१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

जीवनका कथैकथा जोडिएका ‘यादहरु’

जीवनका कथैकथा जोडिएका ‘यादहरु’
अ अ+ अ-

काठमाडौँ । डुङ्गाको अस्तित्व पानी र त्यसको बहावसँग जोडिएको हुन्छ तर त्यही डुङ्गालाई विम्ब बनाएर जमिनसँग नाता जोड्ने प्रयत्नमा लाग्नुभएको छ कलाकार रवीन्द्र श्रेष्ठ । नयाँ सोच र अवधारणालाई कलामार्फत प्रस्तुत गर्ने खुबी उहाँमा देखिन्छ । गत वर्षको राष्ट्रिय कला प्रदर्शनीमा ‘डुङ्गा चियाघर’ शीर्षकमा आफ्नो सृजना प्रस्तुत गरेर वाहवाही कमाउनुभएका श्रेष्ठले यस वर्ष पनि डुङ्गालाई नै आधार बनाएर फरक स्वरुपमा नौलो अनुभूति पस्किनुभएको छ ।

नारायणी, राप्ती, कोशीजस्ता ठूला नदीमा मानिस बोकेर बग्दाको स्मरण अनि काठमाडौँकै ठूला पोखरीमा तैरिँदाको स्मृति त्यो डुङ्गासँग हुन्छ । तर यहाँ आउँदाको स्मृति भने त्योभन्दा निकै फरक छ । राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको जारी ‘राष्ट्रिय कला प्रदर्शनी २०८१’ मा उहाँले त्यही पुरानो डुङ्गामा चलनचल्तीमा हराएका पुरानादेखि नयाँ सबै सिक्का भरेर प्रतिस्थापन कलामा रुपान्तरण गरी ‘यादहरु’ शीर्षकमा कथैकथाका पोका खोलिदिनुभएको छ ।

उहाँले यहाँ नेपाली इतिहासका सबै खाले सिक्का ल्याउन जमर्को गर्नुभएको छ । परिवर्तित समयसँगै कुनै बेलाका दैनिक प्रचलनमा रहेका सिक्काहरू हराए तर ती केवल सिक्काहरू मात्र थिएनन्, ती सिक्काहरुसँग मानिसको समय, सभ्यता, संस्कृति र विविधखाले गहिरा यादहरू पनि जोडिएका छन् । यो पैसा, पैसा मात्रै रहने, त्यसमा हरेक नागरिकका आ–आफ्ना कथा जोडिएको छ । पैसा देख्ने बित्तिकै बालापनका यादहरु झल्किन्छ । रुँदाखेरि आमाबुबाबाट प्राप्त पाँच पैसामा फुलिन्थ्यो । सिक्का लङ्गुरबुर्जा खेल्न, चङ्गा उठाउन, मिठाई खान, कापी, किताब किन्नलगायतमा प्रयोग गर्दा फुरुङ्ग होइन्थ्यो । यहाँको प्रदर्शनी देख्नेबित्तिकै ती यादहरु स्मृतिमा फर्किन्छ । “यसमा मान्छेले आफैँलाई जोड्न सक्छ, पुराना यादहरु स्मृतिमा ल्याइदिन्छ”, कलाकार श्रेष्ठ भन्नुहुन्छ, “अर्को भाषा, धर्म, संस्कृतिसँग पनि जोडिन्छ । पैसा लुगामा बुनेर लगाइन्छ, देवीदेवताका मालामा उनिन्छ, कतै पूजाआजामा प्रयोग हुन्छ । नागमा टाँसेर राखिन्छ ।”

पैसामा समय अनुसारका भाषा प्रयोग गएिकाले पनि भाषा, संस्कृतिलाई झल्काइदिने हुँदा हरेक यादहरु जोडिने उहाँ बताउनुहुन्छ । डिजिटल जमानामा प्रत्यक्ष पैसाबाटै हुने कारोबार हराइसक्यो । नयाँ पुस्ताले पैसा देखिरहेको वा छुन पाइरहेको छैन । अन्य कलाहरु छुन पाइँदैन तर यहाँ भने पैसा छुन पाइने अवसर प्राप्त छ । “मेरो यो कलामा अर्को पुस्ताले पैसालाई प्रत्यक्ष छोओस्, पैसासँग खेलोस् र यादहरु संगालोस् भन्ने हो, त्यो अवसर मिलिरहेको छ, पैसा अँजुलीमा लिएर पानी झैँ खन्याउँदै, सेल्फीमा खेलिरहेका पाउँदा उद्देश्य पूरा भएको महसुस भएको छ”, कलाकार श्रेष्ठले अनुभव सुनाउनुभयो ।

