• ५ असार २०८१, बुधबार
  •      Wed Jun 19 2024
  •   Unicode
Logo

जीवनका कथैकथा जोडिएका ‘यादहरु’



काठमाडौँ । डुङ्गाको अस्तित्व पानी र त्यसको बहावसँग जोडिएको हुन्छ तर त्यही डुङ्गालाई विम्ब बनाएर जमिनसँग नाता जोड्ने प्रयत्नमा लाग्नुभएको छ कलाकार रवीन्द्र श्रेष्ठ । नयाँ सोच र अवधारणालाई कलामार्फत प्रस्तुत गर्ने खुबी उहाँमा देखिन्छ । गत वर्षको राष्ट्रिय कला प्रदर्शनीमा ‘डुङ्गा चियाघर’ शीर्षकमा आफ्नो सृजना प्रस्तुत गरेर वाहवाही कमाउनुभएका श्रेष्ठले यस वर्ष पनि डुङ्गालाई नै आधार बनाएर फरक स्वरुपमा नौलो अनुभूति पस्किनुभएको छ ।

नारायणी, राप्ती, कोशीजस्ता ठूला नदीमा मानिस बोकेर बग्दाको स्मरण अनि काठमाडौँकै ठूला पोखरीमा तैरिँदाको स्मृति त्यो डुङ्गासँग हुन्छ । तर यहाँ आउँदाको स्मृति भने त्योभन्दा निकै फरक छ । राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको जारी ‘राष्ट्रिय कला प्रदर्शनी २०८१’ मा उहाँले त्यही पुरानो डुङ्गामा चलनचल्तीमा हराएका पुरानादेखि नयाँ सबै सिक्का भरेर प्रतिस्थापन कलामा रुपान्तरण गरी ‘यादहरु’ शीर्षकमा कथैकथाका पोका खोलिदिनुभएको छ ।

उहाँले यहाँ नेपाली इतिहासका सबै खाले सिक्का ल्याउन जमर्को गर्नुभएको छ । परिवर्तित समयसँगै कुनै बेलाका दैनिक प्रचलनमा रहेका सिक्काहरू हराए तर ती केवल सिक्काहरू मात्र थिएनन्, ती सिक्काहरुसँग मानिसको समय, सभ्यता, संस्कृति र विविधखाले गहिरा यादहरू पनि जोडिएका छन् । यो पैसा, पैसा मात्रै रहने, त्यसमा हरेक नागरिकका आ–आफ्ना कथा जोडिएको छ । पैसा देख्ने बित्तिकै बालापनका यादहरु झल्किन्छ । रुँदाखेरि आमाबुबाबाट प्राप्त पाँच पैसामा फुलिन्थ्यो । सिक्का लङ्गुरबुर्जा खेल्न, चङ्गा उठाउन, मिठाई खान, कापी, किताब किन्नलगायतमा प्रयोग गर्दा फुरुङ्ग होइन्थ्यो । यहाँको प्रदर्शनी देख्नेबित्तिकै ती यादहरु स्मृतिमा फर्किन्छ । “यसमा मान्छेले आफैँलाई जोड्न सक्छ, पुराना यादहरु स्मृतिमा ल्याइदिन्छ”, कलाकार श्रेष्ठ भन्नुहुन्छ, “अर्को भाषा, धर्म, संस्कृतिसँग पनि जोडिन्छ । पैसा लुगामा बुनेर लगाइन्छ, देवीदेवताका मालामा उनिन्छ, कतै पूजाआजामा प्रयोग हुन्छ । नागमा टाँसेर राखिन्छ ।”

पैसामा समय अनुसारका भाषा प्रयोग गएिकाले पनि भाषा, संस्कृतिलाई झल्काइदिने हुँदा हरेक यादहरु जोडिने उहाँ बताउनुहुन्छ । डिजिटल जमानामा प्रत्यक्ष पैसाबाटै हुने कारोबार हराइसक्यो । नयाँ पुस्ताले पैसा देखिरहेको वा छुन पाइरहेको छैन । अन्य कलाहरु छुन पाइँदैन तर यहाँ भने पैसा छुन पाइने अवसर प्राप्त छ । “मेरो यो कलामा अर्को पुस्ताले पैसालाई प्रत्यक्ष छोओस्, पैसासँग खेलोस् र यादहरु संगालोस् भन्ने हो, त्यो अवसर मिलिरहेको छ, पैसा अँजुलीमा लिएर पानी झैँ खन्याउँदै, सेल्फीमा खेलिरहेका पाउँदा उद्देश्य पूरा भएको महसुस भएको छ”, कलाकार श्रेष्ठले अनुभव सुनाउनुभयो ।

