• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्ने लगभग पक्का



एजेन्सी । भारतीय टिमका पूर्व क्रिकेटर तथा कोलकाता नाइट राइडर्सका मेन्टर गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने लगभग पक्का भएको छ ।

क्रिकबजसँग कुरा गर्दै आईपीएल फ्रेन्चाइजीका मालिकले भने कि गम्भीर कोच बन्ने लगभग निश्चित छ र छिट्टै घोषणा गरिनेछ । शाहरुख खानले पनि यसबारे जानकारी पाएको बताइएको छ । बीसीसीआईको नियम अनुसार गम्भीर टिमको मुख्य प्रशिक्षक बनेमा उनले केकेआरको मेन्टरशिप छोड्नुपर्नेछ ।

सोमबार (मे २७) प्रशिक्षक पदका लागि आवेदन दिने अन्तिम मिति थियो । गम्भीरले यो पदका लागि आवेदन दिएको सम्भावना छ । यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

राहुल द्रविड हाल भारतीय टिमका मुख्य प्रशिक्षक छन् । उनको कार्यकाल अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपपछि समाप्त हुनेछ ।

४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरमा कोचिङको अनुभव छैन, उनी दुई आईपीएल फ्रेन्चाइजीमा कोचिङ स्टाफको इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी आईपीएल २०२२ र २०२३ मा लखनऊ सुपर जायन्ट्सका मेन्टर थिए । २०२४ सिजनमा उनी केकेआर मा सामेल भए । कोलकाता आईपीएल २०२४ को च्याम्पियन बनेको छ । गम्भीर यस सिजन कोलकाताका मेन्टरको भूमिकामा थिए । आइतवार खेलिएको फाइनल खेलपछि गम्भीर जय शाहलाई भेट्न आएका कारण उनी भारतको मुख्य प्रशिक्षक बन्ने अड्कलबाजी बढेको थियो ।

यस्तै, गम्भीरले एलएसजीमा बसेको पहिलो दुई सत्रमा टोलीलाई प्लेअफमा पुर्‍याएका थिए ।

एक खेलाडीको रूपमा, गम्भीरले २००७ मा भारतको टी–२० विश्व कप र २०११ मा एकदिवसीय विश्वकप जितेको हिस्सा थिए । उनले २०११ देखि २०१७ सम्म सात आईपीएल सत्रहरूमा केकेआरको कप्तानी गरे, र टोली पाँच पटक प्लेअफका लागि छनोट भयो । कप्तानको रूपमा उनले २०१२ र २०१४ मा दुई उपाधि जितेका थिए ।

राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो, जब भारत टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको थियो । टोलीले फेरि २०२२ को टी–२० विश्वकपमा सेमिफाइनल खेलेको थियो । सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो, तर भारत फाइनलमा पुगेपछि उनको कार्यकाल टी–२० विश्वकपसम्म थपिएको थियो ।

द्रविडको कोचिङमा टीम इन्डियाको एक मात्र सफलता सन् २०२३ को एसिया कपको रूपमा आएको थियो । आयोजक श्रीलंकालाई हराउँदै भारतले उपाधि जितेको थियो ।