काठमाडौँ । २००९ को विश्वच्याम्पियन पाकिस्तानले अमेरिकासँगको खेल गुमाउँदै हारबाट टी–२० विश्वकप २०२४ को सुरुवात गरेको छ ।
समूह ए को खेलमा २००९ को च्याम्पियन पाकिस्तानलाई अमेरिकाले सुपर ओभरमा पराजित गरेको हो ।
खेलमा कप्तान बाबर आजमले पाकिस्तानका लागि सर्वाधिक ४४ रन बनाएका थिए । योसँगै उनले कीर्तिमान कायम गर्दै भारतीय ब्याट्सम्यान विराट कोहलीलाई पछि पारेका छन् ।
टी–२० अन्तर्राष्ट्रियमा बाबर सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । बाबरले ४०६७ रन बनाएका छन् । उनको उत्कृष्ट स्कोर १२२ रहेको छ । यस्तै, कोहली ४०३८ रनका साथ दोस्रो स्थानमा रहेका छन् । उनको पनि उत्कृष्ट स्कोर १२२ रहेको छ ।
यस्तै, भारतीय ब्याट्सम्यान रोहित शर्मा ४०२६ रनका साथ तेस्रो स्थानमा रहेका छन् । उनको उत्कृष्ट स्कोर अविजित १२१ रन रहेको छ ।