उहाँ कला हेर्न आएका कला पारखी १० जनाले १० थरी अर्थ लगाइहेका देख्नुहुन्छ । कला अवलोकनमा आउनुभएकी सांसद जयन्तीदेवी राईले त डुङ्गामा पैसा र पात चढाएर ढोग्नुभयो । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका सभापति उहाँले अनि आफ्नो विगत समयलाई सम्झिनुभयो ।

यहाँ कसैले बालापनको याद गर्नुहुन्छ । कसैका मानसपटलमा पैसा प्राप्तिका लागि गरेका सङ्घर्ष झल्किदिन्छ । देख्ने बित्तिकै फरकफरक कथाहरु जोडिएर आउँछ । पानीमा रहने डुङ्गाले यहाँ मान्छेको सट्टामा पैसा बोकेर थुप्रै कुरा र कथा भनिरहेको छ । अहिलेको डिजिटल दुनियाँमा यी नेपाली सिक्काहरू र यससँग जोडिएका कथाहरू एकै ठाउँमा देख्न सकुन् भन्ने नै प्रदर्शनीको मूल उद्देश्य हो भन्नुहुन्छ कलाकार श्रेष्ठ ।

उहाँले दुर्लभ सिकाहरूलाई डुङ्गामार्फत प्रस्तुत गर्नुभएको हो । डुङ्गालाई यहाँ एउटा रुपकमा प्रयोग गरिएको छ । यसले सिक्कासँग जोडिएका यी तमाम कुराहरूलाई एक ठाउँबाट अर्को ठाउँ, एक पुस्ताबाट अर्को पुस्तासम्म पुर्‍याइरहने छ । यहाँ अल्मुनियमका साथै सय वर्ष पुराना चाँदी, तामालगायत सिक्काहरू छन् । डुङ्गा भने दोलालघाटबाट ल्याइएको हो । यसरी प्रस्तुत गर्नुको कारणबारे कलाकार श्रेष्ठ थप्नुहुन्छ, “एकै ठाउँमा सिक्काहरू आफ्नै आँखाले देख्न र छुन सकून्, जुन हाम्रो समय, सभ्यता, धर्म, संस्कृति र विविध गहिरा यादहरू पनि हुन् भन्ने लाग्यो ।”

कला अवलोकनपछि मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपाने कलाकारले दिमागको बत्ती बालिदिने र यो कलामा कलाकार श्रेष्ठले हृदयमा बत्ती बालिदिनुभएको उल्लेख गर्नुभयो । पैसा स्पर्श गर्दै न्यौपानेले भन्नुभयो “यो डुङ्गामा राखेको पैसा, पैसा मात्रै होइन, यसले इतिहास, समाज बताइरहेको छ । थुप्रै हातहरुको स्पर्शलाई बोकेर बाँचिरहेको छ । एउटा पैसामा थुप्रै कथाहरु छन् । यहाँ जति पैसाहरु छन् सबै कथैकथाको थुप्रो जस्तो लागिरहेको छ ।”

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी कला प्रदर्शनीमा ४८२ कलाकारका पाँच सय २२ कला कृति छन् । त्यसमध्ये वास्तुकला तथा अन्य सृजनात्मक (बहुआयामिक) कला विधाअन्तर्गत छवि कलाका ३३, प्रतिस्थापन कलाका सात, कार्टुनका १२, क्यारिकेचरका तीन, डिजिटलका एक, भिडियो आर्टका एक, भावभङ्गिका दुई कलाकृति छन् । त्यसमध्ये प्रतिस्थापन कलामा वाग्मतीबाट उहाँको यो सृजनाले प्रादेशिक ललितकला विधागत पुरस्कार प्राप्त गरेको छ ।

यहाँ सय वर्षभन्दा पुराना नेपाली सिक्कादेखि २०५४ सालसम्मको विभिन्न सिक्काहरू (बुलेट सिक्का-चाँदी, तामाको र बढी मात्रामा अल्मुनियम)का करिब ८० किलो सिक्का राखिएको छ । प्रदर्शनीमा कला देख्ने बित्तिकै एउटै प्रश्न आउँछ, “आम्मै, यति धेरै सिक्काहरू कहाँबाट आयो ?, कसरी र कहिलेदेखि जम्मा गरेको ? यो डुङ्गा कहाँदेखि ल्याउनु भयो ?”

