• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

आयरल्याण्डमाथि भारतको सहज जित, रोहितको अर्धशतक



काठमाडौँ । टी–२० विश्वकप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ । न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा भारतीय टोलीले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा ९६ रनमा अलआउट भयो । जवाफमा भारतीय टोलीले १२.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । ऋषभ पन्तले १३ औं ओभरमा ब्यारी म्याकार्थीलाई रिभर्स स्कूपमा छक्का प्रहार गरेर खेलको अन्त्य गरे ।

भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाए । तर, उनी चोटग्रस्त रिटायर्ड भए । उनको चोटको गम्भीरता अझै थाहा हुन सकेको छैन । अब भारतीय टोली समूह ‘ए’ मा दुई अंक जोडेर शीर्ष स्थानमा पुगेको छ । उसको अर्को खेल जुन ९ मा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग हुनेछ ।

भारतले आयरल्याण्डलाई ४६ बल बाँकी राख्दै पराजित गरेको थियो । टी–२० अन्तर्राष्ट्रियमा बल बाँकी रहेको भारतको यो चौथो ठूलो जित हो । टीम इण्डियाले २०२१ मा दुबईमा स्कटल्याण्डलाई ८१ बल बाँकीमा पराजित गरेको थियो । भारतीय टोलीको आयरल्याण्ड विरुद्धको यो लगातार आठौं जित हो ।

भारतले बंगलादेशविरुद्धको लगातार सबैभन्दा धेरै जितको कीर्तिमान बराबरी गरेको छ । भारतले सन् २००९ देखि २०१८ सम्म बंगलादेशविरुद्ध लगातार आठ टी–२० अन्तर्राष्ट्रिय खेल जितेको थियो ।

यसअघि हार्दिक पाण्ड्या (३र२७), अर्शदीप सिंह (२र३५), जसप्रित बुमराह (२र६)को उत्कृष्ट बलिङका कारण आयरल्याण्डको इनिङ्स १६ ओभरमा ९६ रनमा समेटिएको थियो । आयरल्याण्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रन बनाए । रोहित शर्माले टस जितेर आयरल्याण्डलाई ब्याटिङको निम्तो दिएका थिए । यो त्यही पिच हो जहाँ भारत र बंगलादेशबीचको अभ्यास खेल भएको थियो ।

पहिलो दुई ओभरमा धेरै उछाल देखियो । तेस्रो ओभरको पहिलो बलमा अर्शदीपले डिसेम्बर २०२२ पछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका ऋषभ पन्तको हातमा आयरल्यान्डका कप्तान पाउल स्टर्लिङ (२) को क्याच आउट गराए । गत टी–२० विश्वकपमा १० विकेट लिएका अर्शदीपले ओभरको अन्तिम बलमा बलबर्नी (५)लाई इनकमिङ बलमा बोल्ड गरेर आयरल्याण्डको ओपनिङ जोडीलाई प्याभिलियन पठाए ।

जसप्रित बुमराहले पहिलो ओभरमै आफ्नो छाप छोडे । उनले यो ओभर मेडन गरे । पावरप्लेमा आयरल्याण्डले दुई विकेट गुमाएर २६ रन बनाएको थियो । हार्दिक पाण्ड्याले आफ्नो पहिलो ओभरमा लोर्कन टकरलाई बोल्ड गरे । उनले १३ बलमा १० रन बनाए । बुमराहले अर्को ओभरमा ह्यारी टेक्टर (४)लाई कोहलीको हातमा क्याच गराएर आयरल्याण्डलाई समस्यामा पारे ।

कुनै बेला आयरल्याण्डको स्कोर दुई विकेटमा २८ रन थियो तर हार्दिकको बलिङका कारण आठ विकेटमा ५० रन पुगेको थियो । यस अवधिमा हार्दिकले तीन विकेट लिए । यसै क्रममा अक्षर र सिराजले एक–एक विकेट लिए । आईपीएल खेल्ने आयरिश बलर जोस लिटिलले दुई चौका प्रहार गरे । उनले डेलानीसँग २७ रनको साझेदारी गरे ।

डेलानीले पनि यस अवधिमा हार्दिकलाई छक्का प्रहार गरे, तर बुमराहले आक्रमणमा फर्कने बित्तिकै लिटिल (१४)लाई आउट गरे । अर्शदीपको ओभरमा डेलानीले एक छक्का र दुई चौका प्रहार गरे पनि सोही ओभरको अन्तिम बलमा रनआउट भएका उनले १४ बलमा दुई चौका र दुई छक्काको मद्दतले २६ रन बनाए ।

९७ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीले रोहितसँग ओपनिङ गर्न आएका विराट कोहली (१)को विकेट छिट्टै गुमाउनुपरेको थियो । रोहित शर्माले रिटायर हर्ट हुनुअघि ३७ बलमा ५२ रन बनाएर भारतलाई सहज जित दिलाएका थिए ।

डिसेम्बर २०२२ पछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै आएका ऋषभ पन्तले छक्का प्रहार गरेर भारतलाई जित दिलाएका थिए । उनले २६ बलमा ३६ रनको अविजित इनिङ खेले । भारतले १२.२ ओभरमा दुई विकेट गुमाएर ९७ रन बनायो ।