• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सन्दीप लामिछानेको भिसाको पहलका लागि क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रक्रियाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले पहल जारी राखेको छ । यसै सिलसिलामा क्यानका पदाधिकारी र सन्दीपसहितको टोलीले सोमबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेको छ ।

आईसीसी टी–२० विश्वकप आउन अब एक सातामात्रै बाँकी रहेको अवस्थामा सन्दीपको भिसा अस्वीकार भएसँगै क्यानले पहल सुरु गरेको हो ।

सोमबार क्यान अध्यक्ष चतुर बहादुर चन्दसहितको टोलीले परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरेका थिए । सोमबार अमेरिकी दूतावास बन्द रहेकाले मंगलबार परराष्ट्रमन्त्रीले त्यसबारे कुराकानी गर्ने बताएको क्यान अध्यक्ष चन्दले बताए ।

विश्वकप खेल्ने टोलीमा १४ जनाको नाम राखेको जानकारी दिँदै अध्यक्ष चन्दले सन्दीपको भिसा लागेमा १५ हुने र सन्दीपको भिसा नलागेमा अमेरिकामा रहेका एक जनाको नाम थपिने पनि बताए ।

बलात्कार मुद्दामा उच्च अदातल पाटनबाट सफाइ पाएसँगै सन्दीपले विश्वकपका लागि भिसा प्रक्रिया सुरु गरेका थिए । तर अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले सामाजिक सञ्जालमार्फत अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको जानकारी गराएका थिए ।

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।