प्रश्नले झन् उत्सुक कलाकार श्रेष्ठ जवाफ दिन झिँजो मान्दैनन् । “डुङ्गा दोलालघाटस्थित कोशी नदीबाट ल्याइएको हो । सिक्काहरू २०६८/६९ सालदेखि विभिन्न मन्दिर र केही किनबेच गर्ने ठाउँबाट किनेर जम्मा गर्न थालेको हुँ, अहिलेसम्म ८० किलो भएको छ” आगन्तुकका जिज्ञासा मेटाउँदै भन्छन् ।

डुङ्गा ल्याउँदाको दु:ख 

उहाँसँग डुङ्गा ल्याउँदाको कहानी छुट्टै छ । डुङ्गा खोज्ने र ल्याउने क्रममा तीन पटक दोलालघाट पुग्नुभयो । पहिलो पटक डुङ्गा देख्दा कोही थिएन । पानीमा हावाको लयमा हल्लिरहेको एउटा डुंगा देख्नुभयो । लाग्यो उ पानीसँग खेलिरहेको छ । “पानीबाट कसरी छुटाएर ल्याउँ” उहाँको मनमा सोच पलायो । श्रेष्ठ दोधारमा पर्नुभयो । डुङ्गालाई यहाँबाट निकालेर लग्नु के ठीक थियो त रु यिनको ठाउँ त यो पो हो त । यसको सम्बन्ध त पानीसँग पो छ । अब यो काम गर्ने वा नगर्ने सोच्दा सोच्दै केही दिन बिते ।

नयाँ प्रविधि फाइबरलगायतका डुङ्गाका कारण काठका डुङ्गा हराउँदै गएको थाहा पाएपछि बल्ल उहाँ डुङ्गा ल्याएर प्रदर्शनीमा राख्दा राम्रै हुने निर्णयमा पुग्नुभयो । उहाँलाई धेरैले स्पर्श गरिसकेको पुरानो डुङ्गा चाहिएको थियो । डुङ्गा खोज्नेक्रममा त्यहाँका रामबहादुर माझी साथी बन्नुभयो । धेरै चहार्दा कहीँ नपाएपछि उही रामबहादुरसँगै भएको डुङ्गा रु ४० हजारमा किनेर ल्याउनुभयो । डुङ्गा ल्याउँदा ठाउँठाउँमा प्रहरीले दिएको दु:ख, काटेको चिट उहाँले अनुभवमा सङ्गाल्नुभएको छ ।

प्रदर्शनीको छेउमा उहाँले लेख्नुभएको छ, “यहाँबाट कुनै सिक्का ननिकाल्नु होला, बरु, आफ्नो कलेक्सनमा रहेको तर यहाँ नभएका सिक्काहरू इच्छाअनुसार दान गर्न सक्नुहुन्छ । इच्छाअनुसार अर्को प्रदर्शनीमा नाम र फोटो डकुमेन्ट गरिने छ । यो कला देशभित्र वा बाहिरको कुनै सङ्ग्रहालय, ग्यालरी वा पब्लिक प्लेसमा कलेक्सन होस् भन्ने चाहना रहेको छ ।” तर कलाकार श्रेष्ठको त्यहाँको अनुभव नौलो छ ।

धेरै सिक्का त्यहाँबाट भिकेर लगिए । कतिपयले त सम्झनाका लागि मागेरै लगे । धेरैले चाहिँ आफ्नो जन्मिएको सालको सिक्का खोजे । उहाँले दिन अनकनाउनु भएन । “झिकेर वा मागेर लगे पनि आखिर उहाँहरुले आफ्नो जीवनको याद र कथा बोकेर लैजानुभएको छ, त्यसैमा म खुसी छु, सिक्का तर फेरि खोजेर ल्याउँला नि”, हाँस्दै भन्नुभयो ।