उहाँ कला हेर्न आएका कला पारखी १० जनाले १० थरी अर्थ लगाइहेका देख्नुहुन्छ । कला अवलोकनमा आउनुभएकी सांसद जयन्तीदेवी राईले त डुङ्गामा पैसा र पात चढाएर ढोग्नुभयो । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका सभापति उहाँले अनि आफ्नो विगत समयलाई सम्झिनुभयो ।

यहाँ कसैले बालापनको याद गर्नुहुन्छ । कसैका मानसपटलमा पैसा प्राप्तिका लागि गरेका सङ्घर्ष झल्किदिन्छ । देख्ने बित्तिकै फरकफरक कथाहरु जोडिएर आउँछ । पानीमा रहने डुङ्गाले यहाँ मान्छेको सट्टामा पैसा बोकेर थुप्रै कुरा र कथा भनिरहेको छ । अहिलेको डिजिटल दुनियाँमा यी नेपाली सिक्काहरू र यससँग जोडिएका कथाहरू एकै ठाउँमा देख्न सकुन् भन्ने नै प्रदर्शनीको मूल उद्देश्य हो भन्नुहुन्छ कलाकार श्रेष्ठ ।

उहाँले दुर्लभ सिकाहरूलाई डुङ्गामार्फत प्रस्तुत गर्नुभएको हो । डुङ्गालाई यहाँ एउटा रुपकमा प्रयोग गरिएको छ । यसले सिक्कासँग जोडिएका यी तमाम कुराहरूलाई एक ठाउँबाट अर्को ठाउँ, एक पुस्ताबाट अर्को पुस्तासम्म पुर्‍याइरहने छ । यहाँ अल्मुनियमका साथै सय वर्ष पुराना चाँदी, तामालगायत सिक्काहरू छन् । डुङ्गा भने दोलालघाटबाट ल्याइएको हो । यसरी प्रस्तुत गर्नुको कारणबारे कलाकार श्रेष्ठ थप्नुहुन्छ, “एकै ठाउँमा सिक्काहरू आफ्नै आँखाले देख्न र छुन सकून्, जुन हाम्रो समय, सभ्यता, धर्म, संस्कृति र विविध गहिरा यादहरू पनि हुन् भन्ने लाग्यो ।”

कला अवलोकनपछि मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपाने कलाकारले दिमागको बत्ती बालिदिने र यो कलामा कलाकार श्रेष्ठले हृदयमा बत्ती बालिदिनुभएको उल्लेख गर्नुभयो । पैसा स्पर्श गर्दै न्यौपानेले भन्नुभयो “यो डुङ्गामा राखेको पैसा, पैसा मात्रै होइन, यसले इतिहास, समाज बताइरहेको छ । थुप्रै हातहरुको स्पर्शलाई बोकेर बाँचिरहेको छ । एउटा पैसामा थुप्रै कथाहरु छन् । यहाँ जति पैसाहरु छन् सबै कथैकथाको थुप्रो जस्तो लागिरहेको छ ।”

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी कला प्रदर्शनीमा ४८२ कलाकारका पाँच सय २२ कला कृति छन् । त्यसमध्ये वास्तुकला तथा अन्य सृजनात्मक (बहुआयामिक) कला विधाअन्तर्गत छवि कलाका ३३, प्रतिस्थापन कलाका सात, कार्टुनका १२, क्यारिकेचरका तीन, डिजिटलका एक, भिडियो आर्टका एक, भावभङ्गिका दुई कलाकृति छन् । त्यसमध्ये प्रतिस्थापन कलामा वाग्मतीबाट उहाँको यो सृजनाले प्रादेशिक ललितकला विधागत पुरस्कार प्राप्त गरेको छ ।

यहाँ सय वर्षभन्दा पुराना नेपाली सिक्कादेखि २०५४ सालसम्मको विभिन्न सिक्काहरू (बुलेट सिक्का-चाँदी, तामाको र बढी मात्रामा अल्मुनियम)का करिब ८० किलो सिक्का राखिएको छ । प्रदर्शनीमा कला देख्ने बित्तिकै एउटै प्रश्न आउँछ, “आम्मै, यति धेरै सिक्काहरू कहाँबाट आयो ?, कसरी र कहिलेदेखि जम्मा गरेको ? यो डुङ्गा कहाँदेखि ल्याउनु भयो ?”

