काठमाडौं । साउदी अरबको मक्कामा हज गर्न गएका नेपाली मुस्लिम हजयात्रीहरुलाई हज समितिले असहयोग गरेको भन्दै असन्तुष्टि चुलिएको छ ।
गत जेष्ठ २ गते साउदी पुगेका नेपाली हजयात्रीलाई संम्झौता अनुसार तोकिएको सेवासुविधा समेत नदिइएको र गुनासो सुन्ने तथा समस्या समाधान गर्न कुनै जिम्मेवार व्यक्ति उपस्थित नभएको गुनासो हजयात्रीहरुले गरेका छन् ।
हजका लागि नेपालबाट ७५४ जना साउदी अरब गएका छन् । साउदी रहेका एक हजयात्रीले न्युजपोलारसँग भन्नुभयो, यहाँको अवस्था बिजोग छ, हज कमिटीका कोही व्यक्तिहरु पनि देखिँदैनन् केही गुनासो गरे बंगाली र बर्मेली दलालहरु प्रयोग गरी थर्काउने काम भै रहेको छ । त्यसैले जेष्ठ नागरिक, महिला तथा अन्य व्यक्तिहरु निरीह भएर बस्नु परेको छ ।
उनका अनुसार, नेपालबाट गएका हज कमिटीका सदस्यहरुले हजयात्रीका लागि कुनै राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, गुणस्तरहीन, बस्ने ठाउँ पैसा तिरेअनुसार राम्रो नदिएको अबस्था छ ।
यो पनि पढ्नुहोस- हज समितिमा अनियमितता: सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद
पैसा तिरेरै गएको हो तर पैसा तिरेबापत सुविधा पाइएन । गाडीको सुविधा पनि दिएन, उहाँले भन्नुभयो ।
उहाँका अनुसार हरम (काबा) भन्दा ६ किलोमिटर टाढा रहेको डाँडामा लगेर हज यात्रुलाई राखिएको छ तर सवारीसाधनको सुविधा दिइएको छैन । जसका कारण साउदीको उखरमाउलो गर्मीमा पैदल हिँडेर जानुपर्ने अवस्था छ । तर हजयात्रीले सवारी साधनलाई समेत रकम बुझाएका थिए । हज गर्न गएकाहरुले चर्को बिरोध जनाएपछि आजदेखि भने बल्ल एउटा बस सेवा सुरु भएको छ ।
७५४ यात्रुका लागि जम्मा एउटा बस सुरु भएको छ । एक हजयात्रीले भन्नुभयो, सवारी साधनका लागि भनेर बुझाइएको रकम दुरुपयोग गर्न यो हदसम्मको काम भयो । या त रकम लिनु हुँदैन थियो या रकम लिएपछि सेवासुविधा दिनुपर्ने थियो त्यो भएन । धर्ममा पनि अपराध भयो ।
हजयात्रीलाई सहयोग गर्न भन्दै १२ जना हज समितिका पदाधिकारीहरु साउदी पुगेका छन् तर उनीहरु हजयात्रीको सम्पर्कमा नपुगेको स्रोतले बताएको छ । हज समितिका पदाधिकारीहरु भने मिसफला रोडमा रहेकोे तारे होटल मिलेनियम कोठा नं ११०८ सहित अन्य कोठाहरु लिएर बसेका छन् । हजयात्रीहरुका लागि भनेर व्यवस्था गरेका चिकित्सक साउदीमै भएपनि औषधी तथा आवश्यक अन्य सामग्री गुणस्तरहीन भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
हजयात्रीले आफूहरुले पाएको दु:खका बारेमा हज समितिले वास्ता नगरे पनि गृह मन्त्रालयमा गुनासो गर्दा पनि सुनुवाई नगरेको आरोप लगाए । उनीहरुले भने गृह मन्त्रालयले हजका बारेमा संयोजन गर्न अनौपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद असिम साहलाई जिम्मा दिएको छ ।
पूर्व सांसद तथा नेकपा एसका केन्द्रीय सदस्य समेत रहनु भएका र हाल साउदीमा हज कार्यमा रहनु भएकी कलिला खातुनले पनि सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाउनु भएको छ ।
उहाँले लेख्नु भएको छ, हज गर्न जाँदा दु:ख गर्नुपर्छ र दु:ख हुन्छ तर सहज होस् भनेर दुई गुणा पैसा तिरेका छन् । त्यो हज कमिटीका नेतृत्वलाई खानको लागि दिएको त हैन नि। निकै दु:ख लाग्यो हाजीहरुको स्थिति सुन्दा । न त गतिलो खाना न सहज बसाई। दिएको यात्राको लागि गाडी पनि बन्द गरिएछ रे । भनेपछि त्यो देखावटी नै त होला । यसको जवाफदेही हज कमिटी हुनुपर्छ। पहिलेको समितिले गरेको भनेर अहिलेको समिति उम्किन मिल्दैन र चुप लागेर बस्नु भनेको सबै मिलेमतो जस्तो देखेको हुनाले छिटोभन्दा छिटो यस्ता समस्याहरुको समाधान होस् र हाजीहरुले राहत पाउन् । कमिटीकै लापर्वाहीले कसैको ज्यान नजाओस्। यस्तो खराब व्यवस्थापन तत्काल सुधारिनु पर्दछ ।
उहाँले लेख्नुभएको छ, साउदी सरकारद्वारा बिना शुल्क दैनिक वितरण गर्ने जमजम पानीको लागि हाजीहरुलाई यसरी थर्काइँदैछ हज समितिका बर्मेली र बंगाली गुण्डाहरुबाट ।