उहाँको कला प्रदर्शनी हजारौँले अवलोकन गरिसकेका छन् । जेठ अन्तिमसम्म हुने प्रदर्शनीमा रामबहादुर माझी, त्यो माझी बस्ती, ती प्रहरीहरु, सिक्का दिने पुजारीहरू र अरू थुप्रै अनुहारहरू सहभागी हुने छैनन् तर कलाकार श्रेष्ठ उहाँहरुलाई सम्झिरहनुभएको छ । उहाँका हरेक कलाले समय, अवधारणाअनुसार फरकफरक तरिकामा कुरा गरिरहेको पाइन्छ । कुनै बेला चिच्याएर, कुनै बेला दु:खी भएर । यो काम चाहिँ अलि विस्तारै पछिसम्मका लागि केही भनिरहेको जस्तो फिल हुन्छ । थुप्रै व्यक्तिले थुप्रै दृष्टिकोणबाट कामसँग जोडिरहेको पाइन्छ ।

कलाकार श्रेष्ठले यसअघि राष्ट्रिय पुरस्कारहरू पाइसक्नुभएको थियो । तर यो अलि विशेष प्रस्तुति रहेकाले फेरि ३० हजार राशिको प्रादेशिक पुरस्कार पाउनुभयो । त्यसबापत पाएको केही रकम डुङ्गा दिने रामबहादुर माझीलाई प्रदान गर्ने सोच बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “यस्तो काम वा कन्सेप्ट मेरो दिमागले देखेपछि गर्नु नै पर्छ भन्ने लाग्यो, किन कि नगर्दा छुट्न जान्छ । हिमाल, पहाड, भगवानका चित्रहरू मैले नगर्दा नि अरू कसै न कसैले गरिरहेको हुन्छ । यो त कसैले गर्न सक्दैन, त्यसैले प्रदर्शनीमा ल्याएँ ।”

यसरी जोडिन्छ जीवनका कथा 

यी सिक्काहरू जीवनकै एक उत्कृष्ट यादहरू हुन्, बालापन झक्झक्याउने आधार हुन् । पाँच पैसाको एउटा सिक्काले पाँचवटा पीपलमेठ किनेर खाएको मीठो सम्झना गराउँछ । एक हिसाबमा यी पैसाहरू आमा, बुबा, आफन्त झैँ थिए । एउटा पैसा पायो कि खुसीले गद्गद् हुने जमाना थियो ।

यही पैसाले लङ्गुर्बुर्जा खेलिन्थ्यो । चङ्गा किनेर आकाशमा उडाइन्थ्यो । ठूलाठूला चाडपर्वहरू मनाइन्थ्यो । अनि यही पैसा पाउनकै लागि घण्टौँसम्म भगवानका मूर्तिहरू ढुकेर बसिन्थ्यो । पैसा नचढाउने व्रतालुलाई मनमनै गाली पनि गरिन्थ्यो । लाग्थ्यो, ढुङ्गाका यी मूर्तिहरू पनि यही पैसाहरू कुरेर बसिरहेका थिए ।

विभिन्न समुदाय र देवदेवीको गरगहना, पूजाहरूमा, खोला, पोखरीहरूमा चढाउने प्रचलनहरू अहिले पनि छ । पैसा ढोग्ने, चढाउने क्रम पनि छ । हिन्दूहरुका शुभ कार्यमा तामाका पैसा नभई हुन्न । त्यसैले नेपाली सिकाहरू इतिहास मात्र नभएर सिक्कासँग जोडिएका हाम्रो समय, सभ्यता, संकृति र यादहरूको सङ्कलन पनि हो ।

कलाकार श्रेष्ठका अनुसार अहिलेको भौतिक दुनियाँमा यो डुङ्गा यति सामान्य छ कि, एउटै काठले बनेको तर पनि यसले एक ठाउँको कुरा अर्को ठाउँमा पुर्‍याइदिने वा सम्बन्धहरू जोड्ने काम गर्छ । यहाँ पनि यी सिक्कासँग जोडिएका यी कुराहरूलाई एक ठाउँबाट अर्को ठाउँ, एक पुस्ताबाट अर्को पुस्तासम्म पुर्‍याउने माध्यम बनोस् भन्ने चाहना उहाँको हो । रासस