प्रश्नले झन् उत्सुक कलाकार श्रेष्ठ जवाफ दिन झिँजो मान्दैनन् । “डुङ्गा दोलालघाटस्थित कोशी नदीबाट ल्याइएको हो । सिक्काहरू २०६८/६९ सालदेखि विभिन्न मन्दिर र केही किनबेच गर्ने ठाउँबाट किनेर जम्मा गर्न थालेको हुँ, अहिलेसम्म ८० किलो भएको छ” आगन्तुकका जिज्ञासा मेटाउँदै भन्छन् ।

डुङ्गा ल्याउँदाको दु:ख 

उहाँसँग डुङ्गा ल्याउँदाको कहानी छुट्टै छ । डुङ्गा खोज्ने र ल्याउने क्रममा तीन पटक दोलालघाट पुग्नुभयो । पहिलो पटक डुङ्गा देख्दा कोही थिएन । पानीमा हावाको लयमा हल्लिरहेको एउटा डुंगा देख्नुभयो । लाग्यो उ पानीसँग खेलिरहेको छ । “पानीबाट कसरी छुटाएर ल्याउँ” उहाँको मनमा सोच पलायो । श्रेष्ठ दोधारमा पर्नुभयो । डुङ्गालाई यहाँबाट निकालेर लग्नु के ठीक थियो त रु यिनको ठाउँ त यो पो हो त । यसको सम्बन्ध त पानीसँग पो छ । अब यो काम गर्ने वा नगर्ने सोच्दा सोच्दै केही दिन बिते ।

नयाँ प्रविधि फाइबरलगायतका डुङ्गाका कारण काठका डुङ्गा हराउँदै गएको थाहा पाएपछि बल्ल उहाँ डुङ्गा ल्याएर प्रदर्शनीमा राख्दा राम्रै हुने निर्णयमा पुग्नुभयो । उहाँलाई धेरैले स्पर्श गरिसकेको पुरानो डुङ्गा चाहिएको थियो । डुङ्गा खोज्नेक्रममा त्यहाँका रामबहादुर माझी साथी बन्नुभयो । धेरै चहार्दा कहीँ नपाएपछि उही रामबहादुरसँगै भएको डुङ्गा रु ४० हजारमा किनेर ल्याउनुभयो । डुङ्गा ल्याउँदा ठाउँठाउँमा प्रहरीले दिएको दु:ख, काटेको चिट उहाँले अनुभवमा सङ्गाल्नुभएको छ ।

प्रदर्शनीको छेउमा उहाँले लेख्नुभएको छ, “यहाँबाट कुनै सिक्का ननिकाल्नु होला, बरु, आफ्नो कलेक्सनमा रहेको तर यहाँ नभएका सिक्काहरू इच्छाअनुसार दान गर्न सक्नुहुन्छ । इच्छाअनुसार अर्को प्रदर्शनीमा नाम र फोटो डकुमेन्ट गरिने छ । यो कला देशभित्र वा बाहिरको कुनै सङ्ग्रहालय, ग्यालरी वा पब्लिक प्लेसमा कलेक्सन होस् भन्ने चाहना रहेको छ ।” तर कलाकार श्रेष्ठको त्यहाँको अनुभव नौलो छ ।

धेरै सिक्का त्यहाँबाट भिकेर लगिए । कतिपयले त सम्झनाका लागि मागेरै लगे । धेरैले चाहिँ आफ्नो जन्मिएको सालको सिक्का खोजे । उहाँले दिन अनकनाउनु भएन । “झिकेर वा मागेर लगे पनि आखिर उहाँहरुले आफ्नो जीवनको याद र कथा बोकेर लैजानुभएको छ, त्यसैमा म खुसी छु, सिक्का तर फेरि खोजेर ल्याउँला नि”, हाँस्दै भन्नुभयो ।

उहाँको कला प्रदर्शनी हजारौँले अवलोकन गरिसकेका छन् । जेठ अन्तिमसम्म हुने प्रदर्शनीमा रामबहादुर माझी, त्यो माझी बस्ती, ती प्रहरीहरु, सिक्का दिने पुजारीहरू र अरू थुप्रै अनुहारहरू सहभागी हुने छैनन् तर कलाकार श्रेष्ठ उहाँहरुलाई सम्झिरहनुभएको छ । उहाँका हरेक कलाले समय, अवधारणाअनुसार फरकफरक तरिकामा कुरा गरिरहेको पाइन्छ । कुनै बेला चिच्याएर, कुनै बेला दु:खी भएर । यो काम चाहिँ अलि विस्तारै पछिसम्मका लागि केही भनिरहेको जस्तो फिल हुन्छ । थुप्रै व्यक्तिले थुप्रै दृष्टिकोणबाट कामसँग जोडिरहेको पाइन्छ ।

कलाकार श्रेष्ठले यसअघि राष्ट्रिय पुरस्कारहरू पाइसक्नुभएको थियो । तर यो अलि विशेष प्रस्तुति रहेकाले फेरि ३० हजार राशिको प्रादेशिक पुरस्कार पाउनुभयो । त्यसबापत पाएको केही रकम डुङ्गा दिने रामबहादुर माझीलाई प्रदान गर्ने सोच बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “यस्तो काम वा कन्सेप्ट मेरो दिमागले देखेपछि गर्नु नै पर्छ भन्ने लाग्यो, किन कि नगर्दा छुट्न जान्छ । हिमाल, पहाड, भगवानका चित्रहरू मैले नगर्दा नि अरू कसै न कसैले गरिरहेको हुन्छ । यो त कसैले गर्न सक्दैन, त्यसैले प्रदर्शनीमा ल्याएँ ।”

यसरी जोडिन्छ जीवनका कथा 

यी सिक्काहरू जीवनकै एक उत्कृष्ट यादहरू हुन्, बालापन झक्झक्याउने आधार हुन् । पाँच पैसाको एउटा सिक्काले पाँचवटा पीपलमेठ किनेर खाएको मीठो सम्झना गराउँछ । एक हिसाबमा यी पैसाहरू आमा, बुबा, आफन्त झैँ थिए । एउटा पैसा पायो कि खुसीले गद्गद् हुने जमाना थियो ।

यही पैसाले लङ्गुर्बुर्जा खेलिन्थ्यो । चङ्गा किनेर आकाशमा उडाइन्थ्यो । ठूलाठूला चाडपर्वहरू मनाइन्थ्यो । अनि यही पैसा पाउनकै लागि घण्टौँसम्म भगवानका मूर्तिहरू ढुकेर बसिन्थ्यो । पैसा नचढाउने व्रतालुलाई मनमनै गाली पनि गरिन्थ्यो । लाग्थ्यो, ढुङ्गाका यी मूर्तिहरू पनि यही पैसाहरू कुरेर बसिरहेका थिए ।

विभिन्न समुदाय र देवदेवीको गरगहना, पूजाहरूमा, खोला, पोखरीहरूमा चढाउने प्रचलनहरू अहिले पनि छ । पैसा ढोग्ने, चढाउने क्रम पनि छ । हिन्दूहरुका शुभ कार्यमा तामाका पैसा नभई हुन्न । त्यसैले नेपाली सिकाहरू इतिहास मात्र नभएर सिक्कासँग जोडिएका हाम्रो समय, सभ्यता, संकृति र यादहरूको सङ्कलन पनि हो ।

कलाकार श्रेष्ठका अनुसार अहिलेको भौतिक दुनियाँमा यो डुङ्गा यति सामान्य छ कि, एउटै काठले बनेको तर पनि यसले एक ठाउँको कुरा अर्को ठाउँमा पुर्‍याइदिने वा सम्बन्धहरू जोड्ने काम गर्छ । यहाँ पनि यी सिक्कासँग जोडिएका यी कुराहरूलाई एक ठाउँबाट अर्को ठाउँ, एक पुस्ताबाट अर्को पुस्तासम्म पुर्‍याउने माध्यम बनोस् भन्ने चाहना उहाँको हो । रासस