हेटौँडा । ज्येष्ठ नागरिकलाई उहाँहरुको इच्छाअनुसार पारिवारिक वातावरणमा बस्न र रमाउन पाउने अवस्था सिर्जना गर्नु समाजका प्रत्येक नागरिकको दायित्व हो । ज्येष्ठ नागरिक विविध कारणले आफ्ना सन्तानसँग बस्न नसक्नेरनपाउने अवस्था कहीँकसैले सिर्जना गर्नु हुँदैन । यदि त्यस्तो अवस्था आए समाज तथा राज्यले पारिवारिक वातावरणको महसुस गर्नेगरी टोलटोलमा ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।
घरपरिवारमा होस् वा वृद्ध आश्रमहरुमा होस्, ज्येष्ठ नागरिकका लागि स्वस्थ जीवनयापन गर्न स्वस्थकर खाना, शान्त र रमणीय वातावरणसहितको व्यवस्था बनाउनु आवश्यक हुन्छ ।
बागमती प्रदेश सांसद भारती पाठक स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक पर्ने बताउनुहुन्छ । केही दिनअघि हेटौँडा उपमहानगरपालिका–२ स्थित ॐ वृद्धाश्रममा आश्रित आमाहरुसँगको भेटमा आश्रममा आश्रित आमाबुवालाई स्वस्थकर जीवनयापनका लागि स्वस्थ वातावरण प्रदान गर्न विशेष ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।
सांसद पाठकले सकेसम्म आमाबुवालाई उहाँहरुको इच्छाअनुसार पारिवारिक वातावरणमा बस्न र रमाउन पाउने अवस्था सबैले बताउनुपर्ने बताउनुहुन्छ । वातावरण नबनेको अवस्थामा राज्यले दायित्व बहन गर्नुपर्ने बताउनुभयो । उहाँ आमाबुवालाई आफ्ना सन्तानसँग बस्दा मिल्ने खुसी प्रदान गर्नुपर्ने भन्दै सन्तानसँग बस्न नसक्नेरनपाउनेका लागि स्थानीय निकायले बुढेसकालको सहारा बन्ने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।
आश्रममा २४ जना आश्रित रहनुभएको आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ बताउनुहुन्छ । आश्रममा दानबाट आएको खाद्यान्न प्रशस्त हुने गरेको भन्दै लत्ताकपडाका लागि आश्रमको सञ्चित कोषबाट खर्च गर्ने गरिएको उहाँ बताउनुहुन्छ ।
आश्रममा आश्रित सबै ज्येष्ठ नागरिकका लागि स्वस्थ खाना, रमणीय र सहयोगी वतावरण बनाइएको श्रेष्ठ भनाइ छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आश्रममा एक जना नर्सको दरबन्दी दिएकाले स्वास्थ्य उपचारको लागि सहज भएको उहाँ बताउनुहुन्छ । आश्रममा तीन जना आमाबुवाले आफैँ पकाएर खाने गरेको बताउँदै उहाँहरुलाई पारिवारिक वातावरण प्रदान गर्न स्थानीयले सहयोग गरिरहेका छन् ।
“मेरो साथमा दुई लाख थियो । त्यसले सुगर र प्रेसरको उपचार गर्न भनेर छोराछोरीले लगे । सरकारले दिने भत्ता पनि मैले उनीहरुलाई बुझाउन पदथ्यो । भत्ता लिँदा बिस्कुट खान मन लाग्थ्यो, तर बिस्कुट सम्झँदा पनि मुखमा पानी निकालेर पिउन बाध्य थिएँ । जीवनमा भोकभोकै चक्कर लाग्दा पनि काम गर्नुपर्ने अवस्था आयो ।” यो भनाइ हेटौँडा उपमहानगरपालिका–२ स्थित ॐ वृद्धाश्रममा आश्रित ६८ वर्षीया चुनकुमारी बस्नेतको हो ।
बस्नेतको सानै उमेरमा विवाह भयो । घरको नजिकै माइती । व्यापारी श्रीमान्सँग उहाँको जीवन खुसीसाथ चलिरहेको थियो । श्रीमान्को मृत्युपछि परनिर्भर जीवन बिताउन बाध्य भएको उहाँले बताउनुभयो । सन्तान नजन्मिएपछि दिदीबहिनीका छोराछोरीलाई आफ्नै सन्तान जसरी नै माया गरेर आफ्नो सबै कुरा सुम्पिएको उहाँको भनाइ छ ।
तत्कालीन समयमा श्रीमान्को कमाइ प्रशस्तै हुने गरेको बस्नेतले सुनाउनुभयो । खसीबोकाको व्यापार रहेकाले आफ्नो काम बजार लैजान र ल्याइएका खसीबोकालाई घाँस खुवाउने मात्र रहेको उहाँले स्मरण गर्नुभयो । आम्दानी राम्रो भएकाले पनि आफूलाई थप काम गर्नुपर्ने अवस्था नआएको उहाँको भनाइ छ ।
आम्दानीको केही रकम उहाँ आफ्ना दिदीबहिनीका सन्तानको लागि खर्च गर्ने गर्नुहुन्थ्यो । पहिला ती छोराछोरीले पनि ‘हामी छौँ’ भन्ने गरेका बस्नेतले बताउनुभयो । उहाँलाई बज्रपात त तेतिबेला भयो जतिबेला ती छोराछोरीले खाना नदिएर काम लगाउन थाले । उहाँलाई कामको भन्दा पनि वचनले धेरै घोच्न थाल्यो ।
दिदीबहिनीका १२ सन्तानलाई बस्नेतले आफ्नो सन्तान सरह मायाममता दिनुभयो । त्यसको बदला कहिल्यै केही आशा राख्नुभएन् । श्रीमान्को देहान्तपछि साहराविहीन हुनुभएकी बस्नेतले आफूसँग भएको सम्पत्ति पनि ती सन्तानलाई दिएमा आफ्नो लालनपालन हुने सोंच्नुभएको थियो । उहाँको छोरापर्ने हाल हेटौँडा–९ निवासी आफ्न्तले पालनपोषण गर्ने आश्वासन दिएर घर जग्गा आफ्नो नाममा राजिनामा पास गर्न लगाएपछि बस्नेतले सहजै गरिदिनुभयो । घर दिएको केही समयपछि छोराले बोलचाल नै बन्द गरिदिएको उहाँले सुनाउनुभयो । त्यसपछि आफूसँग भएको नगदसहित उहाँ बहिनीको छोरीको घरमा आश्रय लिन पुग्नुभयो ।
आफू सक्षम रहँदा अत्यधिक माया गर्ने छोरीले सम्पत्ति सहिँदै जान र वृद्ध हुन थालेपछि व्यवहारमा परिवर्तन गर्न थालेको बस्नेतले सम्झनुभयो । गहभरि आँसुधारा बगाउँदै उहाँले भन्नुभयो, “केही दिनपछि छोरीले काम नगरे खान नदिने भनिन् । मेरो खुट्टा नचल्ने भएको थियो, त्यस्तो अवस्थामा पनि ममाथि उनलाई दया लागेन र भाँडा माझ्न, बढार्न सकिन्छ भन्दै झर्कीफर्की गर्न लागिन् ।”
बस्नेतले लामो सास फेर्दै थप्नुभयो, “मेरो घरको सरसमानसहितको नगद उसैलाई बुझाएकी थिएँ । निस्केर कहाँ जानु, रुँदैरुँदै काम गर्न थालेँ । आफूसँग रु दुई लाख थियो, उपचार गर्न भनेर लगिन् । वृद्धभत्ता पनि उनैलाई बुझाउने गरेकी थिएँ ।” हरेक महिना भत्ता लिँदा बिस्कुट खान पाउने आश लागे पनि रु एक पनि आफ्नो हातमा नपर्ने उहाँले सुनाउनुभयो ।
त्यसपछि सहन नसकेर आफ्नो घर भएको स्थानमा फर्किएपछि खानाका लागि मेलापात जाने र घाँस काट्ने काम सुरु गरेको बस्नेतले बताउनुभयो । स्वास्थ्यले साथ दिन छोडेपछि वडा कार्यालय गएर ‘मलाई जे गर्नु छ गर’ भनेर रुदाँ वडाले आश्रमसम्म पठाएको उहाँले जानकारी दिनुभयो ।
बस्नेतले ४२ वर्षको उमेर श्रीमान् गुमाएपछिको कहालिलाग्दो जीवन कुनैपनि छोरीले भौन्न नपरोस् भन्दै रुनुुहुन्छ । आफ्नो खुट्टामा नउभिएकाले नै श्रीमान् रहँदा राम्रो रहेको जीवनशैली श्रीमान्को मृत्युपछि बेवारिसे बन्न पुगेको उहाँले बताउनुभयो । उहाँलाई अहिले जीवनमा आफ्ना आफन्त र सम्पत्तिभन्दा पनि सीप र एक्लै बाँच्न सक्ने हिम्मत हुनु ठुलो कुरा लाग्ने गरेको बताउनुभयो । हरेक छोरीलाई गृहिणी होइन आफ्नो जिवन धान्न सक्ने सीप सिक्न उहाँ आश्रममा जाने महिलालाई अनुरोध गर्नुहुन्छ ।
युवा अवस्थामा भारतमा कमाएको रकम चोरी भएर सुरक्षित जीवन जीउने आशमा आश्रम आइपुग्नुभएका स्याङ्जाका खिना गिरीको अनुसाशित जीवनशैलीले गर्दा ९० वर्षमा पनि फुर्तिलो र निरोगी बनाएको छ । उहाँ पनि हेटौँडा–२ स्थित ॐ वृद्धाश्रममा बसेपनि छुट्टै पकाएर खानुहुन्छ त्यो पनि आफ्नै पौरखले ।
स्याङ्जाको वालिङ घर भएका गिरीले जग्गाजमिन कम भएको र खान नपुग्ने भएकाले धन कमाउन भारत गएको बताउनुभयो । भारतमा सडक बनाउने कामको ठेक्का गर्न थाल्नुभयो । राम्रो कमाई भएकाले त्यहीको एक युवतीसँग विावह गरी उत्तै बसेको उहाँले बताउनुभयो ।
विवाहको केही वर्षपछि श्रीमतीले छोडेर गएको गिरीले सुनाउनुभयो । त्यसपछि कमाउने, खाने र केही रकम बुढेसकाललाई जोगाउने गरेको उहाँले स्मरण गर्नुभयो । उहाँ ६५ वर्षको उमेर पछि भने उहाँ धाम घुम्ने र सादा जीवनशैलीमा रमाउने गर्न थाल्नुभयो ।
कहिले बृन्दावन र कहिले मथुरा धाम बस्ने क्रममा आफूसँग भएको रकम चोरी हुँदै गएपछि विरगञ्ज आएको गिरीले बताउनुभयो । त्यस समयमा त्यहाँ एक जना प्रहरीले बरु हेटौँडामा गएर आश्रममा बस्नु भनेर सुझाउदा आफु हेटौंडा आइपुगेको उहाँले बताउनुभयो । उहाँ आश्रमको खोजीमा हेटौँडा आइपुग्दा ॐ वृद्धाश्रम निर्माणाधीन रहेकाले तत्कालीन समयमा आफूसँग भएको रु पाँच लाख १८ हजार दिएर एउटा कोठामा बस्न थालेको गिरीले जानकारी दिनुभयो ।
पछि आश्रममा बसे पनि खानपानको व्यवस्था आफ्ना लागि आफैँले गरिरहेको उहाँको भनाइ छ । बिहान ३ बजे उठ्ने र बोट बिरुवामा पानी हाल्ने काम सकेर चोकतिर चियाका लागि निस्कने उहाँको दैनिकी नै हो ।
हेटौँडामा धेरै पण्डितसँग चिनजान भएकाले पूजापाठ र कर्महरुमा जाने अवसरसमेत मिल्ने गरेको गिरीले बताउनुभयो । पूजापाठ गरेर आएको अन्न र दक्षिणाले खानपानको व्यवस्थापन भइरहेको उहाँको भनाइ छ । बेलुका घाम रहँदैमा खाना खाने र सात बजे रेडियोको समाचार सकिएसँगै सुत्ने गिरीले अनुशासित जीवनयापन र स्वस्थ खानपानले शरीरमा रोग नलाग्ने अनुभव सुनाउनुभयो । ॐ वृद्धाश्रममा अहिले ४० देखी एक सय १० वर्षसम्मका नौ जना आमा र १४ जना बुवा आश्रित हुनुहुन्छ । रासस