केही दिन अघि संसदको महिला तथा सामाजिक मामिला समितिमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले तीन लाखमा नै हज यात्रा गराउन सकिने जानकारी गराउनु भएको थियो ।
समितिको बैठकमा उहाँले भन्नुभयो ‘अहिले चार लाख १५ हजार प्रतिब्यक्ति लिईएको छ । मलाई जिम्मा दिने हो भने ३ लाखमा नै पठाउन सकिन्छ । ‘
उहाँले हजमा आर्थिक अनियमिताको कुरा हुने गरेको र नियुक्तिका लागि तछाड मछाड हुने गरेको भन्दै कम दरमा हज यात्रा गराउने लाई समितिको जिम्मा दिनु पर्ने र हज समिति लाई पनि आयोगको मातहत राख्नु पर्ने बताउनु भयो ।
हज समितिका एक सदस्यका अनुसार साउदीमा १ हजार रियाल भन्दा कममा घर पाइने भएपनि हज समितिमा भने दुई हजार रियालको सम्झौता गरिएको छ । सोही संम्झौतालाई अहिलेको समितिले अनुमोदन गरेको छ ।
विभिन्न विकल्प समेत रहेको अवस्थामा पुरानो सम्झौता कार्यान्वयन गर्नु आर्थिक अपचलनका लागि नै भएको ती सदस्यले भने । उनका अनुसार, घरभाडा बापतको रकम मात्रै कम्तीमा ७ लाख साउदी रियाल चलखेल भएको छ । त्यो रकम नेपालमा पूर्वअध्यक्ष शमशेर मियाँ मार्फत सांसद साहसम्म पुगेको ती सदस्यले आशंका गरे । उनले भने, यो त घरभाडा बापतको मात्र हो, खाना र यातायातको पनि थप हुने, मदिनाको अलग हिसाब हुने हुँदा कति रकम गोलमाल भयो भन्ने बारेमा गम्भीर छानबिन हुनु पर्छ ।
ती सदस्यका अनुसार मक्कामा भन्दा मदिनामा बस्ने स्थान झनै टाडा रहेको छ । त्यहाँबाट प्रत्येक दिन दैनिक पाँच पटक नमाज पढ्नका लागि मस्जिदे नबयु (हरम) सम्म पुग्नु पर्ने हुन्छ जुन निकै कठिन छ । बस्नका लागि तय गरेको स्थान र नमाज पढ्ने स्थानको दुरी झण्डै ५ किलोमिटर टाडा रहेको छ ।
ती सदस्यका अनुसार हाजीसँग लिइएको शुल्कले नमाज पढ्ने स्थान वरपर नै आवास सुविधा उपलब्ध हुन सक्ने अवस्था थियो तर कमिसनका कारण त्यो काम गरिएन ।
एक सदस्यले भने हज भित्रको कुरा बाहिर लगेको भन्दै समितिका सदस्यहरुलाई समेत निगरानी गर्ने गरेको छ ।
भुटानी शरणार्थी प्रकरणका कारण साउदी जान नपाएका पूर्व अध्यक्ष शमशेर मियाँले आफ्ना नातेदार समेत रहेका हज कमिटीका सदस्य समेत रहेका जबुल मियाँलाई आफ्नो प्रतिनिधिका रुपमा साउदी पठाएका छन् ।
समितिका एक सदस्यका अनुसार हज समितिका सदस्य रसिद मिर्जाले हजयात्री सहजीकरण गर्ने भन्दा पनि अपशब्द प्रयोग गर्ने, थर्काउने गरेका छन् । मिर्जा रास्वपा प्रवेश गर्ने सर्तमा हज समितिको सदस्यमा मनोनयन भएको ती सदस्यले दाबी गरे ।
यी सबै प्रकरणमा पूर्व अध्यक्ष शमशेर मियाँ, तत्कालीन कार्यबाहक अध्यक्ष मकबुल मियाँ र सांसद साहको संग्लनता रहेको ती सदस्यले दाबी गरे ।
यो पनि पढ्नुहोस- केन्द्रीय हज समितिमा अनियमितताको चाङ, पटक पटक अतिरिक्त शुल्कले हाजीहरु हैरान
यसैबिच गत वर्ष पनि हजमा ब्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । त्यो छानबिन अझै जारी छ । आयोगले गृह मन्त्रालय र हज कमिटीलाई समेत पत्र पठाउँदै जानकारी माग गरेको थियो ।
धार्मिक संस्थाको नेतृत्व गर्ने व्यक्तिबाट पटक पटक पदीय दुरुपयोग भएको, आर्थिक पारदर्शीता कायम नराखेको भन्दै गुनासो आएपनि सुनुवाई नभएपछि यस क्षेत्रका अगुवाहरुले असन्तुष्टि जनाएका छन् ।
ती सदस्यका अनुसार यस्तो विषयमा गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विशेषगरी प्रधानमन्त्रीले चासो नदिनु झनै दु:खद हो ।
एक अगुवाले भने पवित्र संस्थालाई पूरै अपवित्र बनाउने काम भयो । कहिले आर्थिक अपचलन, कहिले नैतिक पतनका कुराले समिति बदनाम भयो । तसर्थ सरकारले तत्काल हस्तक्षेप गर्नु आवश्यक छ ।
एक सदस्यका अनुसार बिग्रिएको हज समितिको छवि सुधार्न अनुभवी र समुदायले विश्वास गरेको, कुनै नैतिक पतन नभएको तथा फौजदारी अभियोग नलागेको, आर्थिक रुपमा पारदर्शी व्यक्तिलाई तत्काल जिम्मा दिनु पर्छ, नत्र समिति मात्र होइन पुरै समुदाय माथि प्रश्न उठ्ने छ ।