• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

महिला ट्वान्टी–२० क्रिकेटको फाइनलमा सुदूरपश्चिम र एपिएफ भिड्ने



काठमाडौँ । सुदूरपश्चिम प्रदेश शुक्रवार वागमती प्रदेशमाथि रबाफिलो जित निकाल्दै ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार वागमतीमाथि १०९ रनको जितसहित सुदूरपश्चिमले फाइनलमा उपाधि भिडन्त तय गरेको हो । सुदूरपश्चिमले उपाधिका लागि शनिबार विभागीय टोली एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । पाँच टोली सहभागी लिगमा अपराजित एपिएफ शिर्षमा र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । समान चार खेलबाट एपिएफले ८ अंक र एपिएफले ६ अंक बटुले । सुदूरपश्चिमले एक मात्र हार एपिएफसँग व्यहोरेको थियो ।

लिगकै अन्तिम खेलमा सुदूरपश्चिमको १५८ रनको लक्ष्य पछ्याएको वागमती १६.१ ओभरमै ४८ रनमा अलआउट भयो । मध्य क्रमकी ब्याटर कृष्मा गुरुङको १६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यसबाहेक कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । दोस्रो ओभरमा पहिलो विकेट गुमाएको वागमती त्यसपछि सम्हालिन नै सकेन । सुदूरपश्चिमको बलिङमा ऋतु कनोजियाले तीन विकेट तथा कविता जोशी र लक्ष्मी साउदले समान दुई विकेट लिए ।

बिन्दु रावल र करिस्मा थापाको नाममा समान एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा मात्र दुई विकेट गुमाउँदै १५७ रनको राम्रो योगफल बनायो । सुदूरपश्चिमकी ओपनर सम्झना खड्का ७४ रनमा नटआउट रहिन् । उनले ४७ बलमा १० चौका हिर्काइन् । सम्झनाले पहिलो विकेटका लागि रुवि पोदारसँग ६० रन, दोस्रो विकेटका लागि कप्तान बिन्दु रावलसँग ४३ रन र तेस्रो विकेटका लागि कविता जोशीसँग ५४ रनको साझेदारी गरिन् ।

रुवि र बिन्दुले समान २८ रन बनाए । कविता २० रनमा नटआउट रहिन् । उनले १४ बलमा समान एक चौका र छक्का प्रहार गरिन् । वागमतीको बलिङमा कृष्मा गुरुङले एक विकेट लिइन् । कप्तान अस्मिना कर्माचार्य, सोनी पाख्रिन र मनिषा उपाध्याय महँगा सावित भए । सिंगल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ललितपुर मेयर्स, कोशी प्रदेश र वागमती क्रमश: तेस्रोदेखि पाँचौं स्थानमा रहे । यी तीनैले समान एक खेल जितेका थिए ।