतेसम्म गर्मीबिदा दिएको थियो । महानगरमा ९२ वटा सामुदासियक र एक सय ३८ निजी विद्यालय सञ्चालित छन् । यहाँ सामुदायिकतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।

बुधबार वीरगञ्जको अधिकतम तापक्रम ३८.७ डिग्री सेल्सियस पुगेको थियोभने अहिले यहाँको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले गत मङ्गलबार विशेष बुलेटिन निकालेर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको जनाएको थियो । रासस