• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

टी–२० विश्वकपः पाकिस्तान पहिलो पटक आईसीसीको पूर्ण सदस्य नभएको टोलीसँग पराजित



काठमाडौँ । अमेरिकाले टी–२० विश्वकप २०२४ को पहिलो ठूलो उथलपुथल निम्त्याएको छ । उसले समूह ए को खेलमा २००९ को च्याम्पियन पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो । यो खेल टेक्सासको डलासस्थित ग्रान्ड प्राइरी स्टेडियममा भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा सात विकेट गुमाएर १५९ रन बनाएको थियो । कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाएका थिए । जवाफमा अमेरिकाको टोलीले पनि २० ओभरमा तीन विकेट गुमाएर १५९ रन बनाउन सक्यो । कप्तान मोनांक पटेलले सर्वाधिक ५० रन बनाए । यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ६ बलमा १३ रन मात्र बनाउन सक्यो । मोनाङ्क खेलको प्लेयर अफ दि म्याच घोषित भए । २०२४ को टी–२० विश्वकपमा पाकिस्तानको यो पहिलो खेल थियो र त्यसैमा उसले आफूभन्दा निकै कमजोर रहेको अमेरिकासँग हार बेहोरेको छ ।

यो जितसँगै अमेरिकी टोली दुई जित र चार अंकसहित समूह ए को शीर्ष स्थानमा पुगेको छ । योसँगै भारत एक खेलपछि दुई अंक जोडेर दोस्रो स्थानमा छ ।

पाकिस्तानको अर्को खेल जुन ९ मा भारतसँग हुनेछ । यस्तै, अमेरिकाको टोलीले अब जुन १२ मा भारतको सामना गर्नेछ ।

टी–२० विश्वकपमा अहिलेसम्म पाँच खेल बराबरीमा सकिएको छ । जसमध्ये पाकिस्तानी टोलीका दुई खेल बराबरीमा परेका छन् । अमेरिकाअघि सन् २००७ को टी–२० विश्वकपमा भारतसँग पाकिस्तानको खेल टाई भएको थियो । तर, त्यसबेला सुपर ओभरको सट्टा बल आउट भएको थियो ।

बलिङ गर्दा धेरै पटक विकेट प्रहार गर्ने टोली विजयी भयो । जसमा भारतले पाकिस्तानलाई बलआउटमा पराजित गरेको थियो । अब पाकिस्तान सुपर ओभरमा पनि अमेरिकासँग पराजित भएको छ ।

यी दुई खेलबाहेक, २०१२ को टी –२० विश्वकपको खेल श्रीलंका(न्यूजिल्याण्ड (पल्लेकल) बिचको, २०१२ को टी–२० विश्वकपको खेल न्यूजिल्याण्ड–वेस्ट इन्डिज (पल्लेकल) र २०२४ को टी–२० विश्वकपको खेल नामिबिया–ओमान (ब्रिजटाउन) बीचको खेल टाई भएको थियो ।। सन् २०१२ पछिको यो पहिलो संस्करण हो जसमा दुई खेल बराबरीमा परेका छन् ।

सन् २०१२ मा श्रीलंका र न्युजिल्यान्डबीच भएको सुपरओभरमा श्रीलंकाको टोली विजयी भएको थियो । यससँगै सन् २०१२ मा न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच खेलेको सुपरओभरमा न्युजिल्यान्ड टोलीले जित हासिल गरेको थियो । यस विश्वकपमा नामिबिया र ओमानबीचको सुपर ओभरमा नामिबियाको टोलीले जित हासिल गरेको थियो ।

पाकिस्तानले टी–२० मा हालसम्म चार खेल टाई खेलेको छ । जसमध्ये उसले तीन पटक हार बेहोरेको छ । पाकिस्तानी टोली दुई पटक सुपर ओभर र एक पटक बल आउटमा पराजित भएको छ । योसँगै अमेरिकी टोलीले टि–२० मा अहिलेसम्म दुई सुपर ओभर खेलेको छ र दुवै पटक जितेको छ ।

टी–२० अन्तर्राष्ट्रियमा अमेरिकासँग पराजित हुने बंगलादेशपछि पाकिस्तान दोस्रो आईसीसी पूर्ण सदस्य टोली हो । यससँगै पाकिस्तानी टोली टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक गैर–पूर्ण सदस्य टोलीसँग पराजित भएको छ । अमेरिकी टोलीको यो जितले आफ्नो देशको क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ । यसले टोलीलाई धेरै आत्मविश्वास दिएको छ । मोनाङ्क पटेलको नेतृत्वमा रहेको अमेरिकी टोलीले बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानी टोलीलाई हराउँदै टी–२० विश्वकपमा अहिलेसम्मकै ठूलो उथलपुथल बनाएको